21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

कांग्रेस-माओवादी गठबन्धनको भविष्य

        पम्फा भुषाल   |   प्रकाशित मितिः सोमवार, अशोज ९, २०७४     8:59:02 AM  | 195 पटक पढिएको   |  

विगतमा हामीले जनयुद्ध गर्दा प्रतिध्रुवबाट सुरु गरेका थियौँ । सामन्ती राजतन्त्रकाल सँगै संसद्वादी शक्ति विरुद्ध लडाइँ छेडेका थियौँ । तर, पछि माओवादी १२ बुँदे हुँदै शान्ति प्रक्रियामा आयो । माओवादी शान्ति प्रक्रियामा आएपछि परिवर्तनका एजेन्डालाई कार्यान्वयन गर्नुपर्ने मुख्य चुनौती थियो । जुन दलले शान्ति प्रक्रियाको थालनी गरेको थियो, त्यही शक्ति सँग सहकार्य गरेर मात्र परिवर्तनका एजेन्डालाई संस्थागत गर्न सक्ने देखियो । शान्ति प्रक्रिया पनि सजिलै पूरा गर्न सक्ने देखियो । ठुल्ठूला राजनीतिक परिवर्तन भएका थिए । ती राजनीतिक संक्रमणकालको अन्त्यका लागि स्थानीय निर्वाचन सम्पन्न भएको छ । एक हदसम्म संविधान कार्यान्वयनमा पनि गएको छ । आगामी संघ र प्रदेशको निर्वाचन गर्न मिति पनि तोकिएका छन् । ती निर्वाचन पूरा भएपछि संविधान पूर्ण कार्यन्वयनमा जान्छ । तीनवटै तहको निर्वाचन पूरा भएपछि राजनीतिक संक्रमणकाल पनि अन्त्य हुन्छ । संविधान कार्यान्वयन गर्न मात्र नभई राजनीति संक्रमणकाल अन्त्य गर्न पनि कांग्रेससँग सहकार्य जरुरी थियो । अरू दलसँग सहकार्य गरेर संक्रमणकाल व्यवस्थापन गर्न गाह्रो थियो । माओवादी र कांग्रेस गठबन्धनले मात्र राजनीतिक संक्रमण व्यवस्थापन गर्न सक्ने देखिन्छ । कतिपयले माओवादी–कांग्रेस गठबन्धनलाई अप्राकृतिक पनि भन्ने गर्छन् ।

तर, यो गठबन्धन एकदमै प्राकृतिक स्वरूपको छ । यो गठबन्धन प्राकृतिक भएकै कारण एक वर्षभन्दा लामो समयसम्म यसले निरन्तरता पाउँदै छ । अहिलेका सबैभन्दा महत्वपूर्ण काम पनि यही गठबन्धनले सम्पन्न गर्दै छ । यस गठबन्धनले संविधान कार्यन्वयनमा संविधानसँग असहमत भएको पक्षलाई पनि सहमतिमा ल्याउने काम गरेको छ । अझै पनि द्वन्द्वकालीन मुद्दालगायत शान्तिप्रक्रियाका केही काम गर्न बाँकी छन् । ती काम पनि यही कांग्रेस–माओवादी गठबन्धनले नै पूरा गर्नेछ । शान्तिप्रक्रियाको थालनी पनि कांग्रेस–माओवादीले गरेका थिए । संक्रमणकालको अन्त्य पनि तिनै दुई दलले गर्ने अवस्था देखिएको छ ।

कतिपयले माओवादी–कांग्रेस गठबन्धनलाई अप्राकृतिक पनि भन्ने गर्छन् । तर, यो गठबन्धन एकदमै प्राकृतिक स्वरूपको छ । प्राकृतिक भएकै कारण यसले एक वर्षभन्दा लामो समयसम्म निरन्तरता पाउँदै छ ।

गठबन्धनबाट राष्ट्रलाई फाइदा

कांग्रेस–माओवादी गठबन्धनले व्यक्तिगत रूपमा धेरै फाइदा भयो भन्ने गरिन्छ । तर, यथार्थमा व्यक्तिगत होइन, राष्ट्रलाई चाहिँ धेरै फाइदा पुगेको छ । संविधान जारी गर्दा केही दलले असहमति राखेर आन्दोलन गरे । गठबन्धनले नै ती शक्तिका लागि संविधान स्वीकार्य बनाएको छ । राजनीतिक क्रान्तिपछि राज्यको पुनः संरचना भएको छ । राज्यको पुनः संरचना भई देशले दिशा समाएको छ ।

