25 November 2017|   शनिबार, मंसिर ९, २०७४

यो वर्षका नोबेल पुरस्कार विजेता यस्ता छन्

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०७४     3:50:38 PM  | 90 पटक पढिएको   |  

एजेन्सी – नोबेल पुरस्कारलाई विश्वकै प्रतिष्ठित पुरस्कारको रुपमा लिइन्छ । धेरै मानिसको मनमा जिज्ञासा उठ्न सक्छ, कसले र कहिले यो पुरस्कारको स्थापना गरे भनेर । यो पुरस्कार स्वीडिस आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ मा स्थापना गरेका हुन् । सुरुमा यो पुरस्कार १९०१ मा रसायनसास्त्र, साहित्य, शान्ति र चिकित्सा विज्ञानको क्षेत्रमा विशिष्ट योगदान गर्ने मानिसलाई दिइएको थियो । स्वीडिस रसायनशास्त्री र इन्जिनियरले नोबेल पुरस्कारको स्थापनाका लागि आफ्नो इच्छामा ९० लाख डलरको स्थापना गरेका थिए । यो पुरस्कार शान्ति, साहित्य, भौतिक शास्त्र, रसायन शास्त्र, चिकित्साशास्त्र र अर्थशास्त्रको क्षेत्रमा विशिष्ट योगदान गर्ने मानिसलाई दिइँदै आएको छ । यो वर्षको नोबल पुरस्कार विभिन्न विधामा देहाय बमोजिमका व्यक्तिहरूलाई प्रदान गरिएको छ ।

चिकित्साशास्त्र

सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउँछ भन्ने बारेको अनुुसन्धान गरेबापत यो पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

मानिसको शरीरले पनि बिहान घाम उदाउँदा, दिउँसो र साँझ अथवा घाम अस्ताउँदा के कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा उनीहरूको अनुसन्धान केन्द्रित रहेको थियो ।  तीन जना अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार विजेताका रूपमा घोषणा गरिएको उक्त समितिले जनाएको छ ।

वैज्ञानिकहरू जेफरी सिहल, माइकल रोजब्यास र माइकल डब्ल्यु याङ्ले ‘सकार्डियन रिदम’ बारे गहन अनुसन्धान गरेका थिए । उनीहरूको यो संयुक्त अनुसन्धानका लागि यस पुरस्कार पनि संयुक्त रुपमा दिइएको छ ।  ‘सकार्डियन रिदम’ भनेको मानव शरीरले काम गर्ने वा प्रतिक्रिया दिने एक प्रक्रियागत विधा हो । यसबाट मानव स्वास्थ्यमा सुधार र यस विषयमा आगामी दिनमा गरिने अनुसन्धानका लागि ठूलो योगदान दिने नोबेल पुरस्कार समितिले जनाएको छ ।

उनीहरूको अनुसन्धानअनुसार मानव शरीरले समयअनुसार आफ्नै घडी (बायोलोजिकल क्लक) का आधारमा चल्ने गर्दछ । यसैका कारण राति मानिसलाई निद्रा लाग्छ भने बिहानीको समयको पनि शरीरको घडीले नै जानकारी दिन्छ र निद्राले छोड्छ ।  यस बायोलोजिकल क्लकले मानिसको मनको भाव (मुड), तापक्रम र विभिन्न हर्मोनहरूको अवस्थाको बारेमा पनि निर्धारण गर्ने गर्छ ।

पुरस्कार छनोटसम्बन्धी नोबेल समितिका सदस्य जुलिन जिराथले स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा भने, “यस चिकित्साशास्त्रतर्फको यस वर्षको यो अनुसन्धान महत्वपूर्ण हो । यस अनुसन्धान र ती वैज्ञानिकहरू नोबेल पुरस्कार प्राप्त गर्न योग्य छन् ।”

