21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

दुर्गालाई पूजा, छोरीलाई छाउपडी ?

        सांसद रीता शाही   |   प्रकाशित मितिः बिहिबार, अशोज १२, २०७४     10:28:38 AM  | 77 पटक पढिएको   |  

पूर्वीय सभ्यता र संस्कृतिको मूल भूमि नेपाललगायतका दक्षिण एसियाका अन्य देशमा नारीलाई शक्तिस्वरूपा देवीका रूपमा पुजिन्छ । पूर्वी सभ्यताको सबैभन्दा सबल पक्ष सृष्टिकर्ता नारीलाई देवीको रूपमा पूजा गर्नु हो, जुन अरू कुनै धर्म, सम्प्रदाय र सभ्यतामा पाइँदैन । महाकाली, महालक्ष्मी, महासरस्वती आदि नाममा नारीको पूजा गर्ने गरिन्छ ।

यो महिला सशक्तीकरण र जागरणको अनुपम उदाहरण हो । तर दुःखको कुरो, यति महान् संस्कारयुक्त समाजमा पनि महिला आफूलाई असुरक्षित महसुस गर्छन् । बोक्सी र छाउप्रथाले यही समाजमा उनीहरू पीडित छन् । महिनावारी भएकी एउटा आमा, दिदी वा बहिनीले यसपालिको दसैं परिवारका सबै सदस्यसँगै बसेर सहजरूपमा मनाउन पाउँछिन् कि पाउँदिनन्् ? कि उनले घरभन्दा परको छाउघरमा बसेर दसैंको उल्लासलाई आँखामा सजाउनुपर्ने हो ? ती चेलीले दसैंमा मदिराले मस्त भएको कुनै पुरुषको यौनभोक मेट्ने साधन बन्नुपर्ने हो ?

छाउपडी र नमुनाठेहे गाउँ

कालो बादलको किनारामा चाँदीको घेरा हुन्छ भनिन्छ । मेरो जिल्ला हुम्लामा एउटा गाउँ छ- नाउँठेहे । त्यहाँ देवीदेवताको नियमित पूजा गरिन्छ । ठेहेगाउँमा यति धेरै देवस्थल छन्, हुम्लाका बाँकी सबै गाउँमा त्यति धेरै देवीदेवताका प्रतिमा छैनन् । भगवान् रिसाएको बहाना महिलालाई छाउगोठमा पठाउने प्रथा पनि त्यहाँ छैन । कर्णालीको ‘चाँदीको घेरा’ हो ठेहेगाउँ । ठेहे गाउँका महिला सफासुग्घर छन् र उनीहरू नियमित पूजापाठमा संलग्न हुन्छन् । महिला र पुरुषमा विभेद छैन त्यहाँ । तर त्यो गाउँबाट केही घन्टाको दूरीमा शौचालयजस्ता छाउगोठ महिलाको काल बनेर उभ्याइने प्रथा अझै छ ।

संस्कृति मान्छेका लागि

स्वर्गीय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले एक प्रसंगमा भन्नुभएको थियो, ‘मान्छेको लागि संस्कृति हो, संस्कृतिको लागि मान्छे होइन ।’ मानिसले संस्कृति निर्माण गर्ने हो । हाम्रो जीवनशैलीलाई अनुकूलताका साथ सञ्चालन गर्न धर्म र संस्कृतिको निर्माण गरिएको हो । तर संस्कृति कुरीतिमा परिणत भएपछि मानवीय सभ्यताको उपहास हुन्छ । कतै बोक्सी प्रथा, कतै छाउपडी र कतै जातीय विभेदका नाममा हाम्रो समाजमा मानवीय सभ्यताको उपहास जारी छ । शासकले आफू अनुकूल संस्कृति बनाएर महिलामाथि ज्यादती गरेको पृष्ठभूमिमा मुलुकमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि पनि विभेद उस्तै छ । प्रदेश नम्बर ६ र ७ अर्थात् सुदूर र मध्यपश्चिममा व्याप्त आर्थिक विपन्नता, अशिक्षा र बेरोजगार समस्याको सिकार आम महिलाले हुनुपरेको छ । केही क्षेत्र यस्ता पनि छन्, जहाँ छोरीचेलीलाई मानसम्मान गरिन्छ । त्यहाँ भएका राम्रा कुरालाई महत्व दिएर सभ्य समाजको सपना साकार पार्नुपर्नेमा सरोकारवालाको ध्यान जान जरुरी छ ।

