20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

चुनावमा जसले जिते पनि लोकतन्त्रले नहारोस् ।

        जनक केसी   |   प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४     10:25:47 AM  | 148 पटक पढिएको   |  

अहिले देशै भरि चुनावी माहोल तातिदै गएको छ । विभिन्न नारा र आस्वासनका पोका लिएर नेता र राजनैतिक दलहरु जनताको घरदैलोमा पुगेका छन् । कोही दलका नेताहरु पहिलो पटक भोट माग्न पुगेका छन् भने कोहि पटक पटकको चुनावी अनुभवका साथ जनताको घर आँगनमा पुगेका छन् ।

नेताहरुले अत्यन्तै उत्साहका साथ भोट मागिरहदा र आफुले गरेका राम्रा कामहरुको मात्रै चर्चा गरिरहदा मतदाताहरु भने विगत, वर्तमान र भविष्यसँग जोडिएका धेरै सवालहरु सोध्नपनि सक्रिय देखिन्छन् । हामीले साँच्चिकै लोकतान्त्रिक शासन व्यवस्थाको जनता भएर बाँच्न पाउने दिन कहिले आउछ ? के नेताहरुले फुलबुट्टा भरेर बयान गर्ने लोकतन्त्र हाम्रा लागि नै हो त ? परिवर्तन जनताका लागि हुने हो कि नेताको लागि मात्र ? चुनाव आस्वासन वाँड्नका लागि मात्रै हो कि नेताले केही गर्ने क्षमता देखाउनका लागि हो ? यस्तै यस्तै प्रश्नहरु जनताले निरन्तर सोधिरहेका छन् । सोध्न सक्ने बोल्न सक्ने जनताले खुलेआम सोधेका छन् । नसक्नेले जीवनका हरेक अप्ठेरा अवस्थाहरुमा मौनता मार्फत पनि सोधिरहेका छन् । कोही जनता आफैले भोट माग्दै हिडेका नेताहरुसंग प्रश्न सोधिरहेका छन् । कोहि सञ्चारकर्मीको सहायताले सोधिरहेका छन् कोही आफनो विपन्न र पिछडिएको नियति जीवनको आँगनमा विछाएर प्रश्न सोधिरहेका छन् । हामी माथि लादिएको अराजकता, हाम्रा निम्ति भनिएको विकास र सम्वृद्धि, हामीले भोग्ने गरेको निरन्तर अन्यायको अनुभुति र जनताको हत्या र बलत्कार गर्नेहरु खुलेआम शानका साथ घुम्ने दिन अन्त्य हुन्छ कि हुदैन ? जनता नवोले पनि उनका मनमा उब्जिरहेका प्रश्नहरु हुन् यी ।

चुनावका बेला जनयुद्धको महत्व र आवश्यक्ता, लोकतान्त्रिक आन्दोलन र संघर्षहरुको जरुरत अनि दलहरुले अघि सारेका क्राान्तिकारी घोषणापत्रहरुको बयान गर्ने बेला भन्दा पनि हामीले पाएको परिवर्तन कस्तो छ, गणतन्त्र वास्तविकतामा जनताको भएको छ कि छ्रैन ? भन्ने प्रश्न मुल रुपमा जनताको मनमा उब्जिरहेको छ । गाउँ सहर हिमाल पहाड धनी गरिब चारैतिर गणतन्त्र भन्दा पनि गणतन्त्रका नायकहरुको व्यवहार र कार्यशैली एवम सत्ता लोलुप व्यवहार प्रति निकै आक्रोश र असन्तुष्टि छ ।

यसै बीचमा अहिलेको चुनावका लागि मुलुक वाम गठबन्धन र बृहत लोकतान्त्रिक गठबन्धनका नाउँमा विभाजित बन्न पुगेको छ । लोकतन्त्रका नाउँमा गरिएका सवै प्रकारका विकृतिहरुका विरुद्ध यो राजनैतिक धु्रवीकरण नितान्त जरुरी त छ तर पनि नयाँ नारा र व्यवस्था परिवर्तनले मात्र पनि हाम्रो लोकतन्त्रमा हाम्रो असली अपनत्व हुन्छ भन्ने कुरामा जनता विश्वास गर्न तयार छैनन् । अवस्था नफेरिकन व्यवस्थाको कुनै महत्व छ्रैन भन्ने कुरा जनताको असन्तुष्टि र हामीले भोगिरहेको वेथितिले पुष्टि गरिरहेको छ । साथै सत्ता र व्यक्तिगत स्वार्थलाई सधै लोकतन्त्रका हरेक गुणहरुसँग मिसाएर लिने नेतृत्वको शैली पनि हामीले चाहेको र खोजेको परिवर्तन अनि व्यवस्थाको पक्षमा छैन ।

हिजो राजतन्त्रको अन्त्य गर्दा होस् या निरुंकुसताका जराहरु काट्ने बेला सँगै यात्रा गरेका दलहरु अहिले दुई मुख भएर उभिएका छन् । लोकतन्त्रको जग बलियो नहुने बेलासम्म लोकतान्त्रिक आन्दोलनका सहयात्रीहरु दुःखमुख हुनु राम्रो नभए पनि वहुदलीय प्रतिष्पर्धामा यो स्वभाविक नै मानिएको छ । जहाँ जे गरेर हुन्छ मर्नेहरुको रगत र जीवनको मुल्य संग साटिनुपर्ने परिवर्तन र सम्वृद्धि कसैको व्यक्तिगत फाइदा र स्वार्थसंग नसाटियोस् भन्ने आम जनताको चहाना हो ।

