24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

कहिलेसम्म रुकुम ‘डोमिनेट’ जाजरकोट ?

        राजेन्द्र कार्की   |   प्रकाशित मितिः आइतवार, कार्तिक १९, २०७४     4:15:27 PM  | 408 पटक पढिएको   |  

पञ्चायतकालमा बनेको चौरजहारी एयरपोर्ट जाजरकोटका तत्कालिन नेतृत्वको अदुरदर्शी निर्णयको उपज हो । जाजरकोटमा बन्नुपर्ने एयरपोर्ट चौरजहारीमा बनाईएपछि जिल्लावासी हवाई जहाज चढ्न सदरमुकाम खलंगाबाट तीन/चार घण्टा पैदल हिडेर रुकुमको चौरजहारी जानु पर्ने बाध्यता आईलाग्यो ।

नेतृत्वले चाहेको भए सदरमुकाम आसपासमै एयरपोर्ट बनाउन सकिने प्रसस्त ठाउँ थिए । त्यस्तै जिल्ला सदरमुकाम नजिकै लघु जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादन गर्न सकिने प्रसस्त संंभावना हुँदा हुँदै लामो समय रुकुमकै विजेश्वरी हाईड्रोपावरको विजुलीमा निर्भर हुन पुग्यौ । तत्कालिन क्याम्पस प्रमुख गोपाल आर.सीको पहलमा जिल्लामै साङ्टारिसाङ्ग जलविद्युत आयोजना निर्माण गरिएपछि आफैले उत्पादन गरेको विद्युत हामी खलंगावासीले उपभोग गरिरहेका छौ । गरे हुँदो रहेछ भन्ने यो एउटा उदाहरण हो ।

जिल्ला सदरमुकाम खलंगा सम्म गाडी नआईपुग्दा सम्म हामी पुर्ण रुपमा चौरजहारीमा निर्भर थियौ । चाहे त्यो ब्यापारको दृष्टिकोणले होस वा हवाई जहाज चढ्न र विजुली बाल्नका लागी होस । अवको केही दशकपछि पुन जाजरकोटलाई चौरजहारीकै बजारमा निर्भर हुने गरि योजना बुनिदै गएको देखिन्छ तर हाम्रो नेतृत्व वेखवर जस्तै देखिन्छ । मध्यपहाडी राजमार्गमा पर्ने देशभरका १० शहर मध्यको एक चौरजहारी पर्छ ।

सरकारले परिकल्पना गरे अनुसारको यो शहरमा सवै पुर्वाधार विकास भयो भने सवै भन्दा नजिकको शहर चौरजहारी नगई जाजरकोटवासीलाई धरै छैन । मध्यपहाडी राजमार्गले छोएका स्थानको स्वभाविक रुपमा विकास द्रुत गतिमा हुने कुरामा शंका छैन । विकासको दृष्ट्रिकोणले दुरगामी अर्थ राख्ने मध्यपहाडी पुष्पलाल लोकमार्गले जाजरकोट सदरमुकाम खलंगालाई छुन सकेन अझै भनौ खलंगा भएर लिने प्रयत्न नै गरिएन ।

शुरुमा कालिमाटी डाँडागाउँ पाँचकाटिया मछाईना हुँदै पश्चिम जोड्ने गरि सर्भे गरिएको थियो तर पछि माओवादीका नेता जनार्दन शर्माको दवावमा चौरजहारी पुरयाईयो । प्राविधिक दृष्टिकोणले रुकुमकोटबाट सिधै जाजरकोट तर्फ आउनु पर्ने सडक जनार्दनकै इन्ट्रेष्टमा रुकुमका तीन ओटै महत्वपुर्ण स्थल रुकुमकोट, मुसिकोट र चौरजहारी छुवाएर मध्यपहाडी लोकमार्गको रेखांकन सहित निर्माण गरियो । जाजरकोटी नेताहरु हेरेको हेर्यै भए । दम र हिम्मत भएको भए शुरुमा गरेको सर्भे अनुसार नै सडक लिन सक्नु पथ्र्यो । त्यो पनि गर्न नसके कम्तिमा रिम्ना तारेर सदरमुकाम छुवाएर लिने कुरामा अडान लिनु पथ्र्यो । त्योे कुनै पहल हुन सकेन । हाम्रो नेतृत्व रुकुमेली नेताको छायामा पर्यो । यो दुखद हो ।

