24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

यी हुन्, मलेसियामा लास हाल्ने बाकस बनाउने पीताम्बर

          |   प्रकाशित मितिः सोमवार, मंसिर १८, २०७४     9:29:56 AM  | 98 पटक पढिएको   |  

‘कतै म आफैंले बनाएको बाकसमा फर्किनु पर्ने त हैन,’ मलेसियामा लास हालेर पठाउने बाकस बनाउने पीताम्बर घिमिरेलाई काम गरिरहँदा यही कुराले मन घोच्थ्यो । सम्झिदा आङ झिरिङ हुन्थ्यो ।

काम नगरी सुखै थिएन । अर्को काम गर्ने विकल्प पनि थिएन । यो काम पनि पीताम्बरले मलेसिया पुगेको ३ महिनापछि पाउनुभएको थियो । कम्पनीको सरसफाई गर्ने कामबाट बढुवा त भयो तर लास हाल्ने बाकस बनाउने काममा ।

नेपालमा हुँदै विदेश भन्ने टल्किने बाकसमा पो फर्किनु पर्ने हो कि भन्ने लाग्थ्यो पीताम्बरलाई । त्यसले विदेश जाउँ कि नजाउँ दोधारमा पनि पर्नुहुन्थ्यो । तर विदेश जानुको विकल्प पनि थिएन उहाँसँग । विदेश जादैमा मरिन्छ भन्ने डरलाई विदेश पुगेपछि कमाइ हुने सपनाले पुरिदियो ।

सिन्धुलीको दुधौली नगरपालिकाका पिताम्बर २०६३ सालमा मलेसिया जानुभयो । मलेसिया पुगेपछि राम्रो कमाइ होला भन्ठानेर उडेका पीताम्वरलाई  सोचेजस्तो भएन । तीन महिना कार्यालयमा कुचो लगाउने, पुछ्ने काम गर्नुभयो । त्यसपछि सुरु भयो बाकस बनाउने काम ।

पीताम्बरले काम गर्ने कम्पनीमा बनेका बाकसको माग मलेसिया मात्रै थिएन् । साउदी, कतार, कुवेत, बहराइनका देशले पनि ती देशमा ज्यान गएका विदेशी कामदारको लास त्यही कम्पनीमा बनेका बाकसमा पठाउँथे ।

अरु देशमा ज्यान गुमाएका कामदारहरुका लागि पनि बाकस बनाउनु पर्दा पीताम्बरलाई निक्कै सकस हुन्थ्यो । ‘कामले होइन् भावनाले गर्दा’ उहाँले सकस हुनुको कारण पनि खुलाउनुभयो ।

‘बाकसमा लागि प्लाइ तयार पार्दा मनमा के के सोच आउँथ्यो, म जस्तै कमाउन आएको त थ्यो होला जस्तो लाग्थ्यो, आँसु आउँथ्यो,’ पीताम्बरले बाकस बनाउँदाको पीडा सम्झिनुहुन्छ ।

दुईचार पैसा कमाउनकै लागि घर छोडेर परदेश पुगेका बाकसमा फर्किंदा बाकससँगै परिवारका सपना र रहर पनि सधैंका लागि बन्द हुन्छन् । अरुलाई पठाउने बाकस बनाउँदा पीताम्बरलाई यस्तै लाग्थ्यो । मनमा अनेक तर्क बिर्तक आउँथे । बाकस तयार भएपछि आँखा चिम्लेर छाम्नु हुन्थ्यो । ‘लासलाई कतै बिझाउने त होइन जस्तो लाथ्यो । हेर्दा राम्रो देखेपनि आँखा चिम्लेर छाम्दा चैं घोच्छ कि घोच्दैन होला जस्तो लागेर छाम्थें ।’ पीताम्बर भावुक हुनुभयो ।

बिहानदेखि बेलुकासम्म बाकस बनाएर कोठामा पुग्दा उहाँलाई दिक्क लाग्थ्यो । ‘दिउँसो बनेको बाकसमा कहाँको मानिसलाई पठाउने होला जस्तो लाग्थ्यो, मनै कस्तो हुने,’ पीताम्बरलाई आफ्नो काम सम्झिएर दिक्क लाग्थ्यो ।

