21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

‘अब केपी ओलीले सुन्ने बानी गर्नुपर्छ’

        गगन थापा   |   प्रकाशित मितिः बिहिबार, भदौ २९, २०७४     9:46:28 AM  | 84 पटक पढिएको   |  

तीन चरणमा निर्वाचन गर्न सहज थिएन । कसैलाई सरकारमा राखेर, कसैलाई सरकार बाहिर राखेर, कसैलाई फकाएर, फुल्याएर, मिलाएर यहाँसम्म ल्याउने कुरा सजिलो थिएन । गएको चार वर्षदेखि कांग्रेसले यो जिम्मेवारी पूरा गरेको छ ।

अरुलाई भन्न बढो सजिलो छ । म भने सिंहदरबार र बालुवाटार बैठकका दृश्य सम्झिन्छु । बीचमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल बस्नु भएको छ । दायाँपट्टि केपी शर्मा ओली र माधव नेपाल बस्नु भएको छ, देब्रेतिर राजेन्द्र महतो र उपेन्द्र यादव बस्नु भएको छ । राजेन्द्र महतो र उपेन्द्र यादव जुरुक्क उठ्नुहुन्छ र भन्नुहुन्छ–यो संविधान संशोधन नभए हामी देखाइदिन्छौं। यताबाट केपी ओली र माधव नेपाल जुरुक्क उठेर रामचन्द्र र शेरबहादुर तिर फर्कदैं भन्नुहुन्छ, यो संविधान संशोधन भयो भने हामी देखाइदिन्छौं । देखाइदिन्छु भन्यो हात उठायो, गाली गर्‍यो, घर फर्कियो, घुप्लुक्क सुत्यो सकियो । बीचमा बसेका शेरबहादुर र रामचन्द्रले उठेर कसलाई देखाउने ?

शेरबहादुर र रामचन्द्रले पनि आकाशतिर हेरेर देखाइ दिन्छु भनेर सुतेको भए न अहिले संविधान बन्थ्यो, न अहिले चुनाव हुन्थ्यो, न अहिले शान्ति आउँथ्यो, न अहिले सुव्यवस्था आउँथ्यो, केही पनि आउँदैनथ्यो । यसो भन्दै गर्दा फेरि कांग्रेसलाई पटक्कै भ्रम छैन । राजेन्द्र महतो र उपेन्द्र यादवले भन्नुभएको जस्तो यो संविधान कागजको खोस्टो हो, यो संविधानमा केही पनि छैन भन्ने कुरा गलत हो । केपी ओली र माधव नेपालले भन्नुभएको जस्तो यो संविधानमा सबै कुरा छ, यसमा कमा र फुलस्टप पनि परिवर्तन गर्नु हुँदैन भन्ने कुरा पनि गलत हो । कांग्रेस प्रष्ट छ, यो संविधानमा धेरै कुरा छ, थुप्रै कुरा छुटेको छ । भएको कुरा जोगाऔं र नभएको कुरा थपेर जाऔँ । यसलाई अचकल्टो नबनाऔं । कांग्रेस यो कुरामा पनि प्रष्ट छ, यहाँ टोपीको पनि सम्मान भयो र धोतीको पनि सम्मान भयो भने मात्रै यो देश, संविधान र राज्यव्यवस्था चल्छ । यहाँ धोतीको सम्मान गर्नको लागि टोपीको अपमान गर्नु पर्दैन । टोपीको सम्मान गर्नका लागि धोतीको अपमान गर्नु पर्दैन ।

