21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

यो पटक चार पूर्व सभामुख चुनावी प्रतिस्पर्धामा, कसको स्थिति के छ ?

          |   प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०७४     11:23:11 AM  | 75 पटक पढिएको   |  

काठमाण्डौं – आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् । नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । उनी विसं २०१५ सालको निर्वाचनपछिको संसद्मा सभामुख थिए ।

जीवित रहेका पाँच जना पूर्व सभामुखमध्ये तारानाथ रानाभाटबाहेक चार जनाले फेरि संसद्मा जाने चाहनासहित उम्मेदवार बनेको छन् । तीमध्ये तीन जना प्रत्यक्ष र एक जना समानुपातिक उम्मेदवार छन् ।

विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालको प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गानाले २३ वर्षपछि फेरि संसद्मा पुग्न प्रतिस्पर्धा गर्दै छन् ।

काठमाडौँको बत्तीसपुतलीका वासिन्दा ढुङ्गाना भक्तपुरको क्षेत्र नम्बर –२, बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका हुन् । यसबीचमा उनी शान्ति, मानव अधिकार र सङ्क्रमणकालीन न्यायको क्षेत्रमा लागेका थिए ।

प्रतिस्पर्धा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाल) का उम्मेदवार पूर्वमन्त्री महेश बस्नेतसँग ढुङ्गानाको हुँदैछ । नेपाल मजदुर किसान पार्टीका निवर्तमान सांसद् अनुराधा थापासमेत गरी १३ जना उम्मेदवार सो क्षेत्रमा उम्मेदवार छन् । ढुङ्गानापछिका सभामुख रामचन्द्र पौडेल तनहुँ –१, बाट नेपाली काँग्रेसको उम्मेदवार बनेका छन् उनी २०४८ देखिका सबै संसदीय तथा संविधान सभाका दुवै निर्वाचनमा जित हासिल गर्दै हुन् ।

उनको मुख्य प्रतिस्पर्धा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग हुने देखिएको छ । पौडेल विरुद्ध वागी उम्मेदवारी दिएका नेपाली काँग्रेसकै पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिसकेको छ । यसले पौडेललाई निर्वाचन अलि सहज बनाइदिएको भए पनि सो क्षेत्रमा अरू नौ जना उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

पौडेलपछिका सभामुख तारानाथ रानाभाट भने प्रतिस्पर्धामा छैनन् । रानाभाटपछि दुई कार्यकाल सभामुख रहेका सुवास नेम्वाङ इलाम –२, बाट वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार बनेका छन् । उनका प्रमुख प्रतिस्पर्धीमा नेपाली काँग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री केशव थापा छन् । उनीहरूसँगै अन्य १० जना प्रतिस्पर्धी छन् ।

निवर्तमान सभामुख ओनसरी घर्तीमगर पनि प्रतिनिधिसभामा पुनः आउन उम्मेदवार बनेकी छन्। तर, अन्य पूर्व सभामुखभन्दा भिन्न उनी समानुपातिक सूचीबाट उम्मेदवार बनेकी छन् । नेकपा माओवादी (केन्द्र) ले उनलाई समानुपातिक सूचीमा राखेको छ ।

Leave a comment

Your email address will not be published.


*