21 November 2018|   बुधबार, मंसिर ५, २०७५

आज पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४     9:11:08 AM  | 54 पटक पढिएको   |  

दुईदिने औपचारिक नेपाल भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी आज दिउँसो काठमाडौं अवतरण हुँदैछन् ।नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीलाई बधाई ज्ञापन गर्न उनी नेपाल आउन लागेका हुन् । साथै दक्षिण एसियाली सहयोग संगठन (सार्क) शिखर सम्मेलनको आयोजनाबारे पनि अब्बासीले छलफल गर्नेछन् ।

विशेष विमानमार्फत ३२ सदस्यीय टोलीसहित अब्बासी दिउँसो ३ बजे आउन लागेका हुन् । उनको भ्रमणको तयारीका लागि यसअघि नै पाकिस्तानी ‘एडभान्स टिम’ले सबै व्यवस्था मिलाइसकेको छ । अब्बासी नेपालमा १९ घन्टा रहनेछन् ।

यसैबीच, पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ (विदेशी राष्ट्रप्रमुख वा प्रधानमन्त्रीलाई दिइने सम्मान गारत) दिइने भएको छ । प्रधानमन्त्री ओलीको निर्देशनमा टुँडिखेलमा यस्तो व्यवस्था गरिने भएको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमै गार्ड अफ अनर दिने परम्परा रहेको थियो ।

अब्बासी टुँडिखेलमा सम्मान गारत पाउने पहिलो विदेशी विशिष्ट पाहुना हुनेछन् । प्रधानमन्त्री अब्बासी इस्लामाबादबाट विशेष विमानमार्फत त्रिभुवन विमानस्थल उत्रनेछन् । उनी त्यसपछि सोझै होटल हायत जानेछन् र साढे ५ बजे टुँडिखेल आउनेछन् । टुँडिखेलमै प्रधानमन्त्री ओलीले स्वागत गर्ने कार्यक्रम छ ।

आजै ओलीले अब्बासीलाई याक एन्ड यतीमा रात्रिभोज दिने कार्यक्रम तय भएको छ । उनीहरुबीच दुईपक्षीय वार्तासमेत हुनेछ ।

Leave a comment

Your email address will not be published.


*