यस अनुसन्धानबाट मानिस निकै टाढाको यात्रामा रहेका बेला पनि एक महादेशदेखि अर्काे महादेशमा जाँदा समयमा पर्ने फरक र परिवर्तित समयका कारण शरीरले थाहा पाउने चाललाई यसले सहज बनाउने छ ।  त्यस्तै जहाजको लामो यात्राका क्रममा पनि शरीरलाई ‘जेट ल्याग’ हुने जस्ता शारीरिक प्रतिक्रियाको मापनमा पनि यो अनुसन्धानले सहयोग गर्ने र यसले मानवको स्वास्थ्य समृद्धिमा सहयोगी सिद्ध हुने पनि जिराथले जानकारी दिए ।

यो शारीरिक चाल मानिसमा मात्र नभएर बोटबिरुवा, प्राणी तथा अन्य जैविक वस्तुहरूमा पनि देखिने गरेको उनीहरूको अनुसन्धानबाट पत्ता लागेको उल्लेख छ । यो पुरस्कारको राशी ११ लाख अमेरिकी डलर छ ।

भौतिकशास्त्र

सन् २०१७ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकत्रय रेनर विस, बारी सि बारिस र किप एस थोर्नलाई दिइने घोषणा ‘रोयल एकेडेमी अफ साइन्सेस इन स्टकहोम’ले गरेकोे छ । म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका विसले आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका बारिस र थोर्नले अर्को आधा पुरस्कार संयुक्त रूपमा दिइएको नोबेल पुरस्कारको भौतिकशास्त्रतर्फ निर्णायक समितिले जनाएको छ ।

पुरस्कार गुरुत्वाकर्षण तरंगसम्बन्धी अध्ययन गर्ने लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल–वेभ अब्जरभेटरी (लिगो) डिटेक्टर नामक उपकरण निर्माणका लागि निर्णायक भूमिका खेलेवापत प्रदान गरिएको हो ।

उनीहरूलाई विश्वास गरिँदै आएको गुरुत्वाकर्षण तरंगलाई पहिलो पटक पत्ता लगाउन गरेको भूमिकाका लागि पुरस्कार दिइएको हो । “यससँगै अहिलेसम्म पहिचान नभएको संसारलाई पत्ता लगाउन बाटो खुलेको छ । यो गुरुत्वाकर्षण तरंगसम्बन्धी खगोलशास्त्रमा नयाँ बिहानी मानिएको छ,” पुरस्कार चयन समितिका एक सदस्य ओल्गा बोटनरले जनाए ।

पुरस्कार घोषणापछि गरिएको टेलिफोन वार्तामा विसले भने, “पुरस्कार प्राप्त गर्दा आफूलाई आनन्दको अनुभूति भएको छ ।” उनले गुरुत्वाकर्षण तरंगलाई लिएर गरेको योगदान दशकौंदेखिको भएको भन्दै वैज्ञानिकहरूको प्रशंसा समेत गरेका छन् ।”

विसले थपे, “साँच्चै म साहै्र प्रफुल्ल छु । यो अचम्मको अनुभव हो ।” यससँगै संसार बुझ्नका लागि नयाँ वैज्ञानिक बाटो तय भएको छ ।

रसायनशास्त्र

यस वर्षको रसायन शास्त्र विधातर्फको नोबेल पुरस्कारबाट तीन जना वैज्ञानिक सम्मानित भएका छन् । रसायन शास्त्र विधामा निरन्तर अनुसन्धान र नवीन आविष्कारमा समर्पित तीन जना वैज्ञानिकहरू – जाकेस डुबोसेट, जोएसिम फ्र्यांक र रिचार्ड हेन्डर्सनलाई संयुक्त रुपमा नोबेल केमिस्ट्रि प्राइजबाट पुरस्कृत गरिएको हो । यस पुरस्कारको धनराशि ९० लाख स्विडिस क्रोनर (करिब ११ लाख अमेरिकी डलर) बराबर रहेको जनाइएको छ ।

