23 June 2018|   शनिबार, असार ९, २०७५

सातवटै प्रदेशमा यसरी बन्दैछ सरकार

          |   प्रकाशित मितिः सोमवार, माघ २९, २०७४     9:10:06 AM  | 40 पटक पढिएको   |  

राष्ट्रियसभा चुनाव सकिएलगत्तै सातवटै प्रदेशमा राजनीतिक चहलपहल बढेको छ । दलहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् । यसको सुरुवात प्रदेश ३ बाट सुरु भएको छ ।

प्रदेश ३ का एमाले संसदीय दलका नेता डोरमणि पौडेल आइतबार मुख्यमन्त्री नियुक्त हुनु भएको छ । उहाँ नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री बन्नुभएको हो । नेकपा एमाले र नेकपा माओवादीको वाम गठबन्धनले सरकार गठनको दावी गरे अनुसार ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

२०४९ सालदेखि २ कार्यकाल हेटौंडाका मेयर बनेका पौडेलले स्थानीय तह पुनर्संरचना आयोगको सदस्य बनेर पनि काम गर्नुभएको छ । मुख्यमन्त्री पौडेलको सोमबार बिहान साढे ९ बजे सपथ लिने प्रदेश प्रमुखको कार्यालयका सचिव चतुरभुज ज्ञवालीले जानकारी दिनुभयो । पौडेलले सोमबार नै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गर्नुभएको छ ।

अरु प्रदेशमा पनि तयारी

अरु प्रदेशमा पनि मुख्यमन्त्रीको टुंगो लागिसकेको छ । आइतबार प्रदेश ४ मा एमालेले संसदीय दलको नेता चयन गरेसँगै सबै प्रदेशमा मुख्यमन्त्री बन्नेहरुको नाम टुंगो लागेको हो ।

एमालेले आइतबार प्रदेश ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङलाई चयन गरेको छ ।  संसदीय दलको नेता चयनसँगै गुरुङलाई मुख्यमन्त्री बन्न बाटो खुलेको हो । मुख्यमन्त्रीको टुंगो लागिसकेकाले प्रदेश ४ मा पनि सरकार गठनको गृहकार्य सुरु भएको छ ।

प्रदेश ५ मा सरकार गठनका लागि वाम गठबन्धनले दावी पेश गरेका छन्  । आइतबार एमाले संसदीय दलका नेता शंकर पोख्रेल र माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीको हस्ताक्षरसहित प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख उमाकान्त झा समक्ष दावी पेश गरिएको एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिनुभयो ।

झा समक्ष पेश गरिएको दावीमा प्रदेश ५ मा एमाले संसदीय दलका नेता शंकर पोख्रेललाई मुख्यमन्त्री बनाउनु प्रस्ताव गरिएको छ । ८७ सदस्यीय प्रदेश नम्बर पाँचमा एमालेका ४१  र माओवादी केन्द्रका २० सहित वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

चुनावअघि नै एमाले र माओवादीबिच ५ नम्बर प्रदेशमा पोख्रेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । जस अनुसार पोख्रेल निर्विरोध रुपमा एमाले संसदीय दलको नेता चयन हुनु भएको थियो ।

यसअघि प्रदेश १ मा एमालेका शेरधन राई संसदीय दलको नेता चयन भैसक्नुभएको छ । त्यहाँ उहाँ नै मुख्यमन्त्री बन्नुहुनेछ । प्रदेश १ मा एमाले एक्लैको बहुमत रहे पनि माओवादी केन्द्रको समर्थनमा सरकार गठनको तयारी छ । एमाले र माओवादीबीच ४ वटा प्रदेशमा एमाले र २ वटामा माओवादीको तर्फबाट मुख्यमन्त्री बनाउने सहमति भैसकेको छ ।

प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धनबाट मुख्यमन्त्री चयन हुनेछ । संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री हुने निश्चित भैसकेको छ ।

माओवादीको भागमा परेको प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भैसक्नुभएको छ । दुवै प्रदेशमा एमालेको समर्थनमा माओवादीबाट मुख्यमन्त्री चयन गर्ने तयारी छ ।

प्रदेश संसदमा बहुमत प्राप्त दलको संसदीय दलका नेता मुख्यमन्त्री हुने संवैधानिक व्यवस्था छ । कुनै एक दलको मात्र बहुमत नभएका प्रदेशमा दुई वा त्योभन्दा बढी दलको समर्थनमा प्रदेशमा प्रमुखबाट मुख्यमन्त्री हुने संवैधानिक व्यवस्था छ । सबै प्रदेशमा ७ वटा मन्त्रालय राख्नेगरी तयारी भैरहेको छ ।

Leave a comment

Your email address will not be published.


*