कांग्रेससगकै गठबन्धनमा हुँदा माओवादीलाई पनि धेरै फाइदा भयो । अध्यक्ष प्रचण्डको सरकार हु“दा आर्थिक वृद्धि सात प्रतिशत पुग्यो । देशमा १५–१६ घन्टासम्म हुने लोडसेडिङ अन्त्य भयो । देशका राष्ट्रिय गौरवका आयोजना एकदमै धिमा गतिमा बढेका थिए । ती आयोजनालाई समयमै पूरा गरे बोनस दिने प्रचण्ड सरकारले घोषणा ग¥यो । विकास निर्माणलाई समयमै पूरा गर्न माओवादी सरकारले घचघच्याउने काम ग¥यो । एमाले अध्यक्ष केपी ओली र एमाले पार्टीले फास्ट ट्र्याक भारतीयलाई दिने भए भन्दै डंका पिटेका थिए । त्यो फास्ट ट्र्याक चार वर्षमा पूरा गर्ने गरी नेपाली सेनालाई दिने निर्णय भयो । नाकाबन्दीको समयमा भारत र चीनसितको सम्बन्ध चिसिएको थियो । तर, दुई छिमेकी देशसितको सम्बन्धलाई सन्तुलनमा राख्न माओवादीले महत्वपूर्ण भूमिका खेल्यो ।

प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन

स्थानीय तहको निर्वाचन माओवादी–कांग्रेस गठबन्धनले गरायो । सोही गठबन्धनले नै संघ र प्रदेशको निर्वाचन पनि गराउँछ । यो गठबन्धनबाट माओवादी तलमाथि हुँदैन । हामीले यो गठबन्धनलाई इमानदारीपूर्वक सहयोग गरेका छौँ । कांग्रेसबाट पनि इमानदारीपूर्वक सहयोग हुने अपेक्षा छ । संघ र प्रदेशको निर्वाचनमा धेरै ठाउँमा स्वतन्त्र रूपमा लड्ने हुन सक्छ । केही निर्वाचन क्षेत्रमा भने दुई दलको सहमतिमा तालमेल हुन पनि सक्छ । तालमेलका लागि कांग्रेस–माओवादीका शीर्ष नेताले मात्र तालमेल गरेर हुँदैन । दुवै दलका तल्लो तहका कार्यकर्ताले सहयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा खासखास ठाउँमा तालमेल हुन सक्छ ।

माओवादीले तालमेलका विषयमा पहिल्यै निर्णय गरिसकेको छ । परिवर्तनकारी शक्तिसँग मात्र तालमेल गर्ने भनेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा धेरै ठाउँमा तालमेल भयो । तर, पहिलो र दोस्रोभन्दा तेस्रो चरण स्थनीय तहको निर्वाचनमा उति राम्रो तालमेल हुन सकेन ।

एमालेसँगको गठबन्धनमा धोकाधडी

अहिले मात्र होइन, माओवादी शान्तिप्रक्रियामा आउनेबित्तिकै वामपन्थीबीच तालमेल र धु्रवीकरणको पक्षमा थियौ“ हामी । अहिले पनि माओवादी वामपन्थी धु्रवीकरण र तालमेलकै पक्षमा छ । तर, नाममा मात्र वामपन्थी दलस“ग तालमेल र गठबन्धन गर्न असाध्यै गाह्रो हुने रहेछ । वामपन्थीको नाममा असाध्यै संकीर्ण हुने, वामपन्थी सहकार्यका नाममा सहकर्मी दललाई निषेध गर्ने काम भयो । वामपन्थको नाममा एमालेबाट एकदमै धोकाधडी र बेइमानी भयो । सहमतिको पालना नगरी माओवादीलाई एकदमै हेप्ने काम भयो । माओवादीविरुद्ध केही वकिल न्यायाधीशलाई उचालेर फसाउने काम गर्न थालियो । यस्ता व्यवहार देखाउने दलसँग कसरी सहकार्यका लागि गठबन्धन गर्न सकिन्छ ?

विकास र आर्थिक समृद्धिको नेतृत्व माओवादीबाट

अहिलेका सबै परिवर्तनका एजेन्डा माओवादीका हुन् । माओवादीकै बलमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता समावेशितालगायत मुद्दा आए । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको मुख्य जिम्मेवारी पनि माओवादीकै हो । हामीले जनयुद्ध गरेर ल्याएका उपलब्धि हामीले नै कार्यान्वयन गर्नुपर्छ । यसैबाट मुलुकलाई आर्थिक विकास र समृद्धितिर लग्नुपर्नेछ । देशलाई समृद्ध बनाउ“दै समाजवादको बाटोतर्फ लग्नुपर्ने छ । तत्काल राजनीतिक रूपमा हेर्दा अहिलेको संविधान कार्यान्वयन गर्नु नै मुख्य दायित्व हो । त्यसपछि समाजवादको आधार तयार गर्ने हो । तर, देशको अहिलेको आवश्यकता विकास निर्माण र आर्थिक समृद्धि नै हो ।

