21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

यो देश, विपी र श्रद्धाञ्जली

        जनक केसी   |   प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     12:11:34 PM  | 180 पटक पढिएको   |  

जनक्रान्तिका बेला प्रवासबाट नेपाल फर्कने क्रममा विपी कोइरालाई भारतीय पक्षबाट जनआन्दोलन सफल बनाएर बहुदल घोषणा गरिदिने भनेर राखिएको प्रस्तावमा उनले तिमीहरुले फर्काएको लोकतन्त्र तिमीहरुकै हुन्छ हाम्रो हुदैन, नेपालको लोकतन्त्र नेपाली जनताकै सक्रियताले स्थापना गर्नुपर्छ भनेर दिएको जवाफ र राजतन्त्र फालेर तिमीलाई राष्ट्रपति बनाई दिन्छौं भनेर आएको अर्काे प्रस्तावमा उनले यत्रो २ सय वर्ष शासन गरेका राजालाई त यिनीहरु चुटकीको भरमा फाल्ने कुरा गर्छन् भने मलाई के गर्लान अनि हाम्रो लोकतन्त्रको हालत के होला भनेर दिएको जवाफ पढेर महामानव कोइरालाको जन्म दिनको सन्दर्भ पारेर केहि लेख्न मन लाग्यो ।

भदौ २४ गते विपी कोइरालालाई नेपाली राजनीतिमा मात्र होइन दक्षिण एसियाकै एउटा अब्बल राजनेताको रुपमा नसम्झने सायद कमै होलान् । तत्कालीन भारतीय शासक र नेताहरुको नेपाल र नेपाली प्रतिको हेपाहा प्रवृति सहन नसकेर विपीेले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आउँनुको उद्देश्य अहिलेका सवै नेताहरुलाई राम्रो संग थाहा छ । तर दुःखको कुरा विपी बुझेका नेताहरु आफ्नो बुझाईलाई व्यवहारमा लागु गर्दैनन् । बाहिरी शक्तिको कारणले भन्दा पनि आफ्नै आन्तरिक फुट र विभाजनको कारणले नेपाल सधै अस्थिरताको सिकार हुने गरेको अनि लोकतन्त्र सधैं संकटको घेरामा पर्ने गरेको सत्य संग २०३३ पुस १६ गते विपीको नेपाल आगमन पनि सम्बन्धित छ ।

भारतमै बसेर जनक्रान्ति गर्दा नेपालको लोकतन्त्र अप्ठेरोमा पर्ने मात्र होइन देश नै नरहने हो कि भन्ने चिन्ता लिएर विपी स्वदेश फर्किएका थिए । देश भित्रको आन्तरिक एकता मजबुत नभईकन हामीले सिर्जेको लोकतन्त्र हामी आफैले जोगाउन सक्दैनौं भन्ने मुल कुरा नै ३३ सालको विपी आगमनको मकसद हो ।

