23 June 2018|   शनिबार, असार ९, २०७५

वामगठबन्धन-फोरम सम्बन्धमा दरार, उपेन्द्र यादवले बोलाए आकस्मिक बैठक

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४     9:25:47 PM  | 48 पटक पढिएको   |  

हस्ताक्षरका लागि सहमति पत्रको मस्यौदा नै तयार पारेपनि वामगठबन्धन र संघीय समाजवादी फोरमबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । वामगठबन्धनसँग सहमतिको सम्भावना कम बनेपछि फोरम अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक डाकेका छन् ।

सहमति हुने आशासहित अध्यक्ष यादव मंगलबार विहानपनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर, आजपनि सहमति जुट्न सकेन । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधनका विषयमा लचक बन्न फोरमलाई भनेका छन् । यसैगरी उपप्रधानमन्त्री र तीन मन्त्रालय माग गरिरहेको फोरमलाई त्यस विषयमापनि लचक बन्न ओलीले सुझाव दिएका छन् ।

फोरमले पनि आफूले उठाएका संविधान संसोधन र मन्त्रालय बाँडफाँटको विषयमा उदार बन्न ओलीलाई आग्रह गरेको छ । दुबै पक्षले एक अर्काेलाई लचक बन्न आग्रह गर्नुले दुई पक्षबीच पछिल्लो समय सुध्रिँदै गएको सम्बन्धमा दरार उत्पन्न भएको देखाएको छ ।

१६ फागुनमा दुई पक्षले सहमति पत्रको मस्यौदा समेत तयार पारेका थिए, जसमा १८ फागुनमा हस्ताक्षर गर्ने भनिएको थियो । सो मस्यौदा सहमति पत्रमा सीमाङ्कन सहित संविधान संसोधनमा एमाले–माओवादी केन्द्र सहमत रहेको उल्लेख छ ।

बदलामा फोरम सरकारमा जाने कुरा पनि त्यसमा उल्लेख गरिएको छ । तर, समयमै हस्ताक्षर हुन नसक्दा दुई पक्ष टाढिन पुगेका छन् ।यही विकसित परिस्थितिको विषयमा छलफल गर्न अध्यक्ष यादवले १५ सदस्यीय केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएका हुन् ।

Leave a comment

Your email address will not be published.


*