18 January 2018|   बिहिबार, माघ ४, २०७४

हामीले नखोजेको र नचिनेको जाजरकोट

        जनक केसी   |   प्रकाशित मितिः बिहिबार, मंसिर ७, २०७४     3:52:28 PM  | 1295 पटक पढिएको   |  

जाजरकोट भन्ने बित्तिकै सबैले २०६६ को झाडापखाला र १० वर्षे माओवादी युद्धले थलिएको विकट बस्ती भनेर मात्र बुज्ने गर्छन् । पछिल्लो चरणमा त झन् २०७१ मंसिर ४ र २०७३ फागुन २६ गते दुई पटक भएका भयंकर बस दुर्घटनाको विषयलाई लिएर सवारी दुर्घटनाको जिल्ला भनेर पनि चिन्न थालेका छन् । अझ भन्नु पर्दा जाजरकोटलाई अशिक्षित गरिब र असक्षमहरुको वासस्थान जस्तो ठान्नेहरुको जमात पनि ठुलै छ ।

निकै दावीका साथ भन्दा जाजरकोट विकट पनि हो, विपन्नहरुको वस्ती पनि हो, विकासमा निकै पछि परेको जिल्ला पनि हो र राज्यले कहिले पनि देख्न नचाहेका जनताहरुको सुन्दर अनि दुर्गम पहाड पनि हो तर जाजरकोटको यथार्थ परिचय र पहिचान वास्तविक रुपमा यो मात्र कदापि होइन । जाजरकोटलाई खोज्न नचाहेका र चिन्न नसकेकाहरुले बनाएको परिचय मात्र हो विकट र पिछडिएको जाजरकोट । अन्नको भकारीमाथि भोकै सुत्ने र सुनको ओछयानमा कचौरा समातेर माग्न बसेकाहरुको जिल्ला हो । यथार्थमा जाजरकोट । चाहे जाजरकोटको इतिहास पढौं, चाहे जाजरकोटको प्राकृतिक स्रोत र साधन खोजौ, चाहे विकासमा सम्भावना सोचौं, जाजरकोट यो देश र राज्यबाट पालिने मात्र होइन पाल्ने क्षमता राख्ने जिल्ला हो । कुनै पनि ठाउँ र व्यक्तिको विषयमा नबुझेर अन्तिम विश्लेषण गर्ने हाम्रो व्यवहारले मात्र जाजरकोट विपन्न, गरिब विकट र कम्जोर उपमाहरुले न्वारन गरिएको जिल्ला हो ।

विकासको तीब्र गति समातेका देश र जनताको विगत हेर्यो भने पनि उनीहरुको हालत अहिलेको जाजरकोट जस्तो मात्र होइन ५० वर्ष पहिलेको जाजरकोट जस्तै देख्न सकिन्छ । जाजरकोट जहाँका पुर्खाहरुले नेपाल एकिकरणमा पृथ्वनारायण शाहलाई ज्यानको वाजी लगाएर सिंगो नेपाल बनाउन सघाए, जहाँका योद्धाहरुले विक्रम सम्वत् १९११ सालमा नेपाल र तिब्बत बीचको युद्धका बेला ताक्लाकोटमा आक्रमण गरि ६ सय थान वन्दुक खोसेर नेपाल सरकारको विजय यात्रामा सहयोग पुरयाए अनि सुदुर पश्चिमको डोटी राज्यका राजा शोभान शाहीले गोर्खाली सेनाका कमान्डर रणजीत कुवरको फौजलाई १८४८ मा घेरा बन्दीमा पारेको बेला उक्त फौजलाई जाजरकोटी राजा गजेन्द्र शाहको नेतृत्वमा गएको ५ सयको फौजले उद्धार गरेर नेपाल एकिकरण अभियान सफल पार्न सघायो । त्यति मात्र होइन जहाँका सेनाहरुले गोर्खा राज्यको पश्चिम आक्रमणलाई बीरताका साथ सफल बनाइदिए । आज त्यो जिल्लाको इतिहास पढ्यो र बुझ्यो भने पनि गर्वले छाती फुल्ने खालको छ ।

इस्वी सम्वत १८१४ देखि १६ सम्म भएको नेपाल अंग्रेज युद्धका बेला समेत जाजरकोटी सेनाले नेपाल सरकारलाई ठूलो मद्दत पुरयाएको इतिहास सम्झन लायक छ । त्यति मात्र होइन प्रथम विश्व युद्धमा १ सय ५० जना बीर जाजरकोटीहरुको सहभागिताको कुरा होस् या गोरखामा रहेकी मनकामनादेवी र जाजरकोट बीचको सम्बन्धको कुरा होस् या श्री ३ चन्द्र शमशेर र बालकुमारी शाह बीचको बैबाहिक सम्बन्धको कुराले जाजरकोट कस्तो जिल्ला हो भनेर चिन्न सकिन्छ । जहाँ वाह्रै महिना एकसय बढीं कलकल बग्ने खोलाहरु छन्, जहाका खोलाहरुबाट सयौं मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता छ त्यहि जाजरकोटलाई आज हामी विपन्न र विकट जिल्लाको उपमा दिदैछौं ।

