24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

देउसी, भैलीमा मादलको तालमा भट्याउँदै देउसी खेल्ने चलन हराउँदै

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०७४     11:16:21 AM  | 93 पटक पढिएको   |  

जाजरकोट – हिन्दु नेपालीको पर्व तिहारका अवसरमा खेलिने देउसी भैलोमा मादलको तालमा भटयाउने चलन आज भोलि हराउँदै गएको छ । स्थानीय लोकसंस्कृति र गीत संगीतको जगेर्ना गर्नका लागि खेलिने देउसी भैलीका गीतहरु सबै रेडिमेड प्रयोग हुन थालेपछि मादल र मौलिक भैली गीतहरु लोप हुन थालेका हुन् ।

विगतका देउसी भैलोहरुमा गाउँघर गुन्जाउने गरि बज्ने मादल र थरी थरी भाकाका देउसी भैलो गीतहरु पुर्ण रुपमा हराउने अवस्थामा पुगेको भेरी नगरपालिकाका १ कालेगाउँका सहदेव बस्नेतले बताए । पहिले देउसी भनेपछि सारा गाउँमा एक प्रकारको रमाइलो रौनक छाउँथ्यो तर अहिले त खाली हल्ला मात्र महसुस हुन्छ, बस्नेतले भने । बस्नेत मात्र होइन भेरी नगरपालिका ३ की पदमा पुनले पनि आज भोलिका भैली देउसीहरु रमाइला नहुने गरेको बताइन् ।

आज भोलिका देउसी भैलोमा न आफुले गीत गाउछन न मादल लगाएतका स्थानीय बाजा बजाउछन् न झयाँउरे नाँच देखाउँछन् यस्ता पनि के देउसी भैली ? पुनले भनिन् । हिन्दी गीत र चर्काे स्वरमा रेडिमेड गीतहरु बजाएर उफ्रिने भएका कारण गाउँघरमा तिहारको रौनक हराउँदै गएको उनले बताइन् ।

पछिल्लो पुस्ताका सबै युवाहरुले चाडपर्वका बेला समेत विदेशी गीतहरु, नाँच र सँस्कृति भित्रयाउन लागेका कारण जिल्लाको स्थानीय लोकभाका भेषभुषा र संस्कृति ओझेलमा परेको बुढापाकाहरु बताउछन् ।

पहिले तिहार दशैं आउँदा एक महिना सम्म गाउँमा खाँडो नाँच, सिगांरु, टप्पा, ख्याली, पैसेरी, मयुर नाँच, देउडा लगाएतका गीत तथा नाँचहरु र पन्चेबाजाका तालहरु गुन्जिने गरेको बारेकोट गाउँपालिका ५ का ८५ वर्षीय मानबहादुर सिंहले बताए । उति बेला अहिलेको जस्तो देउसी भैलीमा पैसा झार्ने मतलब हुँदैनथ्यो, रमाइलो र आफनो सँस्कृति बचाउने मतलव हुन्थ्यो, सिंहले भने ।

आज भोलि क्रृण माग्न आए जस्तो गरि भैली खेल्छन् तर पनि उठेको रकम अनुत्पादक काममा लगाउँछन् उनले भने । आफनो कला सँस्कृति र पहिचानका सवै कुरा भुलेर देउसी भैलो खेल्नुको कुनै अर्थ नहुने जाजरकोटको इतिहास तथा सामाजिक पक्षको अनुसन्धानकर्ता राजुराजा सिंहले बताए । उनले आफनो पहिचानका गीत संगीत छोडेर अरु तिरै लाग्नु युवा पुस्ताका लागि समेत दुखको कुरा भएको बताए । जाजरकोट जिल्लाको स्थानीय कला सस्कृति र गीत संगीतको रुपमा रहेका गतिविधिहरु केहि सिमित गाउँ बाहेक अन्य क्षेत्रमा देखिन छोडेको सिंहको भनाइ छ ।

जिल्लाको ऐतिहासिक महत्व बोकेको ढिमेको खाँडो नाच, खलंगाको सिंगारु, लहँ सक्लाको पैसेरी र ख्याली, पश्चिमी भेगको देउडा, हिउँदाले भाका, ठाडी भाका, फाक गीत, टप्पा लगाएतका लोक संगीत एवं नाचहरु मेला पर्वका बेला आंशिक रुपमा मात्र भेटिने गरेको सरोकारवालाहरु वताउछन् ।

लोकसँस्कृति र सामाजिक परम्परामा निकै धनी जाजरकोट सरोकारवाला र स्थानीय युवाहरुको वेवास्ताका कारण ओझेलमा परेको छ । नेपाल एकिकरणका बेलाको याद दिलाउने ढिमेको खाँडो नाँच र सामाजिक अनुशासन र रितिथिति झल्काउने सिंगारु नाँच संरक्षण अभावमा लोप हुन लागेको स्थानीय जेष्ठ नागरिकहरुको चिन्ता छ । स्थानीयवासी, युवा पुस्ता, सरोकारवाला र सरकारी निकायले यसबारे गम्भीर भएर नसोचे केहि वर्ष पछि यी सबै फोटो र भिडिओमा हेर्नुपर्ने हुने उनीहरुको चेतावनी छ ।

Leave a comment

Your email address will not be published.


*