शरीरका अति सूक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरूका गतिविधि अवलोकन गर्ने (इमेजिङ्ग टाइनि एण्ड फ्रोजन मोलिक्युल्स) अत्याधुनिक प्रविधियुक्त नवीनतम वैज्ञानिक उपकरणः क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपिको आविष्कार र निर्माण गरे बापत उनीहरूलाई नोबेल केमिस्ट्रि पुरस्कार प्रदान गरिएको हो ।

क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपी विधिलाई अति सरल र उच्च प्रभावकारी प्रविधि ठह¥याउँदै नोबेल केमिस्ट्री कमिटीले कूल मेथडू भन्ने संज्ञा दिएको छ । यस नवीनतम प्रविधिको प्रयोगबाट अबदेखि विद्युतीय प्रकाश (इलेक्ट्रोन बिम) को सहायताले शरीरमा अति सुक्ष्म र जमेका जीवाणु बसेका कोषिकाको फोटो खिच्न अनुसन्धानकर्ताहरूलाई सहज हुने पनि नोबेल केमिस्ट्रि कमिटीले जनाएको छ ।

यस प्रविधिले शरीरको कोषकामा रहेका हानिकारक भाइरस, प्रोटिन लगायत अति सूक्ष्म जिवाणु र तत्वहरूको विस्तृत नालीबेली ज्ञात गराउन सहयोग पुग्नेछ । साथै, यसै प्रविधिले अब जिका भाइरस बाट उत्पन्न कठिन रोगहरूको औषधी, उपचार, नियन्त्रण तथा रोकथाम गर्ने विश्वास नोबेल केमिस्ट्रि कमिटीले जनाएको छ ।

शान्ति 

सन् २०१७ को नोबेल शान्ति पुरस्कार परमाणु हतियार निर्मुल पार्न पहल गर्दै आएको अन्तर्राष्ट्रिय समूह (आइक्यान) लाई प्रदान गरिएको नर्वेली नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ ।

“आइक्यानले आणविक हतियार मानवीय विनासको कारक बन्न सक्नेतर्फ ध्यान केन्द्रित गर्दै यसखालका हतियार प्रयोग तथा निर्माणमा रोक लगाउन गरेको प्रयास नै पुरस्कारका लागि आधार बनेको छ,” नोबेल समितिकी अध्यक्ष बेरिट राइस एण्डरसनले बताए ।

उनले परमाणु अस्त्र भएका राष्ट्रले आफ्ना हतियारलाई विस्तारै हटाउनका लागि वार्ताको पहल गर्न आह्वान समेत गरेका छन् । नोबेल समितिले विश्वमा बनिरहेका परमाणु अस्त्रको प्रयोगको सम्भावना वर्षौं यताको तुलनामा सबभन्दा उच्च रहेको बताएको छ ।

यसै वर्षको जुलाईमा विश्वका १ सय २२ राष्ट्रहरूले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्दै निर्मूल पार्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए ।

यद्यपि बेलायत र अमेरिकासहितका विश्वका नौ वटा परमाणु शक्ति सम्पन्न राष्ट्रहरूमध्ये कसैले पनि त्यसमा हस्ताक्षर गरेनन् ।
सयौं गैरसरकारी संस्थाहरू सम्मिलित आइक्यान १० वर्ष पुरानो संस्था हो र यसको मुख्यालय स्वीटजरल्याण्डको जेनेभामा रहेको छ ।
११ लाख डलर सहितको पुरस्कार आगामी डिसेम्बरमा हुने एक कार्यक्रमबीच प्रदान गरिनेछ ।

साहित्य 

जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनोट गर्ने स्वीडिस एकेडेमीले जनाएको छ ।

पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको उल्लेख गरेका छन् ।

सन् १९८२ मा ‘अ पेल भ्यू अफ हिल्स’ नामक पुस्तकबाट पूर्णकालिन लेखन शुरु गरेका साहित्यकार इसिगुरोका कृतिमा स्मृति, समय र स्वैरकल्पनासम्बन्धित विषयवस्तु रहने गरेको पाइन्छ । पुरस्कार छनौट समितिले इसिगुरोका लेखनमा शान्त अभिव्यक्ति तथा सांगितिक प्रभाव रहेको पाइन्छ ।

सन् १९५४ को नोभेम्बर ८ मा जापानको नागासाकी शहरमा जन्मेका इसिगुरो पाँच वर्षको उमेरमा परिवारसहित बेलायतको आप्रवासनमा गएका थिए । त्यहाँबाट उनले अंग्रेजी तथा दर्शनशास्त्रमा केन्ट विश्वविद्यालयबाट स्नातक गरे ।

उनका सबैभन्दा चर्चित उपन्यासहरू ‘द रिमेन्स अफ द डे’ र ‘नेभर लेट मि गो’ मा आधारित रहेर चलचित्र बनाइएका छन् । ६२ वर्षीय लेखकले आफू नोबेल पुरस्कार विजेता घोषित हुँदा अत्यन्तै खुशी बनेकोे बताएका छन् । उनले जम्मा आठवटा पुस्तक लेखेका छन् ।

इस्ट एङलिया विश्वविधालयमा सृजनात्मक लेखनको अध्ययन गरेका उनले ११ लाख अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

अर्थशास्त्र

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचार्ड थेलरलाई दिने घोषणा गरिएको छ । उनी ‘बिह्याभियोरल इकोनोमिक्स’का संस्थापकमध्येका एक हुन् । उनी शिकागो बुथ युनिभर्सिटीका प्राध्यापक, विश्वव्यापी रुपमा सर्वाधिक बिक्री भएको नजका सहलेखक पनि हुन् । नजले मानिसले कसरी खराब छनौट गर्छ भन्ने बारेमा जानकारी गराएको छ । यो पुस्तकले ‘नज थ्योरी’ले मानिसलाई राम्रो निर्णय लिनका लागि कसरी सहयोग गर्छ भन्ने बारेमा जानकारी गराएको छ ।

थेलरको कामले अर्थशास्त्रको मनोविज्ञान बुझ्नका लागि उनको कामले योगदान गरेको नोबेल पुरस्कार समितीले जनाएको छ । प्राध्यापक थेलरले यो पुरस्कारबापत ९० लाख स्वीडिस क्रोनर अर्थात ११ लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । “यो रकमलाई सम्भव भएसम्म बिना सोच पूर्व खर्च गर्ने प्रयास गर्ने छु,” ७२ वर्षिय अर्थशास्त्रीले बताए । रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसका निर्णयकर्तामध्येका एक पर स्ट्रोमबर्गले उनको कामले मानव मनोविज्ञानले आर्थिक निर्णयमा कसरी प्रभाव पार्छ भन्ने योगदान गरेको बताएका छन् ।

रिचार्ड थेलरको उपलव्धीले अन्य अनुसन्धानकर्तालाई पनि प्रेरित गरेको स्ट्रोमबर्गले बताए । उनको उपलव्धीले ‘बिह्याभियोरल इकोनोमिक्स’ भनिने अर्थशास्त्रको नयाँ क्षेत्रका लागि मार्ग प्रसस्त गरेको उनले बताए ।
(अनुवाद ः समिर रेग्मी )

नोबेल पुरस्कार दिलाउने जैविक घडी


अमेरिकाका तीनजना वैज्ञानिकहरुले सन् २०१७ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । यी वैज्ञानिकहरुले मानिसको शरीरको जैविक घडी अर्थात् बडी क्लकले कसरी काम गर्दछ भन्ने विषयमा अनुसन्धान गरेबापत नोबेल पुरस्कार पाएका हुन् ।

