24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

दशैंका बेलाः पाँच औंलाका पाँच अर्थ

        कुसुम भट्टराई   |   प्रकाशित मितिः शनिबार, अशोज १४, २०७४     8:55:54 AM  | 99 पटक पढिएको   |  

पृथ्वी, जल, तेज, वायु र आकाश । हाम्रा हातका पाँच औंलाले सृष्टीका यी पाँच तत्वको प्रतिनिधित्व गर्छन् । मुद्रा चिकित्सामा यसको विशेष महत्व छ । यसबाहेक महान चाड दशैंसँग पनि यी पाँच औंलाको साइनो छ । जब दसैं आउँछ, तब हातका औंला क्रमशः भाँच्दै हामी भन्छौं,

‘दशैं आयो, खाउँला पिउँला

कहाँ पाउँला, चोरी ल्याउँला

धत् पापी छुट्टै बसौंला’

यो उक्तिले हाम्रो समाजको वर्गीय अवस्था पनि झल्काउँछ ।

कान्छी औंलाः दशैं आयो

‘आयो’ शब्द हामीले सानैदेखि सुन्दै आएका छौं । यो शब्द कहिले खुशी, कहिले समस्या त कहिले भयको सन्दर्भमा हाम्रो जीवनमा दोहोरिइरहन्छ ।

‘भुइँचालो आयो’, ‘बिजुली आयो’, ‘बाढी आयो’, ‘गाडी आयो’, ‘प्रजातन्त्र आयो’, ‘गणतन्त्र आयो’, ‘प्रमुख अतिथि आयो’, ‘माननीय आयो’, ‘मन्त्री आयो’ आदि इत्यादि ।

हो, ‘आयो नुन’ चाहीं ‘गलगाँड रोक्न’ दिनहुँ आइरहन्छ ।

यी ‘आयो’हरुमध्ये दुई वटा ‘आयो’सँग भने हाम्रो कान्छी औंलाको विशेष सम्बन्ध छ । कान्छी औंला कहिले ‘दशैं आयो’ भन्छ त कहिले ‘सु आयो’ भन्छ ।

जे होस्, ‘आयो’ शब्द आफैंमा सूचनावाचक हो । यसले केही कुरा कतैबाट आएको जानकारी दिन्छ । यस हिसाबले कान्छी औंलाको भूमिका सूचना बाहकको हो । मिडियाले झैं कान्छी औंलाले दशैं आयो भनेर सूचना दिएको छ । अर्थात्, कान्छी औंलाले प्रेसको प्रतिनिधित्व गर्छ ।

साइँली औंलाः खाउँला पिउँला

साइँली औंला गाँठिस्ट हो, यो धनी छ । दशैं आएको सूचना पाउनासाथ उसले खानपिनको कुरा गरिहाल्छ । यो हन्तकाली पनि हो । पर्व मान्नका लागि ऊसँग कुनै कुराको अभाव छैन । बस्, दशैं उसका लागि मासु, मदिरा र म्यारिजमा रम्ने अवसर हो ।

हुन त, हिन्दुहरुका अधिकांश पर्व खानपिनकै लागि प्रख्यात छन् । जस्तै, असार १५ मा दही चिउरा, साउने संक्रान्तीमा सेल रोटी, साउन १५ मा खीर, जनैपूणिर्मामा क्वाँटी, तीजमा दर (घिउ हालेको भात, खीर या मिठाइ), दशैंमा मासु, तिहारमा रोटी (सेल, अर्सा, फिनी, अनरसा), पुस १५ मा चाम्रे, माघे संक्रान्तिमा घ्यू, चाकु र खिचडी, शिवरात्रीमा गाँजा, फागु पूणिर्मामा भाङ, चैते दशैंमा मासु । यसैगरी छठ, ल्होछारलगायत पर्वहरुमा पनि विशेष परिकार पाकेकै हुन्छन् ।

हाम्रो समाजमा रहेका हुनेखाने वर्गका लागि पर्वहरु खोक्रो आडम्बर प्रस्तुत गर्ने माध्यम बन्दै आएका छन् । यस हिसाबले साइँली औंलाले हाम्रो समाजको हुनेखाने, हन्तकाली वर्गको प्रतिनिधित्व गर्छ ।

माझी औंलाः कहाँ पाउँला ?