अहिले नेपालमा राष्ट्रियता, लोकतन्त्र र स्वाधिनताको विषयमा को बढी राष्ट्रवादी बन्ने, को बढी लोकतन्त्रको हिमायती बन्ने या कसको सिद्धान्त देशको आम स्वार्थ अनुकुल छ भन्नेमा तिब्र रुपमा विभिन्न तर्क वितर्क र मतभेदहरु उब्जिरहेका छन् । लोकतन्त्र र राष्ट्रियताका विषयमा काँग्रेस कम्युनिष्टहरु मात्र होइन राजावादीहरु समेतले आफ्नै तर्क र दलिलहरु सार्वजनिक गर्ने क्रम तिब्र बनाएका छन् । आन्दोलन र सत्ता खोसाखोस गर्दागर्दै ७० वर्ष विति सकेको छ तर पनि नेपालले दक्षिण एसियाकै मुलुकहरुसंग आर्थिक र सामाजिक विकासको गतिमा आफ्नो समान गति बनाउन सकेको छ्रैन । दक्षिण एसियाका दुइ ठूला मुलुकहरु भारत र चीनका बीचमा समृद्ध र आत्मनिर्भर देश बनाउने विपीको प्रजातान्त्रिक समाजवादको सपना अहिले पनि पुरै अधुरै छ । राणाबाट लोकतन्त्र खोसेको र भारत अंग्रेजको कब्जाबाट फुत्किएको बराबर नै भयो तर भारत कहाँ पुग्यो नेपाल कहाँ रह्यो ? आन्तरिक विवाद र झगडाको बीचमा झाङिदै गएको नेपाली राजनीति विश्वासमा विकास र सम्वृद्धिका लागि निकै सम्भावनाहरुले भरिएको नेपालको बाधक बन्दै बन्दै गएको आम नेपाली सचेत नागरिकहरुको तीतो अनुभुति छ । त्यसैले अहिले प्रत्यक नेपालीको मुखवाट निस्कने वाक्य हो “यो देशले गतिलो राज नेतृत्व पाएन ।” पहाडी तथा हिमाली खोलाहरुमा कलकल बग्ने पानी मात्र बेचेर पनि दक्षिण एसियाको आर्थिक यात्रामा नेपाल अघि आउन सक्छ । तर यहाँको राजनैतिक अस्थिरता र संकुचित राजनीति लाखौं सक्षम युवाहरुले देश छोडेर विदेशमा आफ्नो योग्यता र दक्षता विक्री गरेकोमा पछुतो मान्नुको सट्टा उल्टै गर्व गर्छ । यो नै लोकतन्त्र र देशको सम्वृद्धिका लागि पहिलो दुभाग्र्य हो । के साँचिकै विदेशमा दक्षता र श्रम वेच्नका लागि मात्रै ती युवाहरुले नेपालमा जन्म लिएका हुन त ? के आफनो देशको योग्य जनशक्ति विदेशमा पठाएर यो देशको सम्वृद्धि सम्भव छ त ? जनताले आशा गरेको र देशका लागि बलिदान गर्नेहरुले देखेको सुन्दर नेपाल बन्ने छाँटका विरुद्ध चरम राजनैतिक अराजक्ता र वेइमानी निकै शसक्त बन्दै गएको छ । मुलुकमा राणा र राजाबाट लोकतन्त्र खोसेर जनताको हातमा सुम्पेको दाबी गर्ने काँग्रेस पनि आन्तरिक रुपमा निकै बलिया विभाजनका जराहरु उमारिरहेको छ । आफू नमिलेर अरुलाई मिलाउन सकिदैन भन्ने सत्य काँग्रेसी नेताहरुले भुलेका हुन् या नजानेका हुन् पत्ता लाउन गाह्रो भएको छ । आफु भित्रको एकता र लोकतन्त्र कम्जोर पारेर देशको लोकतन्त्रको ठेक्का लिनु पनि काँग्रेसका लागि सुहाउने विषय हो जस्तो लाग्दैन । झन कम्युनिष्टहरुका त कुरै नगरौं पार्टीमा फुट र विभाजन उनीहरुको विशेषता नै भएको छ । नफुटने कम्युनिष्ट पाउन यहाँ मुस्किल छ । सर्वहाराको नाममा राजनीति गरेर उनीहरुकै रगत र बलिदानमा ठट्टा गर्ने गरेको आरोप पनि छ । जनता संग महंगी वेथिति र निरासाको पहाड मात्र होइन लोकतन्त्रप्रति वितृष्णाको बाढी पनि उर्लन थालिसकेको छ । दलका नेताहरु भने चुनाव कसरी जित्ने र सत्तामा कसरी पुग्ने भन्ने दाउको खेलमा व्यस्त छन् । चिन्ता अहिले सत्ता र चुनावको हुदै होइन तर हाम्रो राजनीती त्यसकै लागि अल्पकालीन स्वार्थका खातिर गिर्न अभ्यस्त छ । दिनहु सयौं सक्षम युवाहरुले देश छोडिरहेका छन् ।

