20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

कांग्रेसभित्रैबाट मागियो गृहमन्त्री निधिको राजीनामा

रबिन्द्र हत्या काण्ड

          |   प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७३     8:47:23 PM  | 251 पटक पढिएको   |  

जाजरकोटः कांग्रेसभित्रैबाट उपप्रधानमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरिएको छ। मंगलबार साँझ अज्ञात समूहद्वारा हत्या गरिएका नेविसंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहका हत्यारालाई तीन दिन वितिसक्दा पनि पक्राउ गर्न नसकेको भन्दै नेविसंघ महामन्त्री कुन्दन काफ्लेले गृहमन्त्री निधिको राजीनामा माग गरेका हुन्।

विद्यार्थी नेता शाहको हत्याको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार सदरमुकाम खलंगाको ठाटीमा गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री काफ्लेले घटना भएको तीन दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा मागेका हुन्।

नेता काफ्लेले सदरमुकामभित्रै आफ्ना नेताको विभत्स तरिकाले हत्या हुँदा पनि अपराधिलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। ‘काँग्रेसका कार्यकर्ता दिनदहाडै मारिँदा पनि गृहमन्त्री के हेरेर बस्नु भएको छ,’ महामन्त्री काफ्लेले भने,‘यस्ता नालायक गृहमन्त्री कुर्चीमा बसिरहनुको औचित्य छैन।’

नागरिकको जीवन सुरक्षा गर्न नसक्ने गृहमन्त्री नेपाली कांग्रेसकै नेता भएपनि पदमा बस्ने अधिकार नभएको काफ्लेले वताए। ‘आफ्नै पार्टीको सरकार र मन्त्री भनेर हामी चुप लाग्दैनौं। नैतिकता भए गृहमन्त्रीज्यू राजीनामा दिनुस्,’ उनले भने,‘तपाईँले अपराधी पत्ता लगाउन नसके नेविसंघ आफैले अपराधी पत्ता लगाउँछ। हामी घटनाको बदला लिएर छोड्छौं।’ उनले शाहको हत्या नियोजित योजनाबद्ध र आसन्न स्थानीय तहको निर्वाचन प्रभावित हुने गरी गरिएको पासविक घटना भएको टिप्पणी गरे।

नेविसंघका उपाध्यक्ष तथा शाहको हत्यावारे नेविसंघले गठन गरेको छानविन समितिका संयोजक खडक डांगीले हत्या प्रकरणमा स्थानीय प्रशासन उदासिन रहेको आरोप लगाए। उनले सरकार र स्थानीय प्रशासनले हत्याको वास्तविकता छानविन गर्न नसके आफुहरुले गरेर देखाउने ठोकुवा गरे। हत्या गरेर नेविसंघलाई तर्साउन खोजे चुपचाप सहेर नबस्ने उनले चेतावनी दिए ।

विरोध सभामा नेविसंघका आधा दर्जन नेता तथा कार्यकर्ताले शुक्रवारभित्र हत्यारा पत्ता नलागे कडा आन्दोलनका कार्यक्रम अघि सारिने चेतावनी दिएका छन्।  कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला नेता बेदराज सिह, नेविसंघका केन्द्रिय सदस्यहरु खडक विसी, पुष्पराज वस्नेत लगायतका नेताहरुले शाह हत्याको घटनामा संलग्नलाई यथाशिघ्र कानुनी कठघरामा ल्याउन आग्रह गरेका छन्।

मंगलवार साँझ हत्या गरिएका शाहको बिहीबार शवयात्रा गरी पार्टी कार्यालयमा लिएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।

साभारः अन्नपूर्ण पोस्ट

Leave a comment

Your email address will not be published.


*