21 November 2018|   बुधबार, मंसिर ५, २०७५

सत्रवटा मन्त्रालयको संरचना फेरिदैं

          |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४     7:39:09 AM  | 71 पटक पढिएको   |  

सरकारले सत्रवटै मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयको प्रशासनिक संचरना फेरबदल गर्ने तयारी गरेको छ । मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक संचरना फेरबदल गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा मन्त्रालयका सचिवको दिनहुँ बैठक हुने गरेको छ ।

प्रधानमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार कुन मन्त्रालयमा कति कर्मचारी, राख्ने,शाखा,महाशाखा कति राख्ने, विभागहरू कति राख्ने भन्नेवारेमा विषयगत रूपमा छलफल भइरहेको छ । बैठक अझै केही दिन जारी रहने ती कर्मचारीले बताए । बैठकमा सबै मन्त्रालयबाट प्रतिनिधित्व गराइएको छ ।

संगठन व्यवस्थापन सर्भे तयार गर्न छुट्टाछुट्टै समुह बनाएर छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका कर्मचारी बताउँछन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा सल्लाहकार समूह तथा विज्ञ समूूहको दरबन्दी स्थायीरूपमै राख्ने तयारी भएको छ ।

स्थायी दरबन्दी कायम भएमा प्रधानमन्त्री फेरिनेबित्तिकै व्यक्ति फेरिन्छन् तर दबरन्दी भने कायमै रहन्छ । हाल  प्रधानमन्त्रीले प्रधानमन्त्रीको कार्यालयमा सल्लाहकार समूहमा पाँच जनासम्म मनोयन गर्न सक्छन् ।

यसअनुसार,  परराष्ट्र सल्लाहकार, सुरक्षा सल्लाहार, राजनीतिक सल्लाहकार, अर्थिक सल्लाहकार र प्रेस सल्लाहकार मनोनयन गर्न सक्ने व्यवस्था छ । हाल मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा ९१ जनाको दरबन्दी कायम छ ।

९१ जनाको दरबन्दीमध्ये हाल प्रधानमन्त्रीले सल्लाहकार तथा विज्ञ समूह मनानेयन गर्ने गरेका छन् ।  नयाँ संरचनाअनुसार प्रधानमन्त्रीले सुरक्षा क्षेत्रमा काम गरी ख्याती कमाएका व्यक्तिमध्ये एकजनालाई प्रमुख  सुरक्षा सल्लाहाकार मनोयन गर्ने व्यवस्था छ ।

प्रधानमन्त्री कार्यालय हेर्नेगरी एकजना छुट्टै मन्त्री राख्ने कि नराख्ने भन्नेबारे भने अझै टुंगो नलागेको  प्रधानमन्त्री कार्यालयका अर्का एक कर्मचारी बताउँछन् । नयाँ संचरनापछि प्रधानमन्त्री कार्यालयलाई अझ शक्तिशाली बनाइएको छ ।

यसअनुसार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा केही  छुट्टै दरबन्दी थपिने सम्भावना रहेको स्रोतको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हाल गरिरहेको संगठन व्यवस्थापन सर्वेक्षण गरी उच्च कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि छलफल भइरहेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता डिल्लीराज शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सत्रवटा मन्त्रालयमा संगठन व्यवस्थापन सर्वेक्षण भइरहेको बताए ।

उनले भने, ‘कुनकुन मन्त्रालयमा कति कर्मचारी राख्ने, शाखा, महाशाखा, विभाग कति राख्नेलगायतका विषयमा सर्वेक्षण भइरहेको छ ।’  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कर्मचारी समायोजना नियमाबली पास भएपछि थप सर्भे हुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा सत्रवटा मन्त्रालयको संगठन व्यवस्थापन  सर्वेक्षण भएमा केन्द्रमा कति कर्मचारी आवश्यक पर्ने भनी स्पष्ट तथ्यांक आउने प्रधानमन्त्री कार्यलका प्रवक्ता शर्माले बताए ।

यसैगरी, मन्त्रालयको संख्या कटौती गरी १७ मन्त्रालयमा कायम गरेपछि गाभिएका मन्त्रालयको साइनबोर्ड हटाइएको छ । स्थानीय तथा सामान्य प्रशासन मन्त्रालय गाभिएपछि सामान्य प्रशासन मन्त्रालय स्थानीय विकास मन्त्रालयमा सरेको छ ।

सामान्य प्रशासन मन्त्रालयमा राखिएको साइनबोर्ड हटाइएको छ । मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या कटौती गरी १७ वटा मन्त्रालयमा कायम गर्ने निर्णय गरेसँगै  कार्य विभाजन नियमाबली २०७४ पनि पास गरेको छ ।

यसअनुसार सबै मन्त्रालयको कार्यविभाजन गरिएको छ । नयाँ नियमाबलीअनुसार प्रधानमन्त्री कार्यालयलाई थप जिम्मेवारी दिइएको छ ।

-स्रोतः नागरिक दैनिक

Leave a comment

Your email address will not be published.


*