खेतवारीमा तरकारी र अन्न फलाउनेको अभाव हुन थालेको छ । वनपाखाहरु उजाड मात्र होइन खेतवारीहरु वर्षाै ंदेखि बाँझो बनिरहेका छन् । संसारमा कुनै देशमा नभएका सफा र कलकल बग्ने खोलाहरु यो देशमा वेकाम बनाइएका छन् । त्यति मात्र होइन उत्तरका हिमाल अनि पहाडका मनोरम दृष्यहरु अनि विभिन्न बहुमल्य खानीहरु विना कामका बनाइएका छन् । सम्पदा र सम्भावनाहरु हाम्रा छन् तर लोभी आँखा अरुकै गढेका छन् । गरिबीको पीडा अनि अभावको सकस बढेको बढयै छ । जनता मोटा भया देश बलियो हुन्छ भन्ने ऐतिहासिक उखान लोकतान्त्रिक राजनीतिले बुज्न सकेको छै्रन । जुन राजनैतिक दर्शनका नेतालाई भोट हालेपनि ५ वर्ष सरकार टिक्दैन । धनको ओछयानमा रित्तै गोजी पारेर सुत्नु पर्ने र अन्नको भकारीमा भोक भोकै बाँच्नुपर्ने जनताको बाध्यात्मक अवस्था छ । सत्ताबाहिर बस्नै नसक्ने राजनेताहरुको पारा हेर्दा उन्नत नेपालको मार्गचित्र बन्ला र युरोप अमेरीकाका देशहरु संग प्रतिष्पर्धा गर्न सकौंला जस्तो पनि लाग्दैन । छिमेकी भारतको एक जना प्रधानमन्त्रीले हाम्रो देशका झण्डै आधा दर्जन प्रधानमन्त्री भेटन पाउछ पाँच वर्ष नपुग्दै । सत्ता केटाकेटीको खेलौना जस्तै बनेको छ नेपालमा ।

यहि विवाद तर्क राजनैतिक दाउपेचका बीचमा मलाई जननेता विपी कोईरालाको सम्झना गर्न मन लागेको छ । चाहे नेपालको राष्ट्रियताको कुरा होस चाहे नेपालको सम्वृद्धिको लागि चाहिने उपयुक्त राजनैतिक दर्शन र दुरदृष्टि सबै कुराको लागि विपी कोइराला युगले मागेको नेता हुन भन्ने कुरामा कसैको फरक मत छ जस्तो लाग्दैन । विपीले लेखेको जेल जर्नल र आत्मवृत्तान्तमा उल्ल्ोख भएको राजनीति नेपालको लोकतन्त्र र सम्वृद्धिको सपना वास्तवमा हामीले पढ्यौं मात्र व्यवहारमा उतार्न सकेनौं । देशले भोगेको विगत निर्माण गरेको इतिहास देशको सम्वृद्धिका लागि हुवहु लागु गर्न सकेनौं । विपी कोइरालाले जन्माएको काँग्रेस स्वयंले पनि पछिल्लो समय सत्ता राजनीतिको जुवालाई नै प्राथमिक्ता दिएर अघि बढेको जस्तो लाग्छ । अपदस्त भएको राजतन्त्र र नेपाली जनताको मनमा सधै विवादित भइरहने छिमेकी देश भारतका प्रति विपीको वुझाई र विश्लेषण अहिलेका राजनैतिक दलहरु र तिनका नेताहरुका लागि निकै अनुशरण योग्य पाठ देख्छु म । विपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादले कोरेको नेपालको चित्र काँग्रेसले नै हराइसक्यो कि जस्तो लाग्छ । कोहि पनि नेपालीलाई एक छाक मागेर खान नपरोस्, एक सरो नपाएर शरीर नांगो राख्न नपरोस् एक वित्ता बास सडकको पेटीमा बिताउन नपरोस् भन्ने विपीको लोकतान्त्रिक समाजवादी सपना देशले भुलेको छ । नेपाली नेता र जनताको आफ्नै एकता र बलबुताले समृद्ध नेपाल बन्नुपर्छ भन्ने विपीको समाजवादी तथा राष्ट्रवादी विचार अहिले सबैका लागि मनन योग्य छ तर अहिलेको राजनीति सत्ता हत्याउन र फुत्क्याउनमा मात्र केन्द्रित भयो । लोकतन्त्रको भविष्य र यसको दीर्घकालिन स्थायित्व भन्दा बढी क्षणिक रुपमा नेताको सत्तारोहणका लागि राजनैतिक उतार चढाव तिब्र बन्न पुग्यो ।

