25 November 2017|   शनिबार, मंसिर ९, २०७४

अस्थायी शिक्षकको स्थायी हुने प्रक्रिया सुरुः पास भए जागिर, फेल भए आर्थिक सुविधा

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०७४     11:21:13 AM  | 77 पटक पढिएको   |  

काठमाडौँ – शिक्षक सेवा आयोगले २६ हजारभन्दा बढी अस्थायी शिक्षकको स्थायी गर्ने प्रक्रिया सुरु गरेको छ । आन्तरिक प्रतिस्पर्धाका आधारमा अस्थायी शिक्षकलाई स्थायीको प्रक्रिया सुरु गरिएको हो । निकै विवादित बनेको शिक्षा ऐन नवौँ संशोधनले अस्थायी शिक्षकलाई न्युनतम ४० अंक ल्याई पास भएमा जागिर सुनिश्चित गरेको छ । फेल भएमा आर्थिक सुविधा पाउँनेछन् ।

शिक्षा ऐन आठौँ संशोधनले अस्थायी शिक्षकको स्थायी प्रक्रिया सुरु गरे पनि शिक्षकहरुकै विरोधका कारण परीक्षा हुन सकेको थिएन । आन्दोलनले फेल हुने शिक्षकलाई समेत आर्थिक सुविधा दिने गरी सरकारलाई गलाउन सफल भएपछि ऐन एक वर्षमै संशोधन भएको थियो । संशोधित ऐन प्रमाणीकरण भएपछि आयोगले स्थायीको प्रक्रिया अघि बढाएको हो ।

आयोगले २०७३ चैत १९ गतेको सूचनाअनुसार नै परीक्षाका मापदण्ड तोकेको छ । शिक्षा ऐन आठौँ संशोधनपछि आयोगले सूचना प्रकाशित गरी २०७३ असार २३ मा परीक्षा तोकेको थियो । ऐनले अस्थायी शिक्षकलाई परीक्षामा सामेल वा आर्थिक सुविधा रोज्ने विकल्प दिएको थियो । तर, नयाँ संशोधनले परीक्षामा असफल भए पनि आर्थिक सुविधा पाउने व्यवस्था गरेको छ ।

असार २३ गते तय भएको परीक्षाका लागि २६ हजार १५१ अस्थायी शिक्षकमध्ये १५ हजार ६९० ले आन्तरिक प्रतिस्पर्धामा जाने इच्छा देखाएका थिए । आन्तरिकतर्फ १९ हजार २६५ को कोटा थियो। तर, असफलताको डरले कोटाभन्दा पनि कम प्रतिस्पर्धी भएका थिए ।

असारमा तय भएको परीक्षा शिक्षककै आन्दोलनका कारण दुई पटक रोकिएको थियो । भदौ ३ र १० गतेको परीक्षा पनि रोकिएको थियो ।

शिक्षा ऐन नवौँ संशोधनले आन्तरिकतर्फ आन्तरिक ६० प्रतिशत र खुलामा ४० प्रतिशत कोटा निर्धारण गरेको छ ।

२०४९ पुस २० गतेदेखि २०७३ असार १५ गतेसम्म अस्थायी नियुक्ति पाएका शिक्षक परीक्षामा सामेल हुन पाउनेछन्। लिखित परीक्षाका कार्यक्रम पूर्ववत तोकिएअनुसार हुनेछ । परीक्षामा सामेल भई फेल भएका शिक्षकले पनि आर्थिक सुविधा पाउँनेछन् ।

Leave a comment

Your email address will not be published.


*