दुईवटैको सम्मान एकै पटक गरेर जान सकिन्छ र गर्नुपर्छ । यहाँ जनै लगाउनेको पनि नलगाउनेको पनि सँगसँगै सम्मान गर्नु पर्दछ । यहाँभित्र सबै धर्मका, सबै जातजातिका, सबै भाषा बोल्नेलाई सँगसँगै सम्मान गर्‍यौं, बराबर हैसियत दियौं, सँगै मिलाएर लिएर जान सक्यौँ भने मात्रै यो देश एक ठाउँमा रहेर हामी प्रगतितर्फ लम्कन सक्छौं । यही भनेको होइन कांग्रेसले ? यही भन्दै गर्दा प्रदेश नम्बर दुई बाहेकको चुनावमा कांग्रेस निर्वाचन हारेर आएको छ । तर हामीलाई केही गम छैन । त्यो निर्वाचन हार्दै गर्दा, कांग्रेसलाई जम्मा एउटा आरोप लगाइयो । के भनिएको छ कांग्रेसलाई ? म दार्चुलाको चुनावमा पनि थिएँ, ताप्लेजुङको चुनावमा पनि देखेँ, सबै ठाउँमा कांग्रेसका विरुद्धमा नेकपा एमालेले आफ्नो मञ्चबाट भनेको छ– यो पार्टीलाई मत नदेऊ । किन मत नदेऊ भने यसले राष्ट्रघात गरेको छ । हामीलाई यही कुरा भनिएको छ । अनि यो राष्ट्रवादको व्याख्या के हो भन्नुस् त । कांग्रेसले राष्ट्रघात किन गर्‍यो रे ? मधेसीको हक र अधिकारको पक्षमा बोलेको हुनाले यसले राष्ट्रघात गर्‍यो भनेर आरोप लगाइएको छ । यदि यो राष्ट्रघात हो भने नेपालभित्र बस्ने मधेसी, थारु, मुसलमान, दलित र यहाँभित्रका आम नेपाली जनताको पक्षमा बोल्नु एमालेको परिभाषामा राष्ट्रघात हो भने हजारौं पटक त्यो आरोप खेप्न कांग्रेस तयार छ । सय पटक निर्वाचन हार्न कांग्रेस तयार छ । तर कांग्रेसले यो जायज लडाइँ छोड्दैन ।

नेपाल भित्रका दार्चुला र ताप्लेजुङको चुनावमा कांग्रेसको एउटा उम्मेदवार मत माग्न उभिँदै गर्दा जसरी यहाँ अहिले मधेसी नै मधेसी हुनुहुन्छ, त्यहाँ पनि सबै लिम्बु नै लिम्बु छन् । दार्चुलाको चुनावमा सबै क्षेत्री र बाहुनमात्रै छन् । तर दार्चुला र ताप्लेजुङको मेयरको उम्मेदवारले मत माग्दै गर्दा मधेसका विरुद्धमा एक शब्द बोलिएको छैन । हिजो महोत्तरी, धनुषाका गाउँका कार्यक्रममा जाँदा त्यहाँका उम्मेदवारले मधेसी मतदातासँग भोट माग्दै गर्दा त्यहाँ एक शब्द पहाडियाका बारेमा अपमान हुने शब्द बोलिएको छैन । कांग्रेस सबैलाई जोड्न चाहन्छ, कांग्रेस सबका बीचमा प्रेम चाहन्छ । सबैलाई मिलाएर लैजान सकिन्छ भन्ने विश्वास गर्छ । के यो गलत हो ? के यो अपराध हो ? के हामी गलत गरिरहेका छौं ? त्यसैले मेरो तपाईहरुसँग आग्रह छ, नेपाली कांग्रेस एमालेभन्दा एक लाख भोटले पछाडि छ स्थानीय चुनावमा । जम्मा एउटा कारणले कांग्रेसलाई पछाडि पारिएको छ । मधेसमा रहेका नागरिकले नागरिकता पाएको छैन । नागरिकता नपाएको नागरिकले नागरिकता पाउनु पर्छ भन्ने कुरा गलत ? मधेसीहरुका सबै भाषाले बराबर सम्मान पाउनु पर्छ भन्ने कुरा गलत ? मधेसका मान्छेहरुले अझै पनि संसदमा, सरकारमा ठाउँ पाउनु पर्छ भन्ने कुरा गलत ?

कांग्रेस कार्यकर्ताको रुपमा म त १० वर्षअगाडि लहानको मैदानमा उभिएर बोलेको सम्झन्छु र त्यही नेपाली कांग्रेसको विचार हो भन्ने ठान्छु । मधेसका एउटा मान्छे राष्ट्रपति मात्र होइन, म यस्तो दिन देख्न चाहन्छु, जुन बेला मधेसमा जन्मिएको मधेसीको एउटा छोरा वा छोरी नेपालको प्रधानसेनापति भएको हेर्न चाहन्छु । यो गर्नु के अपराध हो ? के गलत हो ? यो ठाउँमा उभिएर सोध्न चाहन्छु, दिनरात सँधैभरी संसदमा, संविधान सभामा मधेसमा बस्ने मधेसी जनताको आत्मसम्मानलाई, मधेसभित्र बस्ने मधेसीको पहिचान र परिचयलाई अनेकौँ पटक धिक्कारेर माधव नेपाल अहिले कुन हैसियत र कुन जगमा उभिएर हाम्रो पार्टीलाई सूर्य चिन्हमा भोट हाल्नु होला भनेर मत माग्नु हुन्छ ?