तीन वर्षमा पीताम्बरका हातले कति वटा बाकस बनाएँ, कति मानिस त्यसमा कहिल्यै नउठ्ने गरी सुतेर फर्किए यकिन छैन । तर ३ वर्षसम्म बाकस बनाउँदा पीताम्बरले आफ्नो भविष्यको बाटो चाहिँ यकिन गर्नुभयो  ।

मरेपछि चिटिक्क परेको बाकसमा सुताएर पठाउने विदेशीले बाचुञ्जेल कहिले सुख दिन्छन जस्तो लाग्दैन् । पीताम्बरले पनि कहिल्यै सुखको सास फेर्न पाउनुभएन । मलेसियाको विमानस्थलमा झर्दा सपनाले भरिएका पीताम्बरको आँखा भाषा नजान्दा, काम नजान्दा फोरम्यानले गरेका गालीले आँसु आँसु भए ।

कम्पनीमा कुचो लगाउनु पर्दा, पोछा पर्दा घर सम्झनुहुन्थ्यो । ८० हजार रुपैयाँ बुझएर मलेसिया पुगेका पीताम्बरलाई नकमाएपनि ऋण तिर्नै पर्ने बाध्यता थियो । ‘नराम्रो गाली गर्ने, झम्टिएर कुट्न आउने, पैसा कमाउन आएको भन्ने,’ पीताम्बरलाई  फोरम्यानले यस्ता व्यवहार गर्दा अर्काको देशमा बेक्कार आएँछु जस्तो लाग्थ्यो । भुन्नुहन्छ, ‘घरमा बाआमाले एक लबटा हिर्काएनन्, यसले यस्तो भन्ने भनेर म त रुन्थें ।’

मलेसियाले तोकेको ४ सय ८१ रिंगिट थियो पीताम्बरको तलब । ३ वर्ष काम गर्दापनि त्यो भन्दा बढेन । त्यसमा पनि खान बस्न सबै आफैंले गर्नुपर्ने । फोरम्यानको व्यवहार र बिरक्तलाग्दो काम गर्दा गर्दा हैरान भएका पीताम्बरलाई साप्ताहिक बिदाको दिन नेपालीसँग भेट्दा त दशैं आए झैं लाग्थ्यो ।

पीताम्बर २०६६ सालमा घर फर्कनुभयो । खेतीपाती गर्नुभयो । परिवारसँग दुई वर्ष बिताउनुभयो । २०६८ सालमा उहाँ फेरि मलेसिया नै जानुभयो । भाषा आउने अनि काम पनि फर्निचरकै भएकाले उहाँलाई पहिले जस्तो गाह्रो भएन ।

मलेसियाको जोहरबारुमा रहेको इभरग्रिन कम्पनीमा फर्निचरकै काम गर्नुभयो । तर पहिलेजस्तो बाकस बनाउने होइन । उहाँले पेपर काट्नुपर्थ्याे। ‘सबै काम मेसिनबाटै हुन्थ्यो तर साइज हेरेर मेसिन चलाउन पर्ने, बस्न चाहिँ पाइँदैनथ्यो,’ पीताम्बरले कामको बारेमा बताउनुभयो ।

अघिल्लो पटक ८० हजारमा मलेसिया पुगेपनि यो पालि उहाँले ९० हजार रुपैयाँ बुझाउन पर्‍यो । दुई वर्षपछि  मलेसिया पुग्दा उहाँलाई मलेसियाले त रंग फेरे झैं लाग्यो । किनकी न्यनतम तलव नै ९ सय रिंगिट पुगेको थियो । पहिले ४८० रिंगिटका लागि १० घण्टा खटेका पीताम्बरले यो पालि ८ घण्टा काम गरेरै पनि ९ सय रिंगिट पाउनुभयो ।

काम र कमाइ राम्रो हुँदाहुँदै पनि पीताम्बर आमाको निधन भएपछि घर फर्कनुभयो । घर फर्कदा आफैंले टिकट काट्न पर्‍यो । २० महिना मलेसियामा काम गर्दाको ४ सय २० रिंगिट लेबि पनि तिर्नुपर्‍यो ।

मलेसियाको ५ वर्षको अनुभवले उहाँलाई घरमै पनि केहि गर्न सकिन्छ भन्ने आँट आयो । उहाँले फर्किएर कुनै व्यापार व्यवसाय त गर्नुभएको छैन तर परिवारको साथमा खुसी मिलेको छ भन्नुहुन्छ पीताम्बर ।

Leave a comment

Your email address will not be published.


*