छाउपडी उन्मूलन प्रयास : बालुवामा पानी

सरकारले छाउपडी उन्मूलन गर्न विशेष कार्यक्रम लागू गर्ने कोसिस गरेको छ । तर ती कोसिस कत्तिको पर्याप्त थिए भन्ने विषयमा समीक्षा भएकै छैन । ‘छाउपडीमा लगानी बालुवामा पानी’ जस्तै भएको छ । अब सरकारी तवरबाट होस् वा एनजीओ-आईएनजीओका तर्फबाट होस्, छाउगोठ बनाउनेभन्दा जनचेतना जगाउने र सरसफाइ अभियान सञ्चालन गर्नुपर्छ । त्यहाँको गरिबी नै छाउपडी तथा अन्य सामाजिक विभेदको कारक हो ।

जबर्जस्ती बालविवाह, छाउपडी, बोक्सीप्रथा तथा अन्य कुरीतिविरुद्ध सामाजिक सुरक्षानीति ल्याउनुपर्छ । घरपरिवारभित्रबाटै महिलाको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनको लागि सहयोग गरिनुपर्छ । बेतलबी तथा घरेलु श्रमिकको न्यूनतम जागिर तोकिनुपर्छ । राजनीतिक, आर्थिक र सामाजिक जीवनका सबै तहमा महिलाको प्रभावकारी र नेतृत्वदायी सहभागिता तथा समान अवसर सुनिश्चित गर्न जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले निर्धारण गरेका अवधारणा लागू गर्न प्रयत्न गर्नुपर्छ । यौन र प्रजनन स्वास्थ्यको विश्वव्यापी पहुँच सुनिश्चित गर्न महिलालाई भूमि तथा अन्य सम्पत्ति, वित्तीय सेवाको अधिकार र प्राकृतिक स्रोतमा समान अधिकारजस्ता सुधारका कदम चाल्नुपर्छ ।

छाउपडी : दण्डनीय अपराध

२०७४ साउन २५ गते छाउपडी प्रथालाई पहिलोपटक फौजदारी अपराधको संज्ञासहित मुलुकी अपराध संहिता विधेयक- २०७४ पारित भयो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि भदौ १ गतेदेखि विधेयक लागू भएको छ । महिनावारीका बेला घरभित्र बस्न नपाउने, गाईभैंसीका गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । तर कार्यान्वयन प्रक्रियाचाहिँ अझै विश्वसनीय हुन सकेको छैन । चार दिनसम्म छाउगोठमा बस्न बाध्य पार्ने व्यक्तिलाई कसुरदार ठहर गरिएको छ । तीन महिनाको कैद र जरिबानाको व्यवस्था विधेयकमा गरिएको छ ।

महिला सशक्तीकरणको लागि खासगरी सूचना तथा सञ्चार प्रविधिको प्रयोग वृद्धि गर्नुपर्छ । लैंगिक समानताका विषयमा स्कुलमा पढ्ने बालिकादेखि पाको उमेरका महिलासम्मलाई शिक्षा र सचेतना प्रदान गर्नुपर्छ । संविधानमा भनिएबमोजिम प्रभावकारी नीति तर्जुमा गरी सबै किसिमका कुरीति-कुसंस्कार अन्त्य गर्नुपर्छ । यसको लागि संविधानको व्यावहारिक कार्यान्वयन पहिलो खुट्किलो हो । मेरी आमाका अनुसार म पनि गाईको गोठमा जन्मिएको थिएँ ।

बच्चा जन्मिँदा सफा ठाउँ चाहिन्छ भन्नेसम्मको ज्ञानको अभावले गोठमा प्रसूति गराइरहेछन् त्यस क्षेत्रका महिला । तर अहिले कर्णालीका धेरै महिला शिक्षित भइसकेका छन् । सरसफाइप्रतिको चेतनास्तरमा वृद्धि भएको छ । यो दसैंले कर्णालीका आम महिलाको चेतनास्तर वृद्धि गर्न प्रेरित गरोस् । यो वर्षको दसैंको आशीर्वादले छाउपडी र महिलामाथिको अन्य विभेद अन्त्य गर्ने शक्ति प्रदान गरोस् ।

-रीता शाही कांग्रेस नेतृ तथा सांसद हुन् ।

Leave a comment

Your email address will not be published.


*