25 November 2017|   शनिबार, मंसिर ९, २०७४

अछामका दश स्थानीय तहको बजेट ३ अरब ३१ करोड, सबैभन्दा बढी मंगलसेन नगरपालिकाको

        कल्पना बोहरा   |   प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४     8:52:16 PM  | 134 पटक पढिएको   |  

अछाम – अछामका दश वटै स्थानीय तहमा आर्थिक वर्ष ०७४/०७५ का लागि ३ अरब ३१ करोड बढी बजेट बिनियोजन भएको छ । अछाम जिल्लाका सबै १० वटा स्थानीय तहले आफ्नो वार्षिक बजेट नीति तथा कार्यक्रम गाउँ/नगर सभाबाट पारित समेत गरि कार्यन्वयन चरणमा अगि बढिरहेको बताएका छन् ।

जिल्लाका ६ वटा गाउँपालिकाका लागि १ अरब ७८ करोड १३ लाख बढी र ४ नगरपालिकाको लागि कुल १ अरब ५५ करोड १६ लाख बढी बजेट रहेको पाईएको छ । स्थानीय तहको निर्वाचन पछि भएका प्रथम गाउँ/नगर सभाहरुले आ–आफ्नो बजेट बनाएर गाउँ तथा नगरसभा मार्फत पारित गरि कार्यान्वयन प्रक्रिया अगि बढिसकेको छ ।

दश वटै स्थानीय तह मध्ये सबैभन्दा बढी बजेट मंगलसेन नगरपालिकाले ल्याएको छ । ५० करोड ९६ लाख ७ हजार बजेट ल्याएको मंगलसेन नगरपालिकाले पुजिगत तर्फ ३७ करोड २९ लाख ७२ हजार र साधारणिकी तथा चालु तर्फ गरि १३ करोड ६६ लाख ३५ हजार बजेट पारित गर्दै पूर्वाधार निर्माणलाई बिशेष प्राथमिकता दिएको नगरपालिकाका कार्यकारी अधिकृत गणेश ढुंगानाले जानकारी दिए ।

यस्तै साँफेबगर नगरपालिकाले ४० करोड बढी बजेट पारित गरेको छ भने पञ्चदेवल विनायक नगरपालिकाले ३४ करोड २५ लाख बजेट पारित गरेको र सडक निर्माणलाई प्रमुखताका साथ अगि बढाएको नगर उपप्रमुख अम्बिका चलाउनेले जानकारी दिईन ।

नगरहरु मध्ये सबैभन्दा कम बजेट रहेको कमलबजार नगरपालिकाले २९ करोड ९५ लाख बराबरको बजेट निर्माण गरि सडक, बिद्युत र कृषिमा जोड दिएको नगर प्रमुख ओमप्रकाश बिष्टले बताए ।

यस्तै ६ वटा गाउँपालिकाहरु मध्ये सबैभन्दा बढी बजेट तुर्माखाद गाउँपालिकाले ल्याएको छ । ३३ करोड २० लाख ४१ हजार ८ सय ५० बराबरको बजेट ल्यायको गाउँपालिकाले बिद्यालय पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ भने सडक, कृषि लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । “दक्ष शिक्षक, जवाफदेही अभिभावक अनुशासित बिद्यार्थी” मुल नारा दिई शिक्षालाई केन्द्र बिन्दुमा राखेर आफुले बजेट ल्याएको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताए ।

यस्तै रामारोशन गाउँपालिकाको प्रथम गाउँसभाले ३० करोड ७० लाख बजेट पारित गरेको छ । गाउँसभाले सबै वडालाई सडक सञ्जालमा जोड्ने र जिल्लाकै प्रमुख पर्यटकिय क्षेत्र रामारोशनमा पर्यटन विकासलाई मुख्य प्राथमिकता दिई बजेट नीति तथा कार्यक्रम पारित गरि कार्यान्वयनको चरण सुरु भईसकेको अध्यक्ष झंकर साउदले जानकारी दिए ।

ढकारी गाउपालिकाले ३० करोड ४८ लाख बजेट पारित गरि सडकलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरु कार्यान्वयन चरणमा अघि बढाएको छ । कमलबजार नगरपालिकावाट ढकारी गाँउपालिका जोड्ने सडक फराकिलो बनाई बस गुड्ने गरि स्तरोन्नती गरिसकिएको र सबै वडालाई जोड्ने सडकहरुमा पर्याप्त बजेट छुट्याईएको गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले बताए ।

यता मेल्लेख गाउँपालिकाले भने एक वर्ष भित्र सबै वडामा सडक पुर्याउने लक्ष्य सहित “मेल्लेख गाउँपालिकाको जोड, दुर्घटना रहित स्वच्छ वातावरणिय रोड” भन्ने नारालाई अंगिकार गर्दै कुल ३१ करोड २९ लाख ३२ हजार ९ सय बराबरको वार्षिक बजेट पारित गरेको छ । बार्षिक बजेट, नीति तथा कार्यक्रममा गाउँपालिकाले पूर्वाधार विकास, कृषि तथा पर्यटनलाई समेत प्राथमिकतामा राखेको अध्यक्ष लोकबहादुर बोहरा बताउँछन् ।

३० करोड ४० लाख २४ हजार बजेट पारित गरेको चौरपाटी गाउँपालिकाले पनि सडक, कृषि, बिद्युत लगायत क्षेत्रलाई समेटेर योजनाहरु ल्याएको छ भने बान्नीगढी जयगढ गाउँपालिकाले २२ करोड ६ लाख २५ हजार बढीको वार्षिक बजेट पारित गर्दै खानेपानी, सडक, शिक्षा र कृषि क्षेत्रका योजनालाई प्रमुखताका साथ अगि बढाएको छ ।

यस अगि जेठ महिनामा नेपाल सरकारले ल्यायको संघियता पछीको पहिलो बजेटले अछामका १० वटै स्थानीय तहका लागि आर्थिक वर्ष २०७४/०७५ मा तीन अर्ब १६ करोड ३९ लाख ४१ हजार रुपैयाँ बजेट प्रदान गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेटलाई बढी भन्दा बढी स्थानीय तहलाई केन्द्रित गरेर छुट्याइएको र सोही अनुसार स्थानीय तहले बजेट कार्यान्वयनको चरणलाई अगि बढाउदा स्थानीय हर्षित भएका छन् । केन्द्रसम्म पहुच नभएकाहरुलाई स्थानीय तह मार्फत कार्यान्वयनमा आएको बजेटले केही हौसला समेत बढाएको सरोकारवालाको भनाई छ ।

Leave a comment

Your email address will not be published.


*