25 November 2017|   शनिबार, मंसिर ९, २०७४

कोरियामा नेपाली कामदारको तलब अब मासिक झन्डै डेढ लाख पुग्ने

          |   प्रकाशित मितिः आइतवार, साउन १, २०७४     9:30:39 AM  | 151 पटक पढिएको   |  

काठमाण्डौं – दक्षिण कोरियामा कामदारको तलब १६.४ प्रतिशतले वृद्धि भएको छ । हिजो शनिबार अबेर सम्म बसेको ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् २०१८ का लागि इपिएस लगायत सम्पूर्ण कामदारको तलब उक्त प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।

वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैयाँ पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १५ लाख ७३ हजार ७ सय ७० अर्थात मासिक नेपाली १ लाख ४२ हजार ७ सय ४७ रुपैयाँ हुने छ ।

हरेक वर्ष जस्तै तलब वृद्धि गर्ने समयसीमा भन्दा निक्कै ढिला गरि शनिबार राति मजदुर र कम्पनी व्यावस्थापन पक्ष बीच तलब वृद्धि गर्ने सहमती भएको अधिकारीहरुले बताएका छन् । आगामी वर्षका लागि वृद्धि भएको तबल गत वर्ष वृद्धि गरिए भन्दा दोब्बरले वृद्धि भएको हो ।

गत वर्ष ७ प्रतिशतले वृद्धि भएको थियो । जस अनुसार अहिले कामदारले प्रतिघण्टा ७४७० वोन पाउदै आएका छन् । सन् २०१८ का लागि तलब तोक्न गत तीन महिनादेखि मजदुर, कम्पनी व्यावस्थापन र सरकारी प्रतिनिधि बीच बैठक बस्दै आएको थियो । तलब निर्धारण गर्ने विषयमा कम्पनी व्यावस्थापनले तलब वृद्धि गर्दा साना तथा मझौला कम्पनीहरु आर्थिक भारमा पर्ने र कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै तलब बढाउने पक्षमा देखिएका थिएनन् भने मजदुर संगठनहरुले अहिले जिवन शैली र मंहगीको हिसाबले तलव प्रतिघण्टा १० हजार वोन बनाउनु पर्ने माग राखेका थिए ।

कम्पनी व्यावस्थापन पक्ष तलव वृद्धि गरे पनि १५५ वोनले बढाउने प्रस्ताव राखेको थियो तर शनिबार राति १६.४ प्रतिशतले बढाउन राजी भयो । तथापी मजदुर संगठन भने १० हजार वोन हुनुपर्ने अडानमै रहेको छ । १० हजार वोनका लागि प्रवासी मजदुर संघ एमटियूले यहाँको ठूलो मजदुर संगठन केसिटियू सँग मिलेर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

शनिबार तलब वृद्धि गर्ने त्रिपक्षिय सहमती अनुसार सरकारले त्यसलाई अगष्ट पाँच तारिख कानूनी प्रारुप दिने छ भने बीस दिनको अवधिमा संसदमा छलफल हुने छ । वर्तमान राष्ट्रपति मून जे इनले आफ्नो पाँच वर्षे कार्यकाल अर्थात सन् २०२२ सम्म प्रतिघण्टा १० हजार वोन पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यसै बीच तबल वृद्धि गर्ने निर्णयले यहाँ कार्यरत लाखौं कामदार तथा ४५ हजार भन्दा बढी नेपाली कामदार हर्षित भएका छन् ।

Leave a comment

Your email address will not be published.


*