नेपाल प्रकृतिक स्रोतसाधनले धनी छ । देश विविधताले भरिपूर्ण छ । देशलाई पर्यटन क्षेत्रबाट मात्र पनि समृद्ध बनाउन सकिने देखिन्छ । नेपाल एउटा कृषिप्रधान देश हो । तर, विदेशबाट अर्बौंको चामललगायत अन्य खाद्यान्न आयात भइरहेको छ । यो आयातलाई कम गरी खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने छ । बाटोघाटो, रेललगायत विकास निर्माणको द्रुत विकास गर्नुपर्ने छ । देशमा धेरै युवा विदेश पलायन भइरहेका छन् । उनीहरूका लागि देशमै रोजगारी सिर्जना गर्नु जरुरी छ । अहिलेका परिवर्तनका एजेन्डाको नेतृत्व माओवादीले ग¥यो । राजनीतिक एजेन्डालाई सहयोग पुग्ने गरी आर्थिक समृद्धिको नेतृत्व पनि माओवादीले नै गर्नुपर्छ । कांग्रेस, एमालेजस्ता परम्परागत संसद्वादी दलबाट आर्थिक समृद्धिको नेतृत्व सम्भव छैन । आर्थिक विकास र समृद्धिको नेतृत्व माओवादीले मात्र गर्न सक्छ । आर्थिक विकास पनि क्रान्तिकारी ढंगले गुर्नपर्छ । देशलाई १०–१५ वर्षमै एउटा स्तरमा पु¥याउनुपर्ने छ । अरूले भनेजस्तो ४०–५० वर्ष लगाई देशलाई समृद्ध बनाउने होइन । आगामी १०–१५ वर्षभित्रै मुलुकलाई समृद्ध बनाउनुपर्ने छ । छिमेकी देश भारत र चीनले आर्थिक रूपमा द्रुत विकास गरिरहेका छन् । ती छिमेकी देशबाट नेपालले फाइदा लिन सक्नुपर्छ, तब मात्र नेपाल आर्थिक रूपमा समृद्ध हुन्छ ।

भद्रगोल माओवादी यसरी समालिन्छ

निश्चित रूपमा माओवादी विभाजित हुँदा एजेन्डाहरू कमजोर भए । अन्ततः राष्ट्र नै कमजोर हुने अवस्था आयो । राष्ट्र नै कमजोर हुने अवस्था आएपछि त्यसको वस्तुनिष्ठ मूल्यांकन गरी केन्द्रीकरण सुरु भयो । अहिले धु्रवीकरण र एकता थालेका छौँ । माओवादी मात्र नभई सच्चा वामपन्थीबीच पनि धु्रवीकरण र एकता हुन थालेको छ । यस्तो हुँदा संगठन थोरै भद्दा जस्तो देखिएको छ । संगठनलाई चुस्तदुरुस्त बनाउन गत पुस महिनामै महाधिवेशन गर्ने भनेका थियौँ । अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व गरेर गएपछि त्यो हुन सकेन । लगत्तै स्थानीय तहको निर्वाचन आयो । फेरि संघ र प्रदेशको निर्वाचन आइसक्यो । त्यसैले अहिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ ।

निर्वाचनपछि हामी महाधिवेशनको तयारीमा लाग्छौँ । एक वर्षभित्र महाधिवेशन गरी विचारको समृद्धीकरण गर्नुका साथै संगठनलाई चुस्त–दुरुस्त बनाउँछौँ । हामी अहिले शान्तिप्रक्रियाको अन्तिम चरणमा छौँ । आगामी निर्वाचनमा माओवादी विकास र समृद्धिको एजेन्डा बनाएर अगाडि बढ्नेछ । राजनीतिक रूपमा हामीले ठुल्ठूला उपलब्धि हासिल गरौँ । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीको कमजोर उपस्थिति हुँदा शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सम्झौता गर्नुप¥यो । राष्ट्रको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक हुनुपर्छ । राजनीतिक स्थिरताका लागि जनताबाट प्रत्यक्ष राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा उठाउने तयारी गरेका छौँ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएमा कम्तीमा पाँच वर्ष ढुक्कसँग काम गर्न सकिन्छ ।

यस्तो खालको राजीतिक स्थिरताले मात्र आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ । जनताबाट प्रत्यक्ष कार्यकारी प्रणाली भएमा हिमाल, पहाड, तराई सबै भूगोलका जनताले भोट दिन पाउँछन् । महिला, पुरुष, दलित, जनतजाति, मुस्लिम सबैले एकैपटक अधिकार प्रयोग गर्न पाउँछन् । सबै क्षेत्र, वर्ग, जातजातिले कार्यकारी चयनको निर्वाचनमा प्रत्यक्ष सहभागिता गर्न पाउँछन् । अहिलेको निर्वाचन प्रणालीले पैसा हुने ठकेदारहरू जनप्रतिनिधि बन्ने वातावरण भयो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएमा जनउत्तरदायी प्रतिनिधि आउने सम्भावना रहन्छ ।

-पम्फा भुषाल, माओवादी केन्द्रकी प्रवक्ता हुन् ।

Leave a comment

Your email address will not be published.


*