20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जाजरकोटमा अनिश्चितकालिन यातायात बन्द

          |   प्रकाशित मितिः शुक्रबार, बैशाख ८, २०७४     3:29:05 PM  | 286 पटक पढिएको   |  

जाजरकोटः जाजरकोटमा अनिश्चितकालिन यातायात बन्दको आह्वान गरिएको छ। गत फागुन २६ गते भएको बस दुर्घटनाका पीडित परिवारले क्षतिपूर्ति नपाएको भन्दै जाजरकोटमा अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका हुन्। बन्दले जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका साधनहरु शुक्रबारदेखि ठप्प भएका छन्।

बस दुर्घटनामा परी ज्यान गुमाएका आफन्त र घाइतेले राहत नपाएपछि पीडित परिवारहरुले यातायात सेवा ठप्प पारेका हुन्। यातायात बन्दले जनजीवन प्रभावित भएको छ। छिन्चु—जाजरकोट सडकखण्ड अन्तरगत पर्ने भेरी नगरपालिका–४ बोहरामा गत फागुन २६ गते यात्रुबाहक बस दुर्घटना हुँदा २७ जनाले ज्यान गुमाएका थिए भने ३५ जना घाइते भएका थिए।

घटना लगत्तै स्थानीय प्रशासनको रोहवरमा मृतकका आफन्तलाई तत्काल एक लाख दिने र बाँकी चार लाख रुपैयाँ पछि बुझाउने भनि पीडित परिवारसँग सम्झौता गरिएको थियो। सो रकम हालसम्म मृतकका आफन्तले नपाएपछि पीडित परिवार आन्दोलनमा उत्रिएका हुन्।  बस दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचार खर्च सबै ब्यहोर्ने र मृतकका परिवारलाई क्षतिपूर्तिका लागि पहल गर्ने भन्दै पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, सांसद रिता रावल, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, विभिन्न राजनीतिक दल र भेरीगंगा बस व्यवसायिक समितिका पदाधिकारीको रोहवरमा सम्झौता भएको थियो।

तर, हालसम्म २५ हजार रुपैयाँ किरिया खर्चबाहेक केही नपाएको मृतकका आफन्तले बताएका छन्। सम्झौता भएको रकम हालसम्म नपाएको भन्दै उनीहरु आक्रोशित भएका छन्। यसअघि पनि पीडित परिवारले राहतको माग गर्दै चैत २० देखि २४ गतेसम्म यातायात बन्द गराएका थिए। माग पूरा नभएसम्म यातायात सेवा ठप्प पर्ने पीडित संघर्ष समितिका अध्यक्ष दलचन गिरीले जानकारी दिनुभयो।

Leave a comment

Your email address will not be published.


*