21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

पूर्वी रुकुमको ऐतिहासिक तातोपानी ओझेल पर्दै

          |   प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४     10:09:41 AM  | 104 पटक पढिएको   |  

रुकुम – पूर्वी रुकुमको सिस्ने गाउँपालिका वडा नं. ४ पोखरामा रहेको ऐतिहासिक तातोपानी क्षेत्र ओझेलमा पर्न थालेको छ । परापूर्वकाल देखि नै प्रसिद्ध तातोपानीको नामले चिनिएको उक्त स्थानको उचित संरक्षण र कुनै व्यवस्थापन नहुँदा नदी बगरको माटोले पुरिने अवस्थामा पुगेको हो ।

सानो भेरी नदि छेउको किनारमै अवस्थित उक्त तातोपानीको संरक्षणमा कुनै त्यस्तो विषेश अभियान नचलाईंदा हाल तातोपानी स्थानको मुहान पुरिएर जाने अवस्थामा रहेको छ । प्राकृतिक रुपमा आफै उत्पत्ति भएको तातोपानी पिउने र नुहाउने गर्नाले विभिन्न रोगहरु समेत निको हुने विश्वासले वर्षेनी तातोपानी क्षेत्रमा देश विदेशबाट पर्यटकहरु आउने गर्दछन् ।

विशेष गरेर हिउँद यामको समयमा बुढापाखाहरु न्यानोपनको लागि केही दिन बास बस्ने गरी आउँने र त्यहि सुखको अनुभूति लिने गरेको पोखराका स्थानीयबासी बताउँछन् । तर, वर्खा सुरु भएपछि दुई महिना जति सानो भेरी नदिको बहावले तातोपानीको केही भाग पुरिने भएकोले कतै तातोपानी नै नरहने होकी भन्ने चिन्ताले पनि उल्टै स्थानीयबासीलाई पिरोल्ने गरेको छ ।

दुई वर्ष अघि तातोपानी संरक्षणका लागि जिल्ला समन्वय समिति रुकुमको केही आर्थिक सहयोगमा तटबन्ध निर्माण गरेर कुवा र धारा निर्माण गरिएको थियो । तर, त्यो सबै मेहनत बालुवामा पानी खनाए जस्तै भएकाले हाल तातोपानी क्षेत्र बगरमा परिणत भएको छ ।

तरपनि धार्मिक मान्यता सहित पर्यटकिय इतिहास बनाएको तातोपानी मूल संरक्षणका लागि भन्दै सिस्ने गाउँपालिकाले यो वर्ष केही बजेट विनियोजन गरेको गाउँपालिकाकी अध्यक्ष कुमारी बराल गौतमले बताए ।

यसअघि रुकुम जिल्ला एउटै हुँदा समग्र जिल्लाको पहिचान बनाएको पोखराको तातोपानी क्षेत्रलाई रुकुमकै ऐतिहासिक स्थलको रुपमा लिने गरिन्थ्यो । स्थानीय स्तरमै आर्थिक आम्दानीको रुपमा तातोपानीलाई विकास गर्न स्थानीयले सरोकारवाला निकायलाई आग्रह गर्दा पनि त्यसतर्फ भने राज्य आफै वेखबर बनेको स्थानीयको बुझाई छ ।

-यो समाचार रेडियो गेमी त्रिवेणी एफ.एम. का स्टेशन म्यानेजर एवं जनता टेलिभिजन रुकुम सम्बादाता अमरराज पुनले तयार पारेका हुन् ।

Leave a comment

Your email address will not be published.


*