21 November 2018|   बुधबार, मंसिर ५, २०७५

बालविवाह अन्त्यका लागि साझा संकल्प

        विश्वका उत्कृष्ट कोच नरबहादुर कार्की   |   प्रकाशित मितिः बिहिबार, माघ ११, २०७४     8:17:29 AM  | 134 पटक पढिएको   |  

वालविवाह अन्तर्राष्ट्रिय बालअधिकारका मान्यता, सिद्धान्त र सहमतिको खिलाफ मात्र होइन, बरु यसले स्वतन्त्र र स्वभाविक बाल्यकालको शारिरिक र मानसिक विकासको आवश्यकतालाई खलल पुर्‍याउँछ। वालविवाह एक मानव अधिकारको हनन् हो, यो प्रत्यक्ष रूपमा शिक्षाको अधिकार, शारीरिक, मानसिक कुनै पनि प्रकारका हिंसारहित जीवनको अधिकार, स्वस्थ रहन पाउने अधिकार, बिनामन्जुरी अभिभावकसँग अलग नहुने अधिकारको ठाडो उल्लंघन हो। नेपालमा बालविवाहले छोरीहरूको जीवनमा टार्न नसकिएको वियोगका रूपमा निरन्तरता पाइरहेको छ। लाखौं छोरीहरू आज पनि यस परम्पराको चपेटामा पर्ने खतराबाट मुक्त छैनन् । नेपालमा महिला र बालबालिकाको अन्य सवालमा उल्लेख्य परिणाम हासिल गर्न सकिए पनि छोरीहरूको सुरक्षित भविष्य निर्माणको संगीन अवधि किशोरावस्थामा हुने बालविवाहले उनीहरूको भविष्य असुरक्षित र अन्योलमा पारिरहेको छ।

हालसम्म विभिन्न निकायमार्फत् दर्जनौं परियोजना सम्पन्न भइसकेको र सरकारी स्तरबाट पनि विभिन्न क्रियाकलाप सञ्चालन भइरहेको भए पनि यो सवालको जग हल्लिन सकेको छैन। विभिन्न विद्यालय, समुदाय र सम्मेलनमा पुग्दा हामीले सुन्न र देख्न पायौं कि अहिले पनि बालविवाह भइनै रहेको छ। बालविवाहलाई एक्लै समाधान गर्न खोजेर यो पर्याप्त नहुने देखिन्छ किनकि यसको भित्री जग भनेको छोरीहरूको सामाजिक अवस्था र उनीहरूको अस्तित्वसँग जोडिन्छ। छोरीहरूको अस्तित्व सम्झौता र बलिदानको स्वत्वले बनेको छ। उनीहरूसँग गरिने सामाजिक अपेक्षा र परिवारले वा छोरीहरू आफैले गर्ने निर्णय यही सम्झौताको निरन्तरतामा छ। कानुनी र प्राविधिक रूपमा सुरक्षा र सहभागिताको स्तर बढदो भए पनि गुणात्मक रूपमा छोरीहरूको स्वअस्तित्व र सामाजिकीकरणको पाठशाला फेरिन सकेको छैन।

बालविवाह कुनै टार्न नमिल्ने वा रोकथाम गर्न नसकिने दुर्घटना होइन। बालविवाहका घटनालाई केलाउने हो भने परिवार, समुदाय, सरोकारवाला, किशोर किशोरीको सोच र सामाजिक नियमसँग जोडिएको छ। पारिवारिक आर्थिक अवस्था, छोरीहरूको सामाजिक स्थान, शिक्षा र ज्ञानको कमी, युवा युवतीको निम्ति सिर्जनात्मक वातावरणको कमी, काम र रोजगारीका विकल्प न्यून हुनु आदि पृष्ठभूमिका कारणसँग जोडिएर वालविवाहले निरन्तरता पाइरहेको छ। नेपालका कैयौं भूभाग र समाजमा विद्यमान दाइजो प्रथा पनि बालविवाहको एक सहयोगी कुसंस्कार बनेको पाइन्छ।

विवाह व्यक्तिभन्दा परिवारको आवश्यकता हुनु, गरिब आमाबुवाको निम्ति छोरी हुर्काउनु एक बोझजस्तै हुनु, शिक्षित भए पनि रोजगारीको अनिश्चितता, नैतिकता र विवाह पूर्व हुनसक्ने प्रेम र यौन सम्बन्धबारे पारिवारिक भय, युवायुवतीमा आउने शारिरिक र यौनिक कौतुहलता र यसको अभिव्यक्तिका सञ्चार माध्यम बढे पनि यौनिक शिक्षा नपाउनु, विवाह एकपटक गर्नै पर्छ छिटो गर्नु ठिकजस्ता सामाजिक संकार र सत्यहरू, कानुनको अक्षरशः पालनामा सरोकारवालाको उदासिनता, छोरीका सवालबारे आवश्यक परिवर्तन सामाजिकीकरण नहुनु र उनीहरूका आवाज संगठित नहुनु आदि कुराले बालविवाह न्यूनीकरण हुन सकेको छैन।