त्यसै कारणले गर्दा यहाँहरु सँग आग्रह छ, यो पटकको निर्वाचनमा यहाँ कांग्रेसलाई जिताउने कुरा मात्रै होइन, यो स्थानीय चुनावपछि यही रौतहटमा उभिएर कांग्रेस एक नम्बरको पार्टी बन्छ भन्न पाऔँ । गर्जेर होइन, अहंकारी भएर होइन, विनम्र भएर भन्न चाहन्छु, पहाडमा बसेको नेपालीलाई, हिमालमा बसेको नेपालीलाई, मधेसमा बस्ने नेपालीलाई आखिर जनताको अभिमत भनेको समुदाय–समुदाय उचाल्नेको पक्षमा होइन रहेछ । मधेसमा आएर पहाडका मानिसका विरुद्धमा विषबमन गर्ने शक्तिलाई पनि यो निर्वाचनमा परास्त गर्नु छ । यो निर्वाचनमा पहाडमा गएर मधेसीहरुका विरुद्धमा विषबमन गर्ने शक्तिलाई पनि परारस्त गर्नु छ । घृणा फैलाउने शक्ति पराजित भयो, नेपाली–नेपालीका बीचमा लडाउने–भिडाउने शक्ति पराजित भयो, समुदायका बीचमा घृणा फैलाएर शक्ति आर्जन गरी त्यसको दुरुपयोग गर्ने शक्ति पराजित भयो, जनताको अभिमत सबै नेपाली एक हौं, सबै नेपाली बराबर हौँ, मधेसीदेखि पहाडी सबैको हक र अधिकार बराबर हो, सबै जातजाति बराबर भन्ने पक्षमा जनताको अभिमत रह्यो भन्ने कुरा रौतहटबाटै भन्न चाहन्छौं । त्यो भन्ने अधिकार, आधार, हामीलाई दिने कि नदिने ? यो ठाउँमा निर्वाचन जितेर मात्रै होइन, यो ठाउँको निर्वाचनको परिणामबाट कांग्रेस समग्रमा पहिलो शक्तिको रुपमा उभियो भने मात्रै कांग्रेसले त्यसो भन्न पाउँछ । होइन भने जुन शक्ति विभाजन चाहन्छन्, उनीहरुकै हौसला बढ्न जान्छ । त्यसैले मेरो आग्रह छ, यो चरणको निर्वाचन टुंग्याइ सकेपछि जब हामी निर्वाचन गराउँछौं, संविधानको कार्यान्वयको आवश्यकता सम्बन्धी संविधान संशोधन गर्छौं, हक–अधिकारका छुटेका कुरा थप्दै संविधानको प्रयोग गर्दै जान्छौं, त्यसबेला यीबाहेक थुप्रै कुरा गर्नु पर्नेछ ।

नेपालका अनेक जिल्लाहरु जाँदै गर्दा मैले देखेर आएको छु, दुःख सबैतिर छ, पीडा सबैतिर छ । तपाईंहरुलाई मधेसमा बस्दै गर्दा लाग्छ, हामी कति धेरै पछाडि परेका छौं भनेर । तर उता पहाडतिर गएर हेर्दा भने पहाडको दुःख पनि उस्तै छ । दुःख सबैको छ । गएको २५/३० वर्ष हाम्रो अवस्था राम्रो रहेन । बाटो बनेको देखिएको छ सतहमा । तै पनि हाम्रो समय, हाम्रो उत्साह, हाम्रो ऊर्जा सधैँ कुनै न कुनै खालको राजनीतिक लडाइँमा गएर अड्किएको छ । अबको हाम्रो इच्छा र यात्रा अभिलषा पूरा गर्नेतर्फ, सुख र समृद्धिको खोजीतर्फ हुनुपर्छ ।

