25 November 2017|   शनिबार, मंसिर ९, २०७४

जन्मदै पाखुरा नभएका मदनलाल खुट्टाले नै मेसिन चलाउँछन्

ग्राहकका शरीरको नापदेखि कपडा काट्ने र सिलाउने सबै खुट्टाले

          |   प्रकाशित मितिः सोमवार, साउन ९, २०७४     9:34:10 AM  | 128 पटक पढिएको   |  

हरियाणा – दुवै हात नभएका भारतका एक पुरुष यतिवेला धेरैका प्रेरणाका स्रोत बनेका छन् । हरियाणा राज्यका मदनलाल सम्पूर्ण गाउँकै प्रेरणाका स्रोत बनेका छन् । हात नभए पनि ४५ वर्षीय मदन खुट्टाकै माध्यबाट दैनिक जीवनको आवश्यकता पूरा गर्न सफल भएका छन् । घन्टौँ सम्म खुट्टाले नै मेसिन चलाएर जीविकोपार्जन गरिरहेका छन् । गाउँकै चर्चित पसलमा आउने उनी ग्राहकका शरीरको नापदेखि कपडा काट्ने र सिलाउने सबै खुट्टाले नै गर्छन् । यस कार्यमा उनलाई कसैले सहयोग गर्दैन ।

उनका जन्मदै दुवै पाखुरा थिएनन् । पाखुरा नभएकै कारण उनी लामो समय समाजमा हेयको पात्र बने । हात नभएको भन्दै गाउँका कुनै पनि विद्यालयले उनलाई भर्ना लिएनन् । ‘जुन विद्यालय गए पनि हात नहुनेले कसरी लेख्छस् भनेर फर्काइदिए ।’ उनी भन्छन् । पढ्न नपाउँदा खिन्न बनेका मदन कुनै दिन आफ्नो क्षमता देखाउने निधो गरे । ‘विद्यालयले भर्ना नलिएपछि कुनै भिन्न काम गरेर चर्चा बटुल्ने प्रण गरे,’ उनी भन्छन् ।

पढ्न नपाएपछि सरकारले पनि सहयोग गर्दै भन्ने लागेर जिउनका लागि केही गर्नैपर्छ भन्ने सोचले उनको दिमाग घोचिरह्यो । उनमा टेलरिङ सिक्ने सोच आयो, तर धेरैले खिल्ली उडाए । कसैले नसिकाइदिएपछि घरमा नै सिक्न थाले र २३ वर्षमा गाउँमै पसल खोले । ‘पसल खोलेको दिन मैले सबै पीडा भुलेको थिएँ । केही गाउलेहरूले मेरो पसलमै आएर बधाई दिएका थिए । मेरो प्रयासको सम्पूर्ण गाउँले नै सह्राहना गरेका थिए ।

अहिले उनी अन्य व्यावसायिक टेलरभन्दा फरक छैनन् । लुगा सिलाउन उनलाई भ्याइनभ्याई छ । उनको सर्वत्र तारिफ भइरहेको छ । त्योभन्दा बढी उनले ग्राहकको माया पाएका छन् ।

लुगा सिलाउनुका अतिरिक्त उनले खुट्टाले नै दाह्री फाल्छन्, बिहान–बेलुका खान पकाउनेदेखि अन्य दैनिक कार्य खुट्टाले नै गर्छन् । ‘सुरुमा कसैले मलाई विश्वास गरेनन् । त्यसले आफ्नै खुट्टा छेड्छ र लुगा बिगार्छ भन्ने गर्थे ।’ उनी भन्छन् । तर, उनले विस्तारै उनीहरूको विश्वास जित्दै गएका छन् र टाढा–टाढाबाट मानिसहरू उनकै पसल खोजीखोजी आउँछन् ।

                                                                                   -स्रोतः एजेन्सी

Leave a comment

Your email address will not be published.


*