बालविवाह एउटा त्यस्तो मौन महामारी भएको छ, नेपालमा जसले हजारौ युवाका सपना, उनीहरूका सम्भावना, सिर्जनात्मकता र बौद्धिक क्षमतालाई संकुचन गर्दै जीवन अवधिभर उनीहरूको स्वतन्त्रता, मानसिक अवस्था, आर्थिक दुष्चक्र, शरीर सबलता र आत्मनिर्भरतालाई मारिरहेको हुन्छ । फलतः अधुरो शिक्षा, बाल्यकालमा घरायसी जिम्मेवारी, जोखिमपूर्ण उमेरमै गर्भवती हुने, सीप र उत्पादनमा सहभागिता नहुनु, आयआर्जन तथा आर्थिक रूपमा परनिर्भर हुने, आफ्ना विचार र आवाज सीमित हुँदै जानु, निर्णय प्रक्रियामा छेउ लाग्नु, जीवनको गरिमा र आत्मसम्मानमा बारम्बार ठेस लाग्ने, दमित र हीन भावनामा बाच्न बाध्य, मानसिक कुण्ठा हुनसक्ने, सबै प्रकारका हिंसाको जोखिममा पर्नसक्ने भएकाले बाल विवाहको प्रभाव जीवनकालभरि रहन्छ। यो सवाल वर्तमानको संरक्षण मात्र होइन, बरु यो भावी दशकमा समाज र नेपाल कस्तो बन्न चाहन्छ भन्ने हो।

छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान, हामी केही सामाजिक रूपान्तरणका अभियन्ताको पहलमा सुरु गरिएको छ । सन २०१७ मार्चमा सुर्खेतबाट सुरु भएको महाअभियानअन्तर्गत हालसम्म ५ जिल्लाका सम्मेलन सम्पन भएका छन । बालविवाहजस्तो बहुआयामिक सामाजिक सवाल सम्बोधन गर्न एकपटक कुनै क्रियाकलाप गर्नु मात्र पर्याप्त छैन, बरु यो एक प्रक्रियागत र तीव्र गतिको सर्वपक्षीय सामाजिक अभियान बन्नु अत्यावश्यक देखिएको छ । यस महाअभियानको लक्ष्य भनेको ‘नेपाललाई छोरी भएर जन्मन स्वर्णिम भूमि बनाउनुरहेको छ । यदि यो सवाललाई गहिराइबाट बुझ्ने हो भने, छोरीकोनिम्ति स्वर्णिम देश समाजका सबै हिस्साको लागि अनुकूल हुन्छ।

यो महाअभियान सञ्चालनका लागि हामीले परम्परागत तरिकाले आर्थिक संकलन, प्रोत्साहन, वितरण वा महँगो परियोजनामुखी अवधारणा अपनाउनु हुँदैन । हामी सोच र सामाजिक नियमको मानसिक, आत्मिक र सामाजिक रूपान्तरणबाट यो सवाल सम्बोधन गर्ने परिकल्पना तथा कार्यान्वयन गर्नुपर्दछ। यो सवालबारे आत्माजागरण नभई, छोरीको निम्ति स्वर्णिम देशको सपनामा जोडिएको पहलले मात्र महत्वाकांक्षी परिवर्तन सम्भव गराउँछ। आगामी दिनमा अनवरत सबै जिल्ला र नगरमा पुग्ने अभियान यात्राले यो सवालबारे स्थानीय समुदाय, लक्षित समूह, स्थानीय सरकार, सरोकारवाला, सेवा प्रदायक र सञ्चारकर्मी सबैबीच प्रतिबद्धताको विकास साथै ठोस कदम चाल्ने वातावरण निर्माण गर्नेछ। हजारौ छोराछोरीहरूले देख्न चाहेको परिवर्तन र ठूला सपना सहजीकरण गर्नुपर्ने देखिन्छ। यही नै परिवर्तनको ऊर्जा र प्रेरणाको स्रोत पनि हुनेछ।

-लेखकरू ‘छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान’का अभियन्ता हुन् । 

 

Leave a comment

Your email address will not be published.


*