हाम्रा तन्नेरीहरुलाई नेपालभित्रै काम गर्ने मौका दिन सकिएन भन्ने आवाज सबैभन्दा ठूलो स्वरमा उठ्ने गरेको छ । वर्षमा पाँच लाख युवाहरुलाई नेपालमा रोजगारी चाहिएको छ । यति धेरै युवा साथीहरु कार्यक्रममा आउनु भएको छ, सबैलाई काम के गर्नु हुन्छ भनेर सोध्यो भने धेरैजसोले आफ्नो काम बताउन सक्ने अवस्था छैन । कोही बाहिर गएर आउनु भएको छ अथवा बाहिर जाने तयारीमा हुनुहुन्छ । वर्षको ५ लाख मान्छेलाई काम आवश्यक हुँदाहुँदै नेपालमा मुस्किलले ५० हजार जनाले मात्र जागिर पाउँछन् । काम नपाएपछि युवाहरु बाहिर जान्छन् । अनि बाहिर टन्न पैसा कमाउँछन् र पैसा घरमा पठाउँछन् । त्यो पैसा पठाएर उनीहरुले सरकारलाई पाल्छन् । कृषिप्रधान देश नेपालले भारतबाट अर्बौ रुपैयाँको धान किन्छ । दशै–तिहार आउँदै छ, हामी जता हेरेपनि कृषकै कृषक देख्छौं तर फेरि अर्बौं रुपैयाँको सामान दशैँ–तिहारका लागि भित्र्याउँछौं । हामी दूध, मासु, तरकारी, माछा सबै भारतबाट किनेर ल्याउँछौं । युवायुवती हामी बाहिर काम गर्न पठाउँछौं । तिनीहरुले घर चलाउनलाइ पैसा पठाउँछन् । अनि हामी त्यही पैसाले भारतबाट दाल, तेल, चामल, धान, तरकारी, लगाउने लुगादेखि सबै सामान ल्याउँछौं । त्यो किन्दा कुनै न कुनै तवरबाट हामीले सरकारलाई कर तिर्छौँ र त्यो करबाट हामीले बाटोघाटो बनाउँछौँ अनि बडो फूर्ति लगाउँदै सरकारले भन्छ, मैले यो गरिदिएँ, मैले त्यो गरिदिएँ । हामी सरकार चलाउनेहरु पनि तपाईंलाई यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्छौं । त्यो सबै आएको कहाँबाट हो ? कतारमा गएका मानिसहरुले पठाएको पैसाबाट आउने करबाट मात्रै कुनै देश बनेको छैन । हाम्रो पनि बन्दैन ।

पञ्चायतबाट सरकार गिरिजाप्रसादले लिँदै गर्दा नेपालको जम्मा पूँजी ३० अर्ब रुपैँया मात्र थियो । अहिले नेकपा एमालेका साथीहरुले भन्ने गर्नुभएको छ, हाम्रो पार्टीले वृद्ध भत्ता यति बढायो, उति बढायो । अब म कांग्रेसको सदस्य भएर भन्छु, अबको ५ वर्षभित्रमा नेपालमा ६५ वर्ष नाघेका जेष्ठ नागरिकहरुले प्राप्त गर्नु भएको २ हजार रुपैयाँ दोब्बरभन्दा बढी गरेर पाँच हजार रुपैयाँ, त्यो पनि घरमा बसेर पाउन सक्ने अवस्था आएन भने म जस्तोसुकै प्रश्नको उत्तर दिन पनि तयार छु । यो मैले तालीका लागि भनेको होइन। यो नचाहिँदो कुरा हो । मैले के अर्थमा नचाहिने कुरा भन्दै छु भने वृद्ध भत्ता आफैँ बढ्छ। कांग्रेसको पालामा ५ सय रुपैयाँलाई १००० रुपैयाँ बनाइयो । कांग्रेसले त्यसलाई गीत बनाएन । ५ सय रुपैँय हजार भयो तपाईंहरुले थाहा नै पाउनु भएन । १००० को डबल २ हजार पुग्दा देशैभर गीतैगीत छ, तर ५ सयको डबल १००० हुँदा थाहै भएन । गिरिजाबाबुले पञ्चायतबाट सरकार लिँदै गर्दा जम्मा पूजी ३० अर्ब थियो तर अहिले १० खर्ब भएको छ । यो वृद्धभत्ता आफैँ बढ्दै जान्छ । कांग्रेसले नै ५ हजार रुपैयाँ पुर्‍याउने हो । कांग्रेसले अहिले एउटा प्रस्ताव अघि सारेको छ– देशभरिको प्रत्येक परिवारलाई न्यूनतम बाँच्नका लागि १० हजार चाहिन्छ र त्यो परिवारको आम्दानी जम्मा ४ हजार मात्रै छ भने त्यो परिवारलाई सीधै ६ हजार रुपैयाँ उपलब्ध गराइने छ । ४ हजारमा ६ हजार थपेपछि बल्ल त्यो गरिब बाँच्छ ।