विपी कोइराला प्रवासमा हुने बेला होस् या जेलमा बस्ने बेला होस् अथवा सत्तामा बस्ने बेला होस् उनले नेपालको सार्भभौम सत्ता र नेपालको आर्थिक सम्वृद्धिका लागि देश भित्र र बाहिरका शक्तिलाई जुन रुपले बुझेका थिए आज त्यहि रुपमा नेपाली राज नेताहरुले बुझेको जस्तो लागेको छैन । विपीले नेपाललाई राष्ट्रियताका मामलामा आन्तरिक र बाह्यरुपमा बलियो मात्र होइन उचो सार्वभौमिक्ता र दिगो आत्मनिर्भताको निशान वनाउन खोजेका थिए । चर्काे स्वरमा राष्ट्रियताका नारा लाउदैमा र कसैलाइ सत्तोसराप गरेर गाली वेइज्जतिको खेतीले मात्र पनि यो देशको राजनैतिक तथा आर्थिक स्थायित्व र सावैभौमिक्ता निर्माण हुन सक्छ जस्तो लाग्दैन । समाज र राजनीति बुज्नका लागि पढिएका सबै दर्शनहरु नेपाल सुहाउँदो नहुन सक्छन् । नेपाली माटो र नेपाली समाजको सापेक्षता सुहाउँदो मौलिक दर्शनको जन्म हुन जरुरी छ । काँग्रसले विपीको बाटो छोडेको कुरा निकै चर्चामा छ । हाम्रा राजनेताहरु अदुरदर्शि बनेका कारण नेपालको लोकतन्त्र असुरक्षित बनेको नेपालको आर्थिक सम्वृद्धिको बाटो निकै कम्जोर बनेको अनुभुति हुँदै गएको छ ।

युरोप अमेरीका मात्र नभएर दक्षिण एसियाकै उन्नत देशका नेताहरुले सत्तारोहणका बेला राष्ट्रलाई के दिने कहाँ पुर्याउने भनेर अब्बल सपना र योजना राखेका हुन्छन् अनि पछि काम देखाएरै छोड्छन् पनि । यहाँ भने अर्काे चुनाव कसरी जित्ने होला बेरोजगार कार्यकर्ता कसरी भजाउने होला विकासमा कसरी फाईदा लुट्ने होला भन्ने योजना र सपना मात्रै देख्ने गरिएको छ । विपीले भने झै जनताको ठुलो बलिदानबाट आएको लोकतन्त्र अहिले सुकिला मुकिलाको हातमा परिसकेको छ । हाम्रो लोकतन्त्र र राज्य सन्चालनको प्रक्रियामा सुकिला मुकिलाकै हालीमुहाली छ । सिंगापुर, हङकङ अनि स्वीजरल्याण्ड बनाउने नाराले मात्र सर्वहारा जनताको कल्याण होला जस्तो लाग्दैन । भष्टाचारी र देशका लुटेराहरु राज्य र कानुनको संरक्षणमा छन् । आफनो सत्ता भविस्य र चुनावी जित हारको परवाह नगरेर देशका लुटेराहरुलाइ गलहत्याउन सक्ने सक्षम राजनेता देशले जन्माउन सकेन । भाषणले र नाटकले जनताको भावना जितेर मात्र देशमा आमुल परिवर्तन आउने सम्भावना पनि देखिएको छैन । विदेशतिर लखेटिई रहेको युवा शक्ति र खेर गइरहेको प्राकृतिक श्रोत र साधन यहि देशमा उपयोग गर्ने कामको तत्काल सुरुवात नभए सम्म चाहे प्रजाान्त्रिक समाजवाद, चाहे वहुदलीय जनवाद, चाहे नौलो जनवाद या चर्काे राष्ट्रवादबारे चर्चा परिचर्चा चलाउनु व्यर्थ नै हुन्छ । कुनै वाद र दर्शन पढ्नका लागि मात्र होइन जीवन र समाज वुज्न अनि वदल्नका लागि पनि हो ।

आत्मनिर्भर नेपाल नवनाइकन स्वाभिमानी नेपाल बन्नै सक्दैन । त्यसैले सबै वादहरुलाइ यो देश फेर्ने बलियो साधन बनाऔं । सत्ता चढ्ने भरयाङ मात्र नबनाऔं । विपीको बाटो हिड्ने र विपीलाइ आदर्श मान्ने अनि उनलाई नेपालको साझा राजनेता मान्ने सवैको राजनीति देश लुट्ने र जनता पीर्ने अस्त्र नबनोस् । जननेता विपी प्रति श्रद्धान्जली !

लेखक , नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष हुन् ।

Leave a comment

Your email address will not be published.


*