18 October 2017|   बुधबार, कार्तिक १, २०७४

तन र मन स्वस्थ्य राख्न यसो गर्नुहोस् ।

        ओम बानियाँ   |   प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७३     9:21:49 PM  | 159 पटक पढिएको   |  

तन र मन स्वस्थ राख्ने उपाय

स्वास्थ्य सफलताको जग हो । स्वास्थ्यको महत्वलाई दर्शाउँदै नीतिमा भनिएको छ, संसारमा प्रमुख सात सुखहरू छन्ः प्रथम सुखः निरोगी शरीर । द्वितीय सुखः पर्याप्त आय । तृतीय सुखः मधुरभाषिणी पतिव्रता पत्नी वा पत्नीव्रत पति । चतुर्थ सुखः बुद्धिमान र आज्ञाकारी सन्तान । पञ्चम सुखः उचित विधाको ज्ञान । षष्टम् सुखः राम्रो आवास । सप्तम् सुखः असल मानिससँगको मित्रता ।’ यस कथनबाट नै निरोगी शरीर वा स्वास्थ्यलाई कति महत्व दिएइको छ भन्ने प्रष्ट छ ।

Image may contain: 1 person, eyeglassesमानिसको जीवनमा स्वास्थ्यको सबैभन्दा धेरै महत्व भएकाले आयुर्विज्ञानले शरीर रक्षा र आरोग्यका लागि उचित विधिविधानको पालना गर्नुपर्ने कुरामा जोड दिएको छ । चरकसंहिता (चरकसंहिता निदान ६÷७) मा भनिएको छः ‘अन्य सबै सांसारिक कामहरू छोडेर भए पनि शरीरको पालनपोषण गर्नुपर्छ । शरीरको अभाव (शरीर नास) भयो भने अन्य सम्पूर्ण वस्तुहरूको अभाव हुन्छ ।’ शरीर नै रहेन भने जीवनयापनको सान्दर्भिकता नै रहँदैन । प्रत्येक मानिस आफ्नो सुखपूर्वक जीवनयापनका लागि, जीवनमा सफलता र समृद्धिका लागि स्वास्थ्यप्रति सचेत हुनैपर्छ ।

स्वास्थ्यको भनेको के हो ? भन्ने प्रश्न उठ्न सक्छ । विश्व स्वास्थ्य संगठनले ‘रोग र दुर्बलताबाट मुक्त हुनुमात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्तीको अवस्थालाई स्वास्थ्य भनिन्छ’ भनेको छ । स्वास्थ्य शब्दले शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यलाई इंगित गर्छ । किनकि मानिसको मन, शरीर र समाज, तीनै एकअर्कोसँग अन्तरर्सम्बन्धित छन् । मानसिक स्वास्थ्य हुन स्वस्थ मन आवश्यक छ । मानिसको मन सन्तुलित तथा प्रभावकारी स्नायु प्रणालीमा आधारित हुन्छ ।

स्नायु प्रणालीको प्रभावकारी सञ्चालनका लागि शारीरिक स्वास्थ्य आवश्यक पर्छ । व्यक्तिको समाजसँगको व्यवहार र सहभागिता उसको मानसिक र सामाजिक स्वास्थ्यसँग गाँसिएको हुन्छ । स्वस्थ जीवनका लागि शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यप्रति गम्भीर हुँदै स्वास्थ्य रक्षाका उपाय अपनाउनु जीवनका लागि आवश्यक छ ।

मानिसले उचित आहारविहारबाट नै पूर्णस्वास्थ्य प्राप्त गर्न सक्दछ । निरोगी शरीरका लागि आहारको ज्यादै ठूलो महत्व छ । आहारको अर्थ व्यापक छ । मुख र जिब्रोले लिने खाद्य पदार्थलाई मात्र आहार मान्नु हुँदैन । आहारको अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु । भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं । तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्यहरू भित्र लिन्छौं । दृश्य पनि आहार नै हो । कानले लिने आवाज, त्वचाले लिने स्पर्श तथा मनले सीधै ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो । आरोग्य जीवनका लागि चार कुराहरूमा विशेष ध्यान दिनुपर्छ । ती हुन्ः सन्तुलित भोजन । शुभाचरण । निद्रा-विश्राम । शुभविचार

सन्तुलित भोजनः

भोजनको उद्देश्य शरीरलाई पोषण दिनु हो । भोजन शरीरको इन्धन हो । भोजनबाट नै मानिसलाई कार्य गर्ने ऊर्जा मिल्छ । स्वस्थ शरीरका लागि भोजनले मात्र पुग्दैन, सात्विक र सन्तुलित भोजनको आवश्यकता पर्छ । सन्तुलित भोजनमा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट तथा खनिज पदार्थहरू उपलब्ध हुन्छन् । चामल, गहुँ, मकै आदि अन्न, लौका, फर्सी, करेला, गोलभेँडा, काँक्रो, आलु, मूला आदि तरकारी, सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूलहरू आदि सात्विक भोजन हुन् ।