कांग्रेस प्रष्ट छ, कांग्रेस गरिबहरुको पार्टी होइन । तपाईंहरु भ्रममा नपर्नुस् । यदि तपार्इं गरिबको पार्टीलाई भोट हाल्ने भनेर आउनु भएको छ भने कांग्रेसलाई भोट नहाल्नुस् । गरिबको पार्टी कांग्रेस होइन । गरिबको पार्टीलाई भोट हाल्ने भए एमालेलाई नै हाल्नुस् । एमाले गरिबकै पार्टी हो । कांग्रेस होइन । कम्युनिष्ट पार्टी पूरा माक्र्सवादी लेनिनवाादी के के हुन् के के । म त हुनेखाने पार्टीको मान्छे हुँ । म एकदम हुनेखाने पार्टीको मान्छे हुँ र मैले सकेपछि पूरा हुने खानेको पार्टीमात्रै बनाउँछु । तर एउटा कुरा बुझ्नुस्, हुने खानेको पार्टी र गरिबको पार्टीबीच के फरक छ ? गरिबको पार्टी जताततै चुनाव जित्न चाहन्छ । गरिबको पार्टीले चुनाव चाहिँ कतिखेर जित्छ भन्नुस् त ? देशभर गरिबैगरिबको संख्या भयो भने मात्रै चुनाव जित्छ ।

गरिबहरु थोरै भए भने गरिबको पार्टी हार्छ । मलाई त गरिबीदेखि डर लाग्छ । गरिबको संख्या बढ्यो भने मेरो पार्टी कमजोर हुन्छ । मेरो कोशिस गरिबलाई कसरी धनी बनाऔँ भन्ने हो । किनकि गरिब धनी भयो भने त्यो मेरो पार्टीमा आउँछ । मेरो प्रयास त्यो रहन्छ । त्यसैले ४ हजारमात्रै आम्दानी भएको गरिबलाई महिनाको ६ हजार दिएर महिनाको १० हजार बनाएर उसको घर व्यवहार चलाउने बनाउने हो । मैले वृद्ध भत्ता बढाएर, स्वास्थ्य बीमा गरेर, रोजगारी दिलाएर जसरी भएपनि गरिबलाई हुनेखाने बनाउनु पर्‍यो । अनि हुनेखानेको संख्या बढ्दै गयो भने कांग्रेसको संख्या बलियो हुन्छ । गरिबहरुको पार्टी कमजोर हुँदै जान्छ । कसरी हो त्यसलाई कमजोर बनाउँदै लैजानु पर्‍यो । यो प्रतिस्पर्धा हो । यो मैले भन्नको लागि भनेको होइन । यो प्रतिस्पर्धा छ, चलिराख्छ ।

म आज घोषणा गरेर भन्छु, दाबीका साथ भन्छु, माधव नेपाल र केपी शर्मा ओलीलाई भन्छु, हामीले होइन उहाँहरुले अब सुन्ने बानी गर्नुपर्छ । प्रदेश नम्बर २ मा मंसिर २१ गते हुने चुनावबाट प्रचण्ड बहुमतका साथ नेपाली कांग्रेसको सरकार बन्छ । मधेसमा नेपाली कांग्रेसको सरकार नै बन्छ । अब प्रदेश नम्बर २ मा मात्रै होइन, सातवटै प्रदेशमा नेपाली कांग्रेसको बन्छ, सिंहदरबारमा कांग्रेसकै सरकार हुन्छ ।

-गगन थापा पुर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका नेता हुन् ।

Leave a comment

Your email address will not be published.


*