जहाँबाट प्रकृतिको सुन्दरताको अवलोकन गर्ने सयौं सराङकोटहरु, ककनीहरु, धुलीखेलहरु चन्द्रागिरी हिल्सहरु अनि नगरकोटहरु छन्, त्यो जाजरकोट विपन्न हुन्छ कसरी ? जहाँ वर्षेनी २० करोडको तरकारी फल्छ, करोडौंको मह उत्पादन गर्न सकिन्छ १० करोड बढीको सुन्तलाहरु फलाउन सकिन्छ अनि करोड बढी रुपैयाँको आलु उत्पादन हुन्छ । जुन जिल्लाले एकसय बढी बहुमुल्य जडीबुटी र खनिजहरुको भन्डार बोकेको छ त्यो जिल्ला गरिब र विपन्न कसरी हुन सक्छ ? जसले जाजरकोटलाई चिन्न चाहेनन् या खोज्न सकेनन् उनीहरुले लगाएको ट्याग हो ।

विपन्न र पिछडिएको जाजरकोट । जहाँ नेपाली कागज उद्योग, रत्न पत्थर उद्योग र विभिन्न जडीबुटीहरुको प्रशोधन केन्द्र स्थापना गरेर सयौं युवाहरुलाई रोजगारी दिएर विदेश जानबाट रोक्न सक्ने क्षमता छ । त्यो जाजरकोट कसरी विपन्न भयो ? आफनै गोजी भित्र भएको धनलाई छाम्न र हातमा ल्याउन नसक्नेहरुले फिजाएको हल्ला हो । दुर्गम जाजरकोट । पहाडै पहाड भएपनि हरेक पहाडको गर्भमा सम्बृद्धिका बच्चाहरु हुर्किरहेका छन् । खोलै खोला भएपनि जहाँ विजुलीका झिल्काहरु निरन्तर बगिरहेका छन्, त्यो जाजरकोट गरिव अनि विपन्न कसरी हुन्छ ? २ सय ४८ वर्ष पुरानो इतिहास बोकेको जाजरकोट दरबारको संक्षण गर्न सके, गोरखाको मनाकामना मन्दिरमा दुनियाँले पुज्ने मनकामना देवी उत्पति भएको भेरी नगरपालिका ६ भेरे गाउँको प्रचारप्रसार र पहिचान गर्न सके र ढाई तीनसय वर्ष पुराना मन्दिर र ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न सके जाजरकोट हेर्न आउनेको घुईचो लाग्न सक्छ । जसले जाजरकोट दुनियाँमा चिनिने मात्र होइन जाजरकोटमा रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ ।

जगतिपुरको ऐतिहासिक डाँडाबाट देखिने हिमश्रृङखलाको मनोरम दृश्य मात्र होइन कुशे पाटन, प्यारी कचाली लेख, ठाकुरजी दह, जलजला हिमाल अनि लहँको खनटाकुरा, पाँचकटियाको गाइखुर क्षेत्र, नायकवाडाको बालकुने झरना, अर्छानीको लुहारे झरना र सक्लाको राहपानी झरना लगाएतका दर्जन वढी झरनाहरु अनि भेरी नगरपालिकाको काफलचौर लगाएत विभिन्न प्राकृतिक क्षेत्रहरुको प्राकृतिक सुन्दरता र मनोरमता दुनियामा करोडौ खर्च गरेर पनि पाइदैन त्यहि देखाएर देशी विदेशी पर्यटकहरु झुलाउँदै जाजरकोट समृद्ध बन्न सक्छ । १३ औं शताव्दीका बेला निर्माण भएका पजारु डाँडागाउँ र घोगीका चैत्य गुम्बाहरुको कला अनि कालेगाउँ स्थित भेरी नदीको किनारामा अवस्थित शिवालय मन्दिर, पुरातत्व विभागमा दर्ता भएको पैंकको मष्टा मन्दिर, विभिन्न मेला पर्वहरुमा देखाइने धामी नाँचहरुको ऐतिहासिकता धार्मिकता र प्राकृतिक सुन्दरता बेचेर पनि हाम्रो सम्वृद्धि वढ्न सक्छ । नेपाल एकिकरणमा जाजरकोटको इतिहास र जाजरकोटको वीरतासंग जोडिएको ढिमेको खाँडो नाँचलाई दुनियाँमा चर्चित बनाउन सकियो भने पनि कला संस्कृतिको संरक्षण र रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्न सक्छ ।