ताजा, सुपाच्य र हल्का प्रकृतिका पदार्थहरूको शुद्ध र ताजा भोजन सात्विक भोजन हो । अत्यधिक चिल्लो, अमिलो, पिरो तथा मसालेदार भोजन राजसिक भोजन हो । बासी, सडे–गलेको, दुर्गन्धयुक्त नशालु पदार्थहरूबाट बनेको भोजन तामसिक भोजन हो । उचित विधिविधान र नियमले सेवन नगर्ने हो भने सात्विक भोजन नै प्राकृतिक गुण गुमाएर राजसिक तथा तामसिक बन्न पुग्दछ । भोजन धेरै टसमस हुने गरी खानु हुँदैन, जसले शरीरलाई आलस्य बनाओस्, आलस्य अशुद्धि हो । भोजन यस्तो पनि नहोस् कि जसले उत्तेजना पैदा गरोस्, उत्तेजना पनि अशुद्धि हो । भोजन त्यति कम पनि नहोस्, जसले शरीरलाई क्षीण बनाओस्, क्षीणता पनि अशुद्धि हो । सात्विक भोजनको अर्थ यस्तो हुन सक्छ- भोजन, जसले उत्तेजना दिँदैन, मादकता दिँदैन, आलस्य दिँदैन, स्फूर्ति दिन्छ, त्यो सात्विक हो ।

शुभाचरणः

स्वास्थ्यको अर्को महत्वपूर्ण पक्ष हो, शुभाचरण । निरोगी शरीर र स्वास्थ्य रक्षाका लागि उचित दिनचर्या तथा शुभाचरणको पालना आवश्यक छ । दिनचर्या नियमित भएन भने शरीर चुस्त-दुरुस्त तथा सशक्त हुँदैन, खाए पिएको पच्दैन । भोजनबाट शरीरले जुन पौष्टिकता प्राप्त गर्दैन । त्यसो भयो भने शरीर रोगी तथा कमजोर हुन्छ । तपाईं जीवनमा सफलता र समृद्धि चाहनुहुन्छ भने आजै ‘जुनबेला आँखा खुल्यो त्यहीबेला सही’लाई मनन् गर्दै उचित दिनचर्या तथा शुभाचरणको पालना गर्नुस् ।

निद्रा-विश्राम
मानिसको जीवनमा वि श्रामको औधी महत्व छ । प्रत्येक दिन ६ घन्टाको गहिरो तथा निश्चिन्त निद्रा एउटा प्रक्रिया हो, वि श्रामको एक गहन प्राकृतिक तरिका निद्रा हो ।निद्राले शरीरका अंग प्रत्यंगलाई, मनमस्तिष्क तथा इन्द्रियलाई गहन वि श्राम दिन्छ । एक प्रकारले मनमस्तिष्क तथा सम्पूर्ण शरीरलाई रिचार्ज गर्छ । निद्रा एक प्रकारले मस्तिष्क चार्जर हो । निद्राले हरेक रात मस्तिष्कलाई चार्ज गर्छ । निद्राबिना मस्तिष्कले ठीक कार्य गर्न सक्दैन, मस्तिष्क बिनाचार्ज गरेको ब्याट्रीजस्तै हुन्छ ।

मानिसको मनमस्तिष्कलाई मात्र होइन कि सम्पूर्ण शरीरलाई निद्राको ठूलो महत्व छ । निद्रालाई सही सदुपयोग गरेर मस्तिष्कलाई चार्ज गर्दै मानिसले आफ्नो शारीरिक, मानसिक तथा मस्तिष्कशक्ति अद्भुतरूपमा बढाउन सक्छ ।मानिसलाई दिनभरिको कार्यको बीचबीचमा वि श्रामको पनि आवश्यक हुन्छ । मानिसले कुनै पनि कार्य एकाग्रतापूर्वक दुई-तीन घन्टासम्म गर्न सक्दैनन् । यो मानिसको स्वाभाविक प्रकृति हो । शारीरिक तथा मानसिक, दुवै कार्य गर्दा बीचबीचमा वि श्राम गर्नुपर्छ । यस किसिमको वि श्रामले गर्दा कार्यक्षमता बढ्नुको साथै काममा निखार आउँछ ।

शुभ विचार

विचार बलवान् छ, सर्वशक्तिमान् छ । विचारबाट नै रोगहरू वृद्धि तथा निवृत्ति हुने गर्छन् । स्वास्थ्यप्रतिको शुभविचारले नै मानिसलाई सधैंभरि स्वस्थ र निरोगी राख्न सहयोग गर्छ । बिरामीले औषधोपचारका साथै मेरो रोग छिट्टै ठीक हुन्छ र म पहिलाजस्तै पूर्णरूपमा स्वस्थ हुन्छु भन्ने भावना राख्ने हो भने छिटो निको हुन्छ । शुभविचार मस्तिष्क ऊर्जा हो । शुभविचारले नै शुभसंकल्प सिर्जना गर्छ । शुभसंकल्पले शुभपरिणाम ल्याउँछ । उन्नति र प्रगति मार्गको मूल मन्त्र नै शुभसंकल्प हो ।

साभारः अन्नपूर्ण

Leave a comment

Your email address will not be published.


*