21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

रेफ्री देखि मेयर सम्म

          |   प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४     11:27:44 AM  | 8511 पटक पढिएको   |  

जाजरकोट – रेफ्री भएर प्रतिस्पर्धी खेलाडी मध्य उत्कृष्ट छनौट गरि विजेता छान्नु कम चुनौती होईन । धेरै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुद प्रतियोगितामा रेफ्रीको भुमिका कुशलता पुर्वक निर्वाह गरिसकेका भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती मगर (सी.पी.) लाई नगरवासीको विकास, समृद्धि र सुशासनका लागि रेफ्रीको भुमिका निर्वाह गर्नु पर्ने अवसर थपिएको छ । थुप्रै अवसर सँगै उनी सँग आधारभूत पूर्वाधार विनाको नगरलाई पुर्वाधार युक्त स्मार्ट सिटी बनाउने चुनौती पनि उत्तिकै छ ।

स्कुले जीवन देखि नै खेल र राजनीतिमा रुची राख्दै आएका घर्तीले २०५२ सालमा मध्यपश्चिमाञ्चल स्तरीय क्षेत्रिय प्रतियोगितामा कराँतेको ३० केजी तौल समूहमा प्रथम भै उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यतिवेलै देखि नै कराँते खेलमा करिअर देखेर उनी खेल क्षेत्रमा आर्कषित भएका थिए । तर बुवा श्यामबहादुर घर्तीले छोरालाई ईन्जिनियर बनाउने चाहनु हुन्थ्यो । बुवाले ईन्जिनियर बनाउने उद्देश्यले काठमान्डौका अमृत साईन्स क्याम्पसमा आईएसीमा भर्ना गरिदिनु भयो ।

अमृत साईन्स क्याम्पसमा भर्ना भईसकेपछि उनीले पढाई भन्दा बढी राजनीतिमा चासो दिन थाले । तर कराँते खेललाई भने छोड्न सकेनन् । निरन्तरता दिईरहे । कराँतेका विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी भै थुप्रै पदक हात पारिसकेका उनी एसियन कराँते डो संघ अन्र्तगत एसियन रेफ्री हुन् । उनले नेपाल, भारत, बंगलादेश, चीन, ईन्डोनेसिया, मलेसिया, सिङ्गापुर लगायतका देशमा गएर गोजुरियो कराँतेको रेफ्रीको भुमिका कुशलता पुर्वक निर्वाह गरिसकेका छन् । कराँतेमा ब्ल्याक बेल्ट फोर डनको कोर्स पुरा मेयर घर्ती नेपाल गोजुरियो कराँते संघको २०६४ साल देखि हाल सम्म निरन्तर तेस्रो कार्यकाल सम्म केन्द्रिय अध्यक्ष हुन् ।

‘खेल क्षेत्रलाई मैले कहिल्यै विर्सन सक्दिन । खेल क्षेत्रमा मेरो छुट्टै पहिचान छ । म मेरो नगर क्षेत्रमा खेलकुदको विकासको लागि विषेश पहल गर्छु । खेल क्षेत्र देशलाई चिनाउने र राष्ट्रियता कायम गर्ने भरपर्दो माध्यम हो,’ उनले भने–‘खेलकुदले मानिसलाई अनुशासित र आत्मविश्वासी बनाउँछ ।’

विद्यार्थी राजनीतिमा होमिएपछि ईन्जिनियर बनाउने बुवाको सपना पुरा गर्न सकिएन । गाँउमा तेरो छोरो खेलकुद र राजनीतिमा लागेर बिग्रियो भनेर कुरा काट्नेहरु पनि धेरै देखिए । बुवा श्याम बहादुर भन्नुहुन्छ ईन्जिनियर बनाउन नसकेपनि राजनीतिमा लागेर अहिले नगरको सबै किसिमका समस्याको समाधान गर्ने ईन्जिनियर भएको छ । छोरो गाँउको विकास गर्ने ईन्जिनियर अर्थात मेयर भएकोमा बुवा श्यामबहादुर निकै खुसी हुनुहुन्छ ।

Leave a comment

Your email address will not be published.


*