आन्तरिक पर्यटन र व्यापारलाई प्रवद्र्धन गर्नका लागि जिल्लाका विभिन्न भेगमा लाग्ने चर्चित मेलापर्वहरु खलंगाको रमाइलो मेला, वारेकोटको रामीडाँडा मेला, मछाइनाको मेला, अर्छानीको धारपानी मेला, चिनीकम्द मेलाहरु अनि ती मेला र अन्य पर्वमा देख्न र सुन्न पाइने ख्याली नाँच, पैसेरी नाँच, टप्पा नाँच, सिंगारु नाच, फाक गीत, देउडा गीत, हिउँदाले भाका, ठाडी भाका, दरी गीत, झयाउरे गीत लगाएतका कला सस्कृति र परम्पराहरुलाई व्यवस्थित र व्यावसायिक वनाउन सकियो भने पनि हाम्रो आर्थिक सम्वृद्धिको यात्रा परिपक्व बन्न सक्छ । नलसिंहगाडको विजुलीले ६ नम्वर प्रदेश पुरै उज्यालो बनाउन सक्छ अनि त्यस्तो जाजरकोट विकट र विपन्न कसरी हुन्छ ? यसको शीघ्र निर्माणका लागि जिल्लाको राजनैतिक नेतृत्वले दिलो ज्यान दिएर लाग्न जरुरी छ ।

२ हजार २ सय ३० वर्गकिलोमिटर मध्य कुल क्षेत्रफलको ५६ प्रतिशत भाग जंगलले ढाकेको जाजरकोटको उत्तरी भेग वारेकोटलाई वासस्थान बनाएको विश्वकै दुर्लभ जनावर रेडपान्डा, विश्वकै दुर्लभ चरा चिर कालीज र सुनगिद्धको उचित संरक्षण र प्रचारप्रसार गर्न सके जाजरकोटमा रोजगारीका अवसरहरु बढाउन सकिन्छ । त्यस्तै भुरको कोइलाखानी, बारेकोटको फलाम खानी, सक्लाको चुनढुंगा खानी, खलंगा वुदवुदीको खरी खानी, पजारु टिकाचौरको अभ्रख खानी, नायकवाडा भालुखम्वामा रहेको तामा खानी, टालेगाउँको काइनेटिक पत्थरखानी, डाँडागाउको मह, वारेकोटको गाभा, रिम्ना देखि चिसापानी सम्ममको र्याप्टीङ अर्थात जलयात्रा, अनि सरु खोला, छेडागाड र नलसिंहगाडका माछाको उचित व्यवस्थापन र व्यावसायिकरण गर्न सकियो भने हामी आफनो जीवनको आर्थिक सम्वृद्धिको पाटो आफ्ले मजबुत बनाउन सक्ने अथाह सम्भावनाहरु छन् । चुनावमा पैसा खर्च गरेर नेता बन्ने र पैसा खाएर मतदाता बन्ने चलन हटाउँदै कसैले नचिनेको जाजरकोटलाई सुरुमा आफैले चिन्ने प्रयास गरौं ।

सडक विजुली, सञ्चार मार्फत जाजरकोटका हरेक सम्भावनाहरुको उत्खनन् गर्ने हो भने अबको नयाँ संरचनामा ६ नम्वर प्रदेशको जाजरकोट सबैको आसाको केन्द्र बन्न सक्छ । आफुलाई कम्जोर र तन्डम ठानेर मात्रै जाजरकोट सुन्दर र समृद्ध बन्दैन । समय र जिम्मेवारीलाई रद्धीको टोकरीमा फालेर जिल्ला समृद्ध बन्दैन भन्ने कुरा परिवर्तनको अगुवाई गर्नेदेखि सबै जाजरकोटीले बुज्न जरुरी छ । राजनीति पैसा कमाउनका लागि जागिर समय विताउनका लागि व्यावसाय नाफाको लागि मात्रै गर्ने गलत सोच छोड्न सके मात्र पनि जाजरकोट भित्र लुकेका धेरै सम्भावनाहरुले हाम्रो पुस्तालाइ मात्र होइन भविष्यका सयौं पुस्ताहरुलाई त्यो साथ र सम्वृद्धि दिन्छ । जो अन्यत्रवाट सम्भव छैन । त्यसैले जाजरकोट चिनौ जाजरकोटको सम्बृद्धि खोजौं ।

—लेखक नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष हुन् ।

Leave a comment

Your email address will not be published.


*