25 November 2017|   शनिबार, मंसिर ९, २०७४

समाजले छुट्याएपछि दाङमा एक बाल दम्पतीले आत्महत्या गरे

          |   प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४     8:58:54 AM  | 71 पटक पढिएको   |  

दाङ – बाल विवाह गर्न लागेको भन्दै समाज र सरोकारवालाले अवरोध गरेपछि दाङका एक बाल दम्पत्तिले आत्महत्या गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुर निवासी १६ वर्षीय प्रभास (विशाल) बिक र १५ वर्षीया वसन्ती बिकले विछोडको पीडामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

चैतमा विशालले भगाएर बसन्तीलाई आफ्नो घरमा ल्याएका थिए । चैतमा विवाह गर्नु हुँदैन भनेपछि वैशाखमा विवाह गर्ने तयारीका साथ उनीहरू दम्पत्तिकै रूपमा विशालको घरमा २० दिनसँगै बसेका थिए ।

विशालका अभिभावले पनि छोराको विहेको तयारी गरेका थिए । विवाहका लागि आवश्यक लत्ता कपडा र गरगहना पनि खरिद गरिसकेका थिए ।

तर, स्थानीय सरोकारवाला संस्थाले उनीहरूको विवालाई बालविवाह भन्दै विवाह गर्न दिएन । बसन्ती कक्षा ८ मा अध्यनरत थिइन भने विशाल १० कक्षामा अध्यनरत थिए ।

समाजका अगुवा र बालअधिकारकर्मीले उनीहरूलाई पहिले पढाई पुरा गरेर मात्र विवाहको सल्लाह दिएका थिए । अन्यथा विहे हुन नसक्ने बताए । उनीहरू दुबै छुट्टिएर नबस्ने भने पनि समाजका अगाडि बाध्य भएर बसन्तीलाई उनको माइती घर पठाइयो । तर, त्यही बीचमा बसन्तीले छुट्टिएर एक्लै बस्नु पर्दाको पीडा खेप्न नसकेर गत असोज ७ गते माइती घरमै झुन्डिएर आत्महत्या गरिन् ।

बसन्तीले आत्महत्या गरेपछि यता विशाल पनि विछिप्त बने । त्यही कारण आइतबार विहान आफ्नै घरको शौचालयमा झुन्डिएर उनले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

परिवारका एक्ला छोरा विशालको मृत्युपछि उनका अभिभावक वेहोस छन् । ‘विवाहवारी २० पारी’ भन्ने मान्यता स्थापित गर्न वालवालिकाको क्षेत्रमा कार्यरत सरोकारवालाहरू र सरकारले पछिल्लो समय बालविवाहमा प्रतिबन्ध लगाउँदै आएको छ ।

Leave a comment

Your email address will not be published.


*