21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

आक्रमण किन बढ्दैछ उम्मेदवार माथि, के गर्दैछ सुरक्षा निकाय ?

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४     2:57:32 PM  | 36 पटक पढिएको   |  

काठमाडौं – मंगलबार बिहानै नेकपा एमाले भोजपुरका प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित गरी ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा बम प्रहार भयो । बम प्रहारबाट उनी चढेको गाडीमा क्षति पुगे पनि उनी सकुसल रहे । उनका अंगरक्षक भने घाइते भए । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले घटना कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

राई मात्र होइन विगत केही दिनदेखि उम्मेदवारहरु आक्रमणको निसानमा पर्दै आएका छन् । तर सुरक्षा निकायले भने कसले घटना गराएको भन्ने अझै पत्ता लगाउन सकेको छैन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नै घटना गराएको अनुमान मात्र प्रहरीसँग छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपाने चुनावी सुरक्षा कडा भए पनि प्रहरीको उपस्थिति नभएको मौकामा आक्रमणको प्रयास भएको बताउँछन् ।

गृहमन्त्री जनार्दन शर्मालाई बिना विभागीय मन्त्री बनाएपछि गृह मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग छ । त्यसोत पूर्व गृहमन्त्री शर्मा पनि आक्रमणकारीको निसानमा परिसकेका छन् । शर्मामाथि चुनावी प्रचार प्रसार सकेर फर्किने क्रममा रुकुमको चौरजहारी नगरपालिका –८ को गोइरीमा २ वटा बम प्रहार भएको थियो ।

रेडबुलको बट्टामा पिठो लगायतका घरेलु सामग्री प्रयोग गरी तर्साउन खोजिएको प्रहरीको दाबी छ । शर्मामाथि आक्रमण भएको २४ घण्टा नबित्दै रोल्पामा माओवादी नेता वर्षमान पुनको गाडीलाई लक्षित गरी माइन बिस्फोट गराइयो ।

गृह मन्त्रालयले निर्वाचन सुरक्षा रणनीति लागू गरिसकेको छ । सरकारले देशभर नै निर्वाचका लागि भन्दै ९८ हजार म्यादीसहित २ लाख ७२ हजार सुरक्षाकर्मी परिचालन गरेपनि केही दिन यता हेभिवेट नेतामाथि आक्रमण भइरहेको छ ।

निर्वाचन आयोगले सरकारलाई पटकपटक नेताहरुको सुरक्षामा ध्यान दिन आग्रह गरिरहेको छ । दलहरुबीचको धुब्रीकरण र हेभिवेटका नेता भएकाले चुनावी सुरक्षा चुनौती थपिएको निर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह बताउँछन् ।

Leave a comment

Your email address will not be published.


*