21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

जगतिपुरको वायु घट्ट भ्रम कि यथार्थ ?

        मोहन कुमार तामाङ   |   प्रकाशित मितिः मङ्लबार, अशोज १०, २०७४     11:26:47 AM  | 243 पटक पढिएको   |  

जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गा देखि पश्चिममा जगतिपुर छ । हाल यो भेरीमालिका नगरपालिका भित्र पर्दछ । रुकुमको चौरजहारीको पल्लो पट्टि अर्थात पश्चिम पट्टि भेरी नदीले छुट्याएको रुकुम र जाजरकोटको कुदु देखि उत्तर तिरको भागलाई जगतीपुर भनिन्छ । जगतीपुरमा पनि कच्ची बाटोको सुविधा छ । यहि जगतीपुरमा स्थानिय वासीहरुले भन्ने गरेको वायु घट्ट छ ।

वायुघट्टको जानकारी लिनु भन्दा पहिले अन्य ऐतिहासिक स्थलहरुको पनि जानकारी लिनु जरुरी देखिन्छ । जब कुदुबाट उकालो लागेर जगतीपुर पुगिन्छ, त्यस ठाउँको दक्षिण तर्फ एउटा पानीको मुहान छ । हाल त्यहाँ पानीको ट्याङ्की बनार्इएको छ । त्यहाँ खोपेर मिलाईएका ढुंगाका चाङ देख्न पाइन्छ । स्थानीय वासिन्दाहरु त्यसलाई पनि घट्ट नै भन्ने गर्दछन् । पारिपट्टिको रुकुमको टाकिया भन्ने ठाउँमा विहान हुने बेलामा भाले बासेको हुनाले त्यस स्थानमा निमार्ण गरिएको वयलबाट चल्ने घट्ट पूरा हुन नसकेको भन्ने किंवदन्ती पाइन्छ । यो वयल घट्ट भनिने कुरा के हो ? भन्ने बारेमापछि चर्चा गरिने छ ।

त्यसपछि अलि माथि गए पछि एउटा देवल देखा पर्दछ । यसलाई स्थानीयहरु देवल नै भन्ने गर्दछन् । देवल भित्र कुनै देव देवीको मूर्ति नभएकोले स्थानीयहरु उहिले उहिले जोगीहरु बस्ने ठाउँ भन्ने गर्दा रहेछन् तर जोगी अटाउने स्थान भने छैन ।

त्यस पछिको मूख्य स्थानलाई वायु घट्ट भन्ने प्रचलन रहेछ । त्यस स्थानमा दुईवटा शिला स्तम्भ रहेछन् , एउटालाई चाहिँ वायु घट्टलाई अड्याउने खम्बा भनिदो रहेछ । त्यसै गरी गोलाकार रुपमा रहेको किनारामा बुट्टेदार भएको ढुंगालाई चाहिँ घट्ट भनिदो रहेछ । त्यसकै नजिकमा मन्दिर पनि रहेछ जसलाई शिवालय भनिदो रहेछ ।

जगतीपुरको नाम तत्कालिन जाजरकोटे राजा जगती सिंहको नामबाट रहेको भन्ने भनाई पाइन्छ जुन सत्य जस्तो पनि लाग्दछ ।

“जुमलेश्वर वंशावली अनुसार जकी सिंह (जगति सिंह) जक्तिपुरका राजा थिए । तर सम्भवतः जगति सिंह र बलिराज (ई.सं.) १३९८ र १४०४) समकालिक थिए । जगति सिंहले जगतिपुर शहर बसाई आफ्नो राज्यको उन्नती गरेका थिए ।”
उनले आफ्नो छोरा जय सिंहलाई राज्य सुम्पेर तपस्या गर्न गई लोप भएका थिए भन्ने प्रशङ्गले उनी धार्मिक राजा थिए भन्ने कुरामा कुनै शंका छैन । भेरीमालिकाको मैदेको बौद्ध गुफा र जगति सिंह राजाको सम्बन्ध हुनुपर्दछ ।

जाजरकोटको पश्चिममा दैलेख पर्दछ । दैलेखको ऐतिहासिक स्थल दुल्लुमा रहेको किर्तिस्तम्भले खस राजाहरुको इतिहास बोल्दछ । गोपाल राज वंशावलीमा उल्लेख भए अनुसार खस राजाहरु नागराज, चाप, चापिल्ल, जितारी मल्ल हुँदै वंश अघि बढेको देखिन्छ । “क्राचल्लका छोरा अशोक चल्ल बौद्धधर्म प्रति विशेष आदर गर्ने हुँदा उनले आफ्ना भारदार पठाई बोधगयामा बुद्ध मुर्ति स्थापित गरी एउटा विहार बनाउन लगाएका थिए । त्यहाँ यिनले आफ्नो अभिलेख पनि कुँदाएर राख्न लाएका थिए ।”