हिजो पञ्चायतकालमा हाम्रा नेता तेजविक्रम शाह, दीपबहादुर सिह, भक्तबहादुर कार्की, तप्तबहादुर कार्कीहरु रुकुमका धुव्रविक्रम शाह, लोकेन्द्र शाह, गोपाल जी जंग शाह लगायतका नेताका छायामा परे । गणतन्त्र आईसकेपछि जाजरकोटबाट विजयी भएका शक्ति बस्नेत, कालिबहादुर मल्ल, भक्तबहादुर शाह, र राजिव विक्रम शाहहरु रुकुमकै जनार्दन शर्माको छायामा परे ।

अझ अर्को कुरा पनि के हुँदैछ भने जाजरकोट डोल्पा सडक अर्थात भारतको रुपैडिहा देखि चीनको मरिम धोे जोड्ने उत्तर दक्षिण भेरीकरीडोर पनि रुकुम भएर लिने प्रयत्न भैरहेको छ । नेता शर्माको योजना अनुसार राडीजिउला नजिक ठुली भेरी र रिम्ना स्थित रानीभेरीमा पुल हालेपछि डोल्पा सडकलाई मध्यपहाडी लोकमार्गमा जोड्ने र चौरजहारी हुँदै सल्लीवजार जोेड्ने योजना छ । यसो हुँदा फेरी पनि जाजरकोट सदरमुकाम खलंगा ओझेलमा पर्ने निश्चित छ । केही नेताहरुकै निर्देशनमा सदरमुकामलाई ओझेलमा पार्ने गरि जाजरकोट डोल्पा सडकलाई पासागाडबाटै कालेगाँउ तर्फ सडक खनिसकिएको छ । अर्को कुरा नलसिंहगाड आयोेजनालाई कम्पनी मोडेलमा लैैजाने निर्णय पनि जनार्दन शर्मा उर्जा मन्त्री भएको बेला गरे ।

आयोजना विकास समितिबाट बनाउने गरि काम अघि बढी रहेको बेला जलमाफियाको डिजाईनमा यो हाईड्रोपावरलाई कम्पनी मोेडेलमा लैजाने निर्णय गरियो । योे आयोजना समयमै बन्नेमा ढुक्क हुने अवस्था छैन । केन्द्रिय विद्युत प्रशारण लाइनको विजुली चौरजहारीवासीले ८ महिना अघि नै बाली सके तर जाजरकोट खलंगावासीले कहिले सम्म बाल्न पाउने हुन् केही टुङ्गो छैन ।

जिल्लाका जनप्रतिनिधी र सिहदरवार सँग पहुँच भएका भनिएकाले यी कुराहरुको जिम्मेवारी लिने कि नलिने ? । हामी कहिले सम्म रुकुम डोमिनेट भएर बस्ने ? । कुनै पनि जिल्लाको सदरमुकाममा पहिलो पटक पुगेको ब्यक्तिले त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक र भौतिक विकासको अवस्थालाई आँकलन गरेर समग्र जिल्ला र जिल्लावासी वारे धारण बनाउँछ । त्यस्ता कुराले जिल्लाको विकासमा दुरगामी प्रभाव पार्ने गर्दछन् । तर हाम्रो नेतृत्वले यस तर्फ कहिल्यै ध्यान दिएन ।

अहिले पनि जिल्ला सदरमुकामको अवस्था वारे हामी कोही पनि अनभिज्ञ छैनौ । एक पार्टीले अर्को पार्टीको उछितो काढ्नमै समय ब्यतित भयो । विकास निर्माणका कुरामा कहिल्यै एकमत देखिएन । चुनाव आएको छ नेतागणहरु नागरिकको घरदैलोमा छन् । यतिवेला नै हो, यस्ता कुराहरुको समिक्षा गर्ने , नेतालाई जिम्मेवार, जवाफदेही र जनउत्तरदायी बनाउने ।

एकै भौगोलिक अवस्था र उस्तै सामाजिक परिवेश भएका छिमेकी रुकुम, सल्यान, दैलेख लगायतका जिल्ला समग्र विकासको दृष्टिकोणले कम्तिमा १० बर्ष अघि छन् । अहिले पनि हाम्रा नेता गंभिर भएनन् र हामीले सही नेतृत्व छनौट गर्न सकेनौ भने हामी कहिले सम्म डोमिनेट भएर बस्ने ? सोच्ने बेला यही हो ।

-लेखकः राजेन्द्र कार्की नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, एवं अन्नपूर्ण मिडिया नेटवर्कमा कार्यरत छन् ।

Leave a comment

Your email address will not be published.


*