20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

पर्वतमा योजना छनोटको चटारो यस्तो छ

        रामकृष्ण लामिछाने   |   प्रकाशित मितिः शुक्रबार, माघ ७, २०७३     5:07:25 AM  | 262 पटक पढिएको   |  

पर्वतः पर्वतको ईलाका नम्वर २ मा पर्ने क्याङ, नाग्लीवाङ र बनौ गाविसको इलाकास्तरीय गोष्ठि बनौ गाविसको कार्यालयमा सम्पन्न भएको छ ।

जिल्ला विकास समिति अन्र्तगत गाउँ, नगर, परिषद् पछि हुने ईलाका स्तरीय योजना गोष्ठी बनौंका गाविस सचिव रामप्रसाद रिजालको अध्यक्षता र जिल्ला विकास समितिको कार्यालयका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा इलाकास्तरीय गोष्ठिमा ३ वटै गाविसका सबै राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु गविस सचिव सहित सहभागी भएका थिए ।

कार्यक्रममा तिन वटै गाविसका राजनैतिक दलहरुले योजना तर्जुमा भन्दा पनि स्थानीय निकाय पुनरसंरचना आयोगले जलजला गाउँपालिकाको केन्द्र माझफाँट तोकेको विषयलाई लिएर रोष व्यक्त गरेका थिए । वाँसखर्क, लेकफाँट, शालिजा, धाईरिङ, बनौं, नाग्लीवाङ र माझफाँट गाविसलाई मिलाएर प्रस्तावित जलजला गाउँ पालिकाको केन्द्र धाईरिङ गाविसको मिलनचोकलाई बनाउन राजनैतिक दलका नेताहरु संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत नेपाल सरकारसँग डेलीगेसन जाने निर्णय गरेपछि मात्र योजना तर्जुमाका वारेमा छलफल अघि बढेको थियो ।

योजना तर्जुमा गोष्ठिमा वडा तथा गाबिसबाट पारित भएका योजनाहरुलाई प्राथमिकरण गर्दै जिल्ला तथा केन्द्रिय स्तरमा माग गर्ने योजनाहरु पारित गरेको छ । ईलाकाले आर्थिक बर्ष २०७४/०७५ को लागि ५ वटा इलाकास्तरीय साझा योजना सर्वसम्मतले छनोट गरेको छ भने यि योजनाहरु जिल्ला विकास योजनामा समावेश गरी सिघ्र कार्यान्वयन गर्न पनि माग गरेको छ । कार्यक्रममा नाग्लीवाङ – बनौ १, २, ३ हुँदै धाईरिङ २ लस्ती जोड्ने ग्रामीण सडक निर्माण योजना,. नाग्लीवाङ–वाग्लुङ जोड्ने झोलुङ्गे पुल नाग्लीवाङ,–बनौं–क्याङ –आलु पकेट क्षेत्र विकास कार्यक्रम, नाग्लीवाङ गाविसमा प्राविधिक शिक्षालयको स्थापना,क्याङ मगुवा टापु भ्यू टावर निर्माण योजना प्रस्तावित गरेका छन् ।

उल्लिखित इलाकास्तरिय साझा योजनाहरु वाहेक गाउँ परिषदबाट पास भइ आएका सबै क्षेत्र समेट्ने गरी बनौले ५ वटा , नाग्लीवाङले २४ र क्याङले २७ वटा योजनाहरु जिल्ला तथा केन्द्रमा माग गर्ने गरी निर्णय गरेका छन् । कार्यक्रमको उद्घाटन बनौं मा.वि.मा कक्षा ९ मा अध्यनरत छात्रा निलमाया पुन र छात्र मनकुमार फगामीले संयुक्तरुपमा मैनबत्ति बालेर गर्नुभएको थियो । कार्यक्रममा ३ बटा गाविसको उल्लेखिनिय सहभागीता रहेको थियो ।

ईलाका नम्बर ८ को गोष्ठि पाङराङमा  सम्पन्न

ईलाका नम्बर ८ को ईलाका स्तरिय गोष्ठि आज पाङराङमा  सम्पन्न भएको छ ।

ईलाका नम्बर ८ मा पर्ने पाङराङ,कुर्घा, वाच्छा र भोक्सिङ गाविसवाट विभिन्न खालका योजनाहरु एकिकृत ईलाका गोष्ठि मार्फत प्रस्ताव गरिएको छ ।

धेरै जसो मोटरवाटो, गोरेटोवाटो, विद्यालय, पर्यटन लगायतका क्षेत्रका योजना छनौट गरिएको छ । वाच्छा गाविसका सचिव सुमन गौँडेल, पाङराङ गाविसका सामाजिक परिचालक सुरज क्षेत्री, कुर्घा गाविसका सचिव जयवहादुर श्रेष्ठ र भोक्सिङ गाविसका सचिव कृष्णप्रसाद रिजालले गाउँ परिषद मार्फत पुरा नभएका योजनाहरु जिल्ला र केन्द्रमा सिफारिस गर्न पेश गर्नुभएको थियो ।

सचिवहरुले प्रस्तुत गरेका योजनाहरुलाई एकिकृत गरि साझा योजनाहरु छनौट गरिएको छ । जिल्ला विकास समितिका सामाजिक परिचालन अधिकृत प्रकाश लम्सालले योजना छनौटमा सहजीकरण गर्नुभएको थियो । ४ वटै गाविसका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्तरका नेताहरु, विभिन्न सञ्जालका प्रतिनिधी लगायत सञ्चारकर्मीहरुको सहभागितामा गोष्ठि मार्फत योजना छनौट गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य युक्तप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस गाउँ कार्यसमिति पाङराङका सभापति जितवहादुर सुनार शेरवहादुर, नेकपा एमालेका भवानी शंकर शर्मा, माओबादी केन्द्रका सचिवालय सदस्य वमबहादुर कुँवर,जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका नारायण न्यौपाने, गैसस महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल, कृषि सेवा केन्द्र वाच्छाका शान्त रिमाल, श्रोत व्याक्ति कुलवहादुर क्षेत्री, पशु सेवा केन्द्र वाच्छाका चोलाकान्त पौडेल लगायतले गािवस स्तरिय योजना र योजना कार्यान्वयनका बारेमा वोल्नुभएको थियो ।

कार्यक्रम पाङराङ गाविसका सचिव डिल्लीराम आचार्यको अध्यक्षता र गरिवका लागि विश्वेश्वर कार्यक्रमका जिल्ला संयोजक हिरामणी सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a comment

Your email address will not be published.


*