नेपाली समाजमा दुईथरि मानिस छन् । एकथरि साइँली औंलाझैं हुनेखाने वर्ग । अर्कोथरि चोरी औंलाझैं फटाहा र भ्रष्ट वर्ग । यी दुई वर्गको चेपुवामा परेको वर्ग छ, माझी औंला अर्थात् निम्न वर्ग । पुस्तैनी सम्पत्तीका मालिक हुनेखाने वर्ग र भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाएको नव धनाढ्य वर्गको दुईतर्फी शोषणमा परेको वर्ग । कम्युनिस्टहरुको भाषामा ‘सर्वहारा वर्ग’ । योजनाविद्हरुको भाषामा गरीबीको रेखामुनि रहेको वर्ग ।

बिचरा माझी औंला भन्छ, ‘कहाँ पाउँला ?’

बिहान खाएर साँझ के खाउँ भन्ने अवस्थामा रहेका आम गरीब नेपालीको भावना माझी औंलाले बोलिरहेको छ । माझीऔंला अरुभन्दा अग्लो छ । यसले नेपालमा गरीबहरुको संख्याको ग्राफ अग्लो भएको संकेत पनि गर्छ । राणाकालदेखि पञ्चायतकालसम्म, बहुदलकालदेखि गणतन्त्रकालसम्म आइपुग्दा पनि माझी औंलाले आफ्नो प्रश्नको उत्तर अझै पाउन सकेको छैन- ‘कहाँ पाउँला ?’

चोर औंलाः चोरी ल्याउँला

नामै चोर औंला, अनि यसले भन्ने नै भयो, ‘चोरी ल्याउँला’ । यो औंलाले नेपालका भ्रष्ट नेता, प्रशासक र अख्तियार दुरुपयोग गर्नेहरुको प्रतिनिधित्व गर्छ । चोर औंलाको संगठन नेपाली समाजको तल्लो तहसम्म फैलिएको छ । यसले आफूले पनि चोर्छ अनि अरुलाई पनि ‘चोरी ल्याउँला’ भनेर चोर्न उत्प्रेरित गर्छ ।

कहिले लाउडा काण्ड, कहिले धमिजा । कहिले चेज एयर काण्ड त कहिले सुडान घोटाला । कहिले चिनी काण्ड त कहिले मल काण्ड । यस्ता काण्डहरु मच्चाउनुमा चोर औंलाकै भूमिका रहन्छ । यसका सदस्यहरु आयल निगमदेखि सम्पत्ती शुद्धीकरणसम्म पुगेका छन् । चोर औंलाले भ्रष्ट ‘गोपाल चुडामणीहरु’देखि तिनीहरुको पक्षमा उभिने आजको महाभारतका ‘भीम’ र ‘अर्जुन’हरुकै प्रतिनिधित्व गर्छ ।

बुढी औंलाः धत् पापी छुट्टै बसौंला

समाजमा इमानदारिता मरिसकेको छैन । असल मानिसहरु हराइसकेका छैनन् । समाजका हरेक तप्कामा भ्रष्ट मात्र होइन, इमानदार मानिस पनि छन् । घुस नखाने कर्मचारी पनि छन् । भ्रष्टाचार नगर्ने नेता पनि छन् ।

हाम्रो हत्केलामा बुढी औंला अलग्गै रहेजस्तै समाजका हरेक क्षेत्रमा रहेका ती इमानदार मानिसहरु भ्रष्टहरुको दुनियाबाट अलग छन् । जम्बो मन्त्रिमण्डलमा उनीहरु अट्दैनन् । पार्टीको केन्द्रीय समितिमा उनीहरुको जोर चल्दैन ।

उनीहरुले सांसदको टिकट पनि पाउँदैनन् । मिडियामा पनि उनीहरुको खासै चर्चा हुँदैन । तर, यस्ता केही ‘बुढी औंला’हरुकै कारण देशमा इमानदारिताको दियो निभ्न पाइरहेको छ । सोझै भन्नुपर्दा डा. गोविन्द केसीहरुको प्रतिनिधित्व बुढीऔंलाले गरिरहेको छ, जो भ्रष्ट माफियातन्त्रको विरुद्ध आवाज उठाइरहेका छन् र उनीहरुभन्दा अलग छन् ।

-कुसुम भट्टराई

Leave a comment

Your email address will not be published.


*