दुल्लुको वि.स. १४१४ को पृथ्वी मल्लको स्तम्भलेखमा उल्लेख भए बमोजिम अशोक चल्लले देश विदेशमा बौद्ध धर्मको प्रचार गरे, भनि उल्लेख गर्नृु ले उनी बौद्ध मतावलम्वी थिए भन्न सकिन्छ । कम्तीमा पनि पृथवी मल्ल सम्म बौद्ध धर्मको सम्वद्धृन भएको देखिन्छ । त्यस पछिका समय भने बौद्ध धर्मको लागि त्यति उपयुक्त नभएको देखिन्छ । हुन त वि.सं. १२०१ को शङ्कराचार्यको शिलालेख हेर्ने हो भने त्यस वेला देखि नै वा त्यस भन्दा अघि देखि नै हिन्दू ब्राम्हणहरुले खशहरुलाई केहि प्रभाव पारि सकेका थिए । जसमा बौद्ध, जैनहरुलाई खण्डन गर्ने कुरा उल्लेख भएको छ । तथापि ती खस राजाहरुले बौद्ध साम्राज्य फैलाएका थिए । अशोक चल्लको एक लाख २५ हजार शिखरहरु भएको ठूलो राज्य थियो भन्ने कुराले दैलेख नजिकैको जाजरकोटमा पनि शासन थियो भन्ने कुरामा कुनै शंका छैन । नागराजालाई तिब्बती भाषामा “लुई ग्याल्पो” भनिन्छ । उनी उत्तरतिरबाट आएका थिए त्यसकारण पनि उनी संगै नेपालको पश्चिमी भेगमा बौद्ध धर्मको आगमन भएको थियो भन्ने अड्कल लगाउन सकिन्छ । उनका सन्तानहरुले पनि बौद्ध धर्मलाई अगाडि बढाएको देखिन्छ । यसै क्रममा तीनै खस राजाहरुको पालामा भेरी अञ्चलको दैलेखको दुल्लुको दुई देवल, दुल्लु गठीको स्तम्भ, पादुका स्थानको बुद्ध मूर्ति, अन्य स्तम्भहरु, अजित मल्लको ई.सं. १२२१ को शिलालेख, पत्थर नौली, चैत्य, सात खम्बा, पञ्च देवल आदि निर्माण गरेका थिए । लाम्जीको जलद्रोणी तथा कुइकाडाका देवल अनि भूर्तिका देवलहरु पनि तत्कालिन समयकै हुनु पर्दछ । पञ्चदेवल बनाइने चलन लहरै चलेको हुनु पर्दछ । शिखर शैलीमा निर्माण गरिएका देवलहरु विशेष गरी ५ वटा हुनुमा बौद्धधर्ममा पञ्चबुद्ध संग साइनो हुनुपर्दछ ।

जगतीपुरको अघि उल्लेख गरिएको स्थानमा जलदश्रेणी स्थापना गरिएको देखिन्छ तर समय अन्तरालमा अन्य किंवदन्तीले ढाकेर राखेको पाइन्छ । पानीको स्रोत भएको खोचमा वयलले चल्ने घट्ट स्थापना गर्ने स्थानको अभाव र त्यहाँको संरचना वयल घट्ट संग मेल खाने खालको छैन तर तत्कालिन राजाहरुले पानीको मुहानमा जलदश्रेणी बनाउने गरेको इतिहास भने अझै जीवित छ । जसलाई नौली पनि भनिंदो रहेछ ।

पानीको मुहानमा बनाइएको नउली कुनै समयमा खण्डहरमा परिणत भएको देखिन्छ । संरचनालाई छोप्ने आमालकलाई वयल घट्ट भनेको हुनु पर्छ । हाल भत्किएको अवस्थामा रहेको देखिन्छ । तर पानीको मूल भने छ ।

अघि नै उल्लेख भएको देवल त्यहाँको जिउँदो इतिहास हो । स्थानीयहरुले देवल भन्ने गरेको त्यो देवल नै हो । पश्चिमाभिमुख भई रहेको उक्त देवल तहगत रुपमा प्रस्तरबाट निर्माण भएको छ । शिखर शैलिमा निर्मित यो देवलमा कुनै पनि मूर्ति छैन । देवलको तल्लो भाग प्रस्तरका पाँचवटा तहबाट निर्मित छ । पश्चिम पट्टिको भाग खुल्ला छ । त्यस भन्दा माथिको भागमा ६ तहहरु छन् । माथिल्लो भागमा आमलक राखिएको छ । गर्भ गृह (भित्र भाग) को माथितिर फूलको चित्र कुंदेर राखिएको छ । जवकी उपत्यकाको वास्तुकलामा सामान्यतया मण्डला देख्न पाउछौं । अगाडिको तोरणमा पनि फूल नै राखिएको छ । देवल वरिपरि फूल र चराका चित्रहरु कुंदिएका छन् । ती सबै चित्रहरु तोरण भन्दा मुनि कुंदिएका छन् । तोरणभन्दा माथि केहि पनि कुंदिएको छैन । गर्भगृह सांगुरो छ ।