जैविक घडीकै कारणले हामीलाई रातमा निद्रा लाग्दछ । जैविक घडीले मानिसको शरीरका क्रियाकलाप तथा व्यवहारमा पनि धेरै परिवर्तन ल्याउँदछ । अमेरिकी वैज्ञानिक जेफ्री हल, माइकल रोजबास र माइकल यंगलाई यो वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार समितिका अनुसार मानिस स्वस्थ रहनका लागि जैविक घडीका विषयमा यी तीन वैज्ञानिकले गरेको शोधको नतिजा निकै प्रभावकारी रहेको छ । मानिसको शरीर, रुख–विरुवा तथा जीवजन्तु सबै एक जैविक घडी अनुसार चल्दछन् । हाम्रो मूड, हर्मोनको स्तर, शरीरको तापक्रम तथा उपापचयनमा हरेक दिन उतारचढाव भैरहेको हुन्छ ।

यहाँसम्म कि हरेक बिहान हृदयाघातको खतरा बढेको हुन्छ । किनकि हाम्रो शरीरले हरेक नयाँ दिनको सुरुवातका लागि काम गरिरहेको हुन्छ । जैविक घडीले हाम्रो शरीरलाई नियन्त्रण गर्दछ । यसमा कुनै पनि खाले परिवर्तन आउँदा हाम्रो शरीरमा निकै गहिरो प्रभाव पर्दछ ।

लामो समयसम्म जहाजमा यात्रा गर्दा जेट ल्यागबाट हुने समस्या यसको उदाहरण हो । जसमा हाम्रो शरीर बाहिरि संसार अनुसार चल्न पाउँदैन र हामीले केही समयका लागि समस्याको सामना गर्नुपर्दछ ।

बडी क्लकमा परिवर्तन हुँदा सुरुमा स्मरण सम्बन्धी समस्या पैदा हुन्छ । तर यसको दीर्घकालीन असरको रुपमा चाहिँ विभिन्न खाले रोगहरु देखा पर्दछन् । जसमा टाइप टू मधुमेह, क्यान्सर तथा मुटुरोगलगायत रहेका छन् । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक प्राध्यापक रसेल फोस्टरका अनुसार यदि हामीले हाम्रो शरीरको जैविक घडीलाई तोडमोड गर्यौं भने यसले मेटाबोलिज्ममा असर पु¥याउँदछ ।

नोबर पुरस्कार विजेता जेफ्री र माइकल रोजबासले डिएनएको एक खण्डलाई अलग गरी बडी क्लकमा लगाए । यसलाई पिरियड जिन भनिन्छ । पिरियड जिनसँग एक प्रकारको प्रोटिनको निर्माण गर्ने कमान्ड हुन्छ । उक्त प्रोटिनलाई पिइआर भनिन्छ । जब पिइआरको स्तर बढ्दछ त्यो आफै आफ्नो निर्माण सम्बन्धि कमान्डलाई बन्द गर्दछ ।

यसै प्रकारले पिइआरको स्तर २४ घण्टाको अवधिमा घटबढ भैरहेको हुन्छ । रातको समयमा बढ्दछ भने दिनको समयमा घट्दछ । माइकल यंगले दुईवटा जिन पत्ता लगाएका छन् । ती मध्ये एउटालाई टाइमलेस र अर्कोलाई डबल टाइम जिन भनिन्छ । दुबैले पिइआरको स्थिरतालाई प्रभावित गर्दछन् ।

यदि पिइआर अधिक स्थिर भएमा जैविक घडी सुस्त बन्दछ । यदि पिइआर कम स्थिर भएमा जैविक घडीले तिब्र रुपमा काम गर्दछ । पिइआरको स्थिरताकै कारण केही मानिसहरु बिहान छिटो उठ्न मन पराउँदछन् भने कतिपय रातमा अबेरसम्म जागै रहन ।

Leave a comment

Your email address will not be published.


*