जो जहाँ उभिएपनि जसले जे गरेपनि सबैको अर्जुन दृष्टि भनेको लोकतन्त्र मजबुत पार्ने हो र जनताले आफुले बगाएको रगत र गरेको बलिदानको मुल्य उनीहरुले पाएको अनुभुति गराउनु नै हो ।

जनताको गणतन्त्र भनौं या लोकतन्त्र अहिले पनि अप्ठेरोमै छ । दण्डविहीनता, अराजक्ता, घुसखोरी सरकारी सेवा प्रवाहमा ढिलासुस्ती र जनतासँग गरिने झुटा वाचाहरु हाम्रो लोकतन्त्रका मुख्य वाधाहरु हुन् । यी सबै वाधाहरुका विरुद्ध जनता समाजका सचेत वर्ग र राजनैतिक दलका नेता कार्यकर्ताहरु एक ठाउँमा उभिन सके मात्र पनि हरेक चुनावमा लोकतन्त्रले जित्न सक्छ नत्र भने हामीले गर्ने भाषणमा मात्र जनता र लोकतन्त्रको जीत हुन्छ व्यवहारमा सधै हार्ने मात्र काम हुने देखिन्छ ।

अहिले उत्साहपुर्वक भोट हाल्न आतुर भएका जनता हुन या मन भरि असुन्तुष्टीको भारी वोकेर मतदान केन्द्र सम्म जाने जो कोहि पनि मतदाताले आज असली लोकतन्त्र र कानुनी राज्यको अनुभुति गर्न पाएका छैनन् । हामी राणाहरुबाट मुक्त भएका बेला विभिन्न सम्राज्यवाद र अधिनायकवादबाट मुक्त भएका एसियाकै धेरै देशले गरेको राजनैतिक एवं आर्थिक विकास र परिवर्ननलाई भेटाउन हाम्रा लागि फलामको चिउरा सावित हुँदै गएको छ ।

राजनैतिक आर्थिक सम्बृद्धिका लागि हामीसँग भएका अथाह सम्भावनाहरुलाई वेवारिसे बनाएर आकर्षक नारा र आश्वासन बाँड्नका लागि मात्रै हामीले राजनीति गरेको जस्तो अनुभुति सर्वसाधारण जनतालाई भएको छ । त्यो तीतो अनुभुतिलाई जसरी पनि मेटाएर अहिले सम्मका सबै ऐतिहासिक संघर्ष र बलिदानको लक्ष्य भेटाउने काममा प्रमुख दलहरुले केहि न केहि गर्नै पर्छ । चुनावी जित हारको सौदावाजी भन्दापनि जनजीविकाको सवाललाई प्रधान कुरा मान्ने हो भने केहि चुनौतिका बीचबाट देशको सम्बृद्धिको ठूलो मार्ग भेटिन सक्छ । जब सम्म जनताले आफ्ना अधिकारहरु निर्धक्कसँग प्रयोग गर्न पाउदैनन् या जनताले देशमा विधिको शासन छ भनेर ढुक्क मनले अनुभुत गर्न पाउदैनन हामीले ७० वर्षको अवधिमा बगाएको पसिना र गरेको त्याग व्यर्थ बन्ने मात्र होइन हाम्रा पुस्ताले आज सम्म गुमाएको सबै सम्भावनाहरु र त्यसको दोष हामीलाई नै जान्छ ।

सधै भरि राजनैतिक अधिकारका लागि मात्रै लडने गरेको हाम्रो इतिहास अब कुनै पनि हालतमा अन्त्य गर्नुपर्छ भन्ने आम जनताको इच्छा छ । हाम्रा बाआमा, बाजेबज्यै र बराजुहरुले सधैं लड्ने मात्र काम गरे त्यसैले आज हामी आर्थिक सम्बृद्धिको वहुत अप्ठेरो मोडमा पुगेका छौं । एउटा राजनैतिक यात्रामा पार लाग्न मात्रै पनि हामीले झन्डै एक सताव्दीको समय गुजारेका छौं जसका कारणले हामी विश्वकै गरिब मुलुकको सूचीमा दर्ज मात्र भएका छैनौं आउने पुस्ताका निम्त भर्खर सम्बृद्धिको जग बसाल्ने कुराको खेती सुरु गरेका छौं ।

जो विश्वका अन्य मुलुकको अघि लाजको विषय पनि हो । त्यसैले चुनावमा कुन उम्मेदवार या दलले जित्ने भन्दापनि लोकतन्त्रले जित्ने हो कि हार्ने हो हामीले गरेको बलिदानले जित्ने होकी हार्ने हो या हामी लोकतन्त्र जिताउन भोट हाल्दै छौंकी नेता मात्र जिताउन भन्ने सवाल प्रति सबै मतदाता नेता दलका कार्यकर्ता र सरोकारवालाहरु चेत हुनै पर्छ । तत्र लोकतन्त्र हार्छ मात्र व्यक्ति र पार्टीले चुनाव जित्छ हाम्रो सपना सधै अधुरै रहन्छ ।

-लेखक नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष हुन् ।

Leave a comment

Your email address will not be published.


*