देवल भन्दा केहि माथि वायुघट्ट भनिने स्थान छ । स्थानीयहरु कृष्ण अष्टमीको दिन हरेक वर्ष जम्मा भई जात्रा मनाउने गर्दछन् । त्यहाँका महिलाहरु जगती सिंह महाराजको गुनगानका गीत गाएर नाच्ने गर्दछन् । वायुघट्टको किंवदन्ती जोडेर रमाइलो गर्ने गर्दछन् । तथापि उक्त स्थानलाई मिहिन रुपमा हेर्दा फरक कुराको बोध हुन्छ । एउटा अलि सानो स्तम्भमा तिब्बती लिपिमा ‘ॐ मणि पद्मे हुं’ लेखिएको छ । त्यसको टुप्पोको वरिपरि खिइएको छ । त्यही खिइएको भाग भएकोले वायुबाट चल्ने घट्ट राख्ने स्तम्भ भनिएको हुन सक्छ । त्यसै गरी हाल त्यहाँ घट्ट भनिने प्रस्तरको गोलो आकारको वस्तुलाइ घट्ट भनिदो रहेछ । जुन घट्टलाई त्यही स्तम्भमा राखेर वायु घट्ट बनेको किंवदन्ती रहेछ । वास्तवमा उक्त घट्ट भनिने प्रस्तर मण्डला बनाई राख्ने प्राचिन परम्परा हो । त्यही मण्डलालाई कालान्तरमा घट्ट भनिएको प्रष्ट हुन्छ ।

त्यही नजिक अर्को स्तम्भ पनि छ जुन अलि अग्लो छ । करिब करिब ८ फिटको उचाईको छ । यसमा रञ्जना लिपिमा ॐ मणि पद्मे हुँ नै लेखिएको छ । साथै नजिकैको शिवालयमा वरिपरि राखिएका ढुंगाका दलिनहरु ठूलो भवनको जस्तो देखिन्छ तर संरचना भने एकदमै सानो छ । ढुंगामा कलात्मक चराहरुका चित्र कुदिएका छन् भने फूलका चित्रहरु पनि कुंदिएका पाइन्छन् । लुम्बिनीको स्तम्भमा पनि रिपु मल्लले ॐ मणि पद्मे हुँ कुंदाई फूलको चित्र कुंदेको पाउँदछौं । यस अर्थमा तत्कालिन समयमा यो स्थानमा विशाल बौद्ध विहार हुनु पर्दछ । कालान्तरमा बौद्ध धर्मको पतनसंगै ती विहारका संरचनाहरु नष्ट भएको हुनु पर्छ । त्यहाँको शिवलिङ्ग कुनै आश्चर्यको कुरो भएन किनभने निग्रोधग्राम कुदानको टुप्पोमा पनि शिवलिङ्ग स्थापना गरिएको छ ।

अन्तयमा, जाजरकोटको पजारु, घोगीका स्तूपहरु, मैदेको बौद्ध गुफा तथा खस राजाहरु बौद्ध भएको हिसाबले खश राजाहरुको पालामा जगतीपूरमा बौद्ध धरोहर नै भएको प्रष्ट हुन्छ । तर कालान्तरमा ती धरोहरहरु नष्ट भएको देखिन्छ । ती प्राप्त शिलालेखहरुलाई अध्ययन गरी सत्य तथ्य उजागर गर्नु आजको आवश्यकक्ता हो । जगतिपुरको नउली, देवल र शिवालयको किंवदन्ति र त्यहाँको शिलालेख र वास्तु संचरनालाई हेर्दा आकास र जमिनको अन्तर देखा पर्दछ ।

एकातिर ऐतिहासिक दस्तावेजले पनि किंवदन्तिलाई पुष्टि गरेको छैन भने कालान्तरमा समाज रुपान्तरणको क्रममा वास्तविक धरोहरहरुको पनि पहिचान गुमराहमा परेको देखिन्छ । तथापि पछिल्लो समयमा जे भनिए पनि या किंवदन्ति भएता पनि त्यसको आम मानसमा जगेर्ना गर्नु पर्छ भन्ने सोचको विकास भएको देखिन्छ ।

भवतु सब्ब मंगलम् ।

 

 

 

मोहन कुमार तामाङ

Leave a comment

Your email address will not be published.


*