21 September 2017|   बिहिबार, अशोज ५, २०७४

देउवा सरकारको इतिहासकै ठूलो ५४ सदस्यीय मन्त्रिमण्डल बन्दै, चार मन्त्रीको आज शपथग्रहण

          |   प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४     9:31:20 AM  | 53 पटक पढिएको   |  

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डलमा चार सदस्य थप गर्दैछन् । प्रधानमन्त्रीमा निर्वाचित भएको तीन महिनापछि देउवाले पाँचौँ पटक मन्त्रिपरिषद् बिस्तार गनै लागेका हुन् । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा मन्त्रिपरिषद् बिस्तार गर्न मिल्ने वा नमिल्ने विवाद कायमै रहेका बेला प्रधानमन्त्री चार मन्त्री थप गर्ने निर्णय लिएका हुन् ।

राप्रपा प्रजातान्त्रिकका तर्फबाट आज चार मन्त्री थपिँदैछन् । जसमा एक राज्यमन्त्री पनि छन् । चार मन्त्री थपिए सँगै मन्त्रिपरिषद्मा ५४ मन्त्री हुनेछन् । मन्त्रिपरिषदको आकार अहिले सम्मकै सबैभन्दा ठूलो हो ।

२०५२ सालमा देउवाले नै ५२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर रेकर्ड बनाएका थिए । २२ वर्षपछि सर्वाधिक ठूलो मन्त्रिपरिषदको रेकर्ड देउवा आफैले तोड्न लागेका हुन् । यसभन्दा अघिल्लो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा ५० सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । ०६८ मा डा. बावुराम भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट संसदीय दलका नेता दीपक बोहोरा, दलका उपनेता बिक्रम पाण्डे र सुनील बहादुर थापाले मन्त्रीको शपथ लिँदैछन् । यस्तै, रेशम लामाले राज्यमन्त्रीको शपथग्रहण गर्नेछन् । बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।

कार्यविभाजन अनुसार बोहोराले विज्ञान प्रविधि, पाण्डेले बन र थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाउनेछन् । लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउँनेछन् ।

राप्रपाबाट विभाजित भई अदालती प्रक्रियाबाट दलको मान्यता लिएको राप्रपा प्रजातान्त्रिकमा १९ सांसद् छन् ।

Leave a comment

Your email address will not be published.


*