20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

प्रचण्ड पुत्र प्रकाशको सम्झनामा शान्ति मन्त्रीका दुई शब्द

        पूर्व शान्ति मन्त्री सत्य पहाडी   |   प्रकाशित मितिः सोमवार, मंसिर १८, २०७४     2:04:57 PM  | 124 पटक पढिएको   |  

भाइ प्रकाश,

तिमीले हामीलाई अनि यो धराधाम छोडेको गएको पनि केही दिन भैंसकेको छ । यी दिन पनि स्वर्णिम सपना झैं भएर बित्दैं छन् । कयौं पटक तिमीलाई फोन गर्न मोबाइलमा नम्बर डायल गरे ।

हामीलाई त यस्तो छटपटी भएको छ । भने, हाम्रा अभिभावक क. प्रचण्ड र क. सीता माथि कस्तो भएको होला ? यो बज्रपात र पार्टीले झेल्यो क्षतिले सम्हालिन गाह्रो भएको छ । तर, पनि धैर्यधारण गर्नु बाहेक अरु उपाय नहुने रैछ ।

म चितवनको यात्राको लागि रातभर गाडीमा थिए, ज्वरोले छोडेकै थिएन । आदरणिय कमरेड सीता र अध्यक्ष कमरेड प्रचण्ड माथि परेको दुःख र हामी सबैले भोग्नु परेको क्षतिको कुनै मलहमपट्टी र पूर्ति थिएन ।

भाइको आकस्मिक निधनले धेरै दिनसम्म हामी बीच स्तब्धता छाईरहेको थियो । चुनावको चटारो टरेको थिएन । त्यही पनि एकपटक मात्र भएपनि आदरणिय अध्यक्ष कमरेड र सीता कमरेडलाई देख्न पाए मन शान्त हुन्थ्यो कि भनेर हतारिएकी थिए । छर्लंग उज्यालो पनि भयो । म चितवन पुगे । भाइ तिम्रो माटो छुदा पनि मन भिन्नै भयो ।

चारैतिर भाइको प्रतिबिम्बले फेरी एक पटक घेरिए । कानमा दिदी सलाम ! भनेको आवाज घरीघरी आईरह्यो । सधै आउने जीवनका आफ्ठ्याहरु म भाइ तिमीसँगै सेयर हुन्थ्यो । तिम्रो अभावले बाँकी जीवन झन् जटिल जस्तो लाग्न थालेको छ । साह्रैं एक्लो जस्तो महशुस भएको छ भाइ ।

किनकी अध्यक्षको समय छोटो हुन्थ्यो, त्यसैले उहाँको अमुल्य समय व्यक्तिगत कुरा दर्शाएर नबितोस् भन्ने लाग्थ्यो । बाँकी सबै कुरा प्रकाशसँगै हुन्थ्यो किनकि प्रकाशसँग बताएका कुरा गोप्यतामा पनि रहन्थ्ये र सुरक्षित पनि । उमेर सानो भएपनि सबैको लागि अभिभावक नै थियौं भाइ प्रकाश ।

भाइ प्रकाश,

पञ्जावमा देखेको त्यो चञ्चले बहादुर केटालाई अहिले पनि निरन्तर खोजिरहन्छ मन । रोल्पाका गाउँमा बन्दुक बोकेर भोकै प्यासै देश र जनताको लागि कुद्ने सहासी जनसेनालाई खोजिरहन्छन्, यी आँखाहरु । बाबाको साथी, आमाको प्यारो नानी, दिदीहरुको अभिभावक, योद्धाहरुको प्यारो कमरेड, उसको अभावमा हामी कसरी छटपटिरहेछौं ।

‘उसको इच्छा अहिले वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्यायर जितोस् भन्ने थियो । उसको इच्छा पुरा गर है ।’ अर्धचेत अवस्थामा आमा (सीता) उठेर लरबराउँदै भन्नुभयो ‘उसको इच्छा अहिले वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्यायर जितोस् भन्ने थियो । उसको इच्छा पुरा गर है ।’ बाबा (प्रचण्ड) ले ‘अब हामी लाखौं छोरा छोरीहरुको लागि बाँच्नु पर्छ’ भनेर चुनावी दौडमा कुद्दै हुनु हुन्छ । उहाँलाई रुने फुर्सद पनि छैन । दिनमा ७, ८ वटा कार्यक्रम अनि राती अबेरसम्मको भेटघाट । यो सबै देखेपछि भरिएका आँशु आँखामै बिलाए । खिन्न भएको मनमा उर्जा भरियो ।
भाइ तिम्रो बारेमा जति लेखे पनि र जति बोले पनि त्यो कम नै हुन्छ । अब तिम्रा सपना पुरा गर्ने लक्षमा, त्यही महान बाटोमा निरन्तर हिडिरहने प्रतिबद्धता नै तिमी प्रतिको उत्तम श्रृद्धाञ्जली हो । भाइ, त्यही प्रण गरेर परिवारमा हार्दिक समवेदना प्रकट गर्दै म बाटो लागे । म त फर्किए तर, मन उतै रह्यो, तिमीलाई नै खाजिरह्यो ।  भाइ प्रकाश तिम्रो सम्झनामा मेरा दुई शब्द ।

-लेखकः पूर्व शान्ति मन्त्री एवं साहित्यकार हुन् । उनका दर्शन बढी साहित्यिक पुस्तक एवं विभिन्न पत्रपत्रिकामा रचना प्रकाशित छन् ।

Leave a comment

Your email address will not be published.


*