22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

चीन भएको मौकामा प्रधानमन्त्री कार्यालयका कर्मचारीले यसरी हाने चौका

          |   प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७३     5:58:43 PM  | 216 पटक पढिएको   |  

काठमाडौँः  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकसाताका लागि चीन भ्रमणमा रहेका बेला प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अधिकांश कर्मचारी बिदामा बसेका छन् । प्रधानमन्त्री चीनबाट फर्किएपनि कर्मचारी भने काममा अझै फर्किएका छैनन् ।

बिहिबार प्रधानमन्त्री कार्यालयको मन्त्रीपरिषद तथा संवैधानिक निकाय महाशाखा सुनसान थियो । उक्त शाखामा शाखा प्रमुख उपसचिव बुद्धीबहादुर खड्का र अन्य दुई कर्मचारी मात्र थिए । प्रधानमन्त्री चीन भ्रमण गएको मौका पारी १ अधिकृत र ३ नासुले बिदा लिएका थिए ।

यस्तै प्रधानमन्त्री कार्यालयको सदाचार प्रवद्र्धन तथा भष्ट्राचार निगरानी शाखा पनि सुनसान थियो । उक्त शाखामा एकजना नायव सुब्बा भोजेन्द्र बस्नेत मात्र थिए ।

यस्तै कार्यालयको अर्को शाखा आर्थिक तथा पूर्वाधार विकास महाशाखामा २ जना कर्मचारी मात्र थिए । अरु कर्मचारी कहाँ गए भन्ने प्रश्नमा एक कर्मचारीले कोही बिदामा बसेको कोही भ्रमणमा निस्किएको बताए ।

उता शासकीय सुधार शाखा पनि सुनसान थियो । उक्त शाखाका प्रमुख सहसचिव डिल्लीराम शर्मा दक्षिण अफ्रिका भ्रमणमा थिए भने शाखा अधिकृत श्रीराम थापा पनि कार्यालयमा थिएनन् ।

प्रधानमन्त्री कार्यालयको कानुन महाशाखा, हेलो सरकार युनिटमा भने कर्मचारीहरु नियमित अवस्थामा थिए ।

७ उच्चपदस्थ कर्मचारी दक्षिण अफ्रिका घुम्दै

प्रधानमन्त्री कार्यालयका ७ जना उच्च पदस्थ कर्मचारी भने बिदेश भ्रमणमा रहेका छन् । गएको शनिवार २ सचिव, २ सहसचिव र ३ उपसचिव दक्षिण अफ्रिका घुम्न निस्किएका हुन् । सचिवहरु टंकमणी शर्मा, दिनेशकुमार थपलिया, सहसचिव दामोदर रेग्मी, डिल्लीराम शर्मा, उपसचिवहरु झंकनाथ ढकाल, हीरामणी शर्मा र प्रेम लामिछाने दक्षिण अफ्रिकामा लागू भएको संघीयता अवलोकन गर्न गएका हुन् ।


द्वन्द्वपछि दक्षिण अफ्रिकामा लागू भएको संघीयता प्रभावकारी भएकोले त्यसको मोडेलबारे जानकारी लिन गएको एक कर्मचारीले बताए ।

कर्मचारीको हाजिरी र बिदा अतिगोप्य ?

प्रधानमन्त्री कार्यालयका कर्मचारीले हाजिरी र कर्मचारी बिदा बसेको सूचना गोप्य राख्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयको हाजिर र बिदा बारेको जानकारी कम्प्युटर अधिकृत मेखराज जैशी बाहेक अरु कसैले हेर्न नपाउने प्रशासन शाखाका अधