25 November 2017|   शनिबार, मंसिर ९, २०७४

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०७४     9:04:57 PM  | 58 पटक पढिएको   |  

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइयो । नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटाको प्रतिमास्थलमा माल्यार्पण गरी साहित्यकारलाई सम्मान गरेको छ ।  तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशुकविको क्षमतासमेत थियो ।

देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।  चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल एवम् नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो ।

विसं १९६६ कात्तिक २७ गते काठमाडौँको डिल्लीबजारमा जन्मेका देवकोटाको तिथि अनुसार कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन भएकाले उनको नाम लक्ष्मीप्रसाद राखिए पनि उनी सरस्वतीको प्रसाद बन्न पुगे ।  दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।  नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका कृतिमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचार प्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिएका छन ।

वि.सं. २०१६ मा आफू शिक्षा तथा स्वायत्तशासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्न–गराउन र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।

Leave a comment

Your email address will not be published.


*