20 February 2018|   मङ्लबार, फाल्गुन ८, २०७४

एक रुपैयाँ (लघुकथा)

          |   प्रकाशित मितिः आइतवार, पुस ९, २०७४     4:34:11 PM  | 77 पटक पढिएको   |  

एक रुपैयाँ (लघुकथा)

म हिँडदै थिएँ, बजारको पेटीबाट ।

आफ्नै काममा व्यस्त रक्सी पसले आफ्नो पसल अघिल्तिर कोही हिँडेको चाल पाएर अलिक सतर्क भयो । अनि मलाई देख्नासाथ आशालाग्दो भावभङ्गीले मैले उसको पसल क्रस नगरुन्जेलसम्म मलाई हेरिरह्यो र मनमनै कामना गर्यो – यसले एक बोतल रक्सी किने हुन्थ्यो नि !

अलिपर पुगेपछि मासु पसलेले मतर्फ हेर्यो । चुपचाप फुर्सदिलो देखिने मासुपसले ठिङ्ग उभिरहेको थियो । आशा गर्यो, दुईचार किलो मासु किनेर बोहनी गरे पनि हुन्थ्यो नि !

मैले बाटो काटेँ । पारिपट्टि पुग्नासाथ औषधी पसल आइहाल्यो ।
औषधि पसलेले मलाई हेर्यो र मनमनै इच्छा प्रकट गर्यो , यो बिरामी भएर महङ्गो परीक्षण र उपचार गरे हुन्थ्यो नि !

अलिपर पुगेँ । एउटा कानुृनी केन्द्रमा दुई जना मान्छे टेबलमा उपरखुट्टी लगाएर बसिरहेका थिए ।
एउटाचाहिँले मतिर हेरेर आशा गर्यो , यसलाई ठूलो मुद्दा लागेर म कहाँ आए पनि हुन्थ्यो नि !

म बाँयातर्फ लागेँ ।
ओठबाट करिब कानसम्म लिपिस्टिक लगाएकी उसले मलाई हेरेर कल्पना गरी, यसको तपस्या भङ्ग गरेर गर्जो टार्न पाए पनि हुन्थ्यो नि !

म दाँयातर्फ मोडिएँ ।
मैलो स्यान्डो गन्जीमा भुँडी कन्याइरहेको होटेलवाला साहुले मलाई हेरेर इच्छा प्रकट गर्यो , यसले मेरो होटेलमा टन्न मासु र भात खाए पनि हुन्थ्यो नि !

दुई दिनदेखि भोको मेरो शरीर रोमाञ्चित भयो, पुलकित भयो र तत्काल दुर्घटनाग्रस्त भयो किनकी मसंग एक रुपियाँ पनि थिएन ।

-चर्चित साहित्यकार डाक्टर रवीन्द्र समीर साहित्यका अधिकांश विद्यामा कलम चलाए पनि विशेष गरेर उनी लघुकथामा कलम चलाउँछन् । उनका एक दर्जन भन्दा बढी साहित्यिक रचना प्रकाशन भैसकेका छन् ।

Leave a comment

Your email address will not be published.


*