20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

दीप दर्शनका केही गजलः खतराहरुलाई पनि खतराबाटै खतरा….

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४     8:42:23 PM  | 204 पटक पढिएको   |  

१. गजल

खतराहरुलाई पनि खतराबाटै खतरा छ ।
जस्तो कि चराहरुलाई चराबाटै खतरा छ ।

आगोले जलाउने डर, हुरीले उडाउने डर,
बिचरा गरिबहरुलाई टहराबाटै खतरा छ ।

कोपिला बनि रहन प्रकृतिले दिँदै दिँदैन,
फूल फूलिदिउँ त भमराबाटै खतरा छ ।

आखिर जिन्दगी बूढो रुख जस्तो भयो,
र आफैलाई आफ्ना जराबाटै खतरा छ ।

२. गजल

खोजि रा’छु हाँसो खुसि वर्षौदेखि ।
घुमि रा’छ यो जिन्दगी वर्षौदेखि ।

जुन मुटुमा छुरा हानी नुनचुक लायौ,
त्यही मुटुमा थियौ तिमी वर्षौदेखि ।

प्यासी छ यो बगरको बालुवा पनि,
किनारा हुँदै बग्छ नदि वर्षौदेखि ।

माछा मार्छ, डुङ्गा तार्छ यहाँ एउटा,
यहि नदिमा बूढो माझी वर्षौदेखि ।

३. गजल

मेरो बाध्यता हो बिदेशीन रहर थिएन,
आफ्नै पैसाले आफै बेचिन रहर थिएन ।

फिर्ता दिनु थियो तिमीले दिएको रुमाल,
नत्र यो बिच बाटोमा पर्खिन रहर थिएन ।

समयले मुसाफिर बनाई दियो के गर्नु,
नत्र तिम्रो सहरमा हल्लिन रहर थिएन ।

आफैलाई बिर्सेको पनि वर्षौ भईसक्यो,
तिमीलाई बिर्सिएँ, बिर्सिन रहर थिएन ।

४. गजल

उनी त गोठाला रहेछन् कालू जस्तो,
हेर्दाखेरी देखिन्थे निकै ठालु जस्तो ।

म तिमीलाई धित मरुन्जेल हेरिरहन्छु,
तिमी अलिकति देखिनु लजालु जस्तो ।

अक्सर देश सम्झदा बाआमा सम्झदा,
लाग्छ प्रदेशबाट अहिल्यै गईहालु जस्तो ।

दुःख दिएको छ पिर पनि दिएको छ,
लाग्छ यो भाग्यलाई कहिँ फालु जस्तो ।

आफ्नाहरु पत्थर जस्ता भएको बेला,
दुश्मन भेटियो बरु निकै दयालु जस्तो ।

नाम :- दीप दर्शन

-ठेगाना :- नलगाड नगरपालिका १२,जाजरकोट

-लेखन विधा :- गजल कथा कबिता हाइकु मुक्तक

-प्रकाशित कृतिहरू :- कालो बादल भित्रको चन्द्रमा (गजल संग्रह) २०६६, सृजनाका स्वरहरु सयुक्त समुन्द्र दन्केपछि

-मियो स्तुप (संयुक्त लघुकथा संग्रह ) दुश्मन गजल संग्रह (हातमा)

-सम्मान तथा कदरपत्र दोसल्लाबाट सम्मानित ने रा निमाबि भगवतीबाट २०६७ सम्मान तथा कदरपत्र प्रबासी नयन साहित्य समाज जोहोर मलेसियाबाट २००९ सम्मानपत्र

-नेपाल राष्ट्रिय मा बि अवलगुर्ताबाट २०६९ सम्मान

-विश्व नेपाली साहित्य महासंघ शाखा मलेसियाले १०१४ सम्मान अननाममण्डली मलेसिया २०१४ सम्मान

-उदाउँदो तारा साहित्य समाज पेनाङ मलेसिया २०१६ सम्पादन

-सह सम्पादक :- सृजनाका स्वरहरु गजल

-सम्पादक :- इन्देणी त्रैमासिक पत्रीका

-हाईकु सम्पादक :- ईन्द्रेणी त्रैमासिक पत्रीका

-रुवाई सहसम्पादक :- सुम्निमा त्रैमासिक पत्रीका सम्वद्घ संस्था अध्य्क्ष उदाउदो तारा साहित्य समाज पेनाङ मलेसिया विश्व केन्द्रिय सदस्य विश्व नेपाली साहित्य महासंघ सदस्य

-मुक्तक प्रतिस्ठान शाखा मलेसिया

Leave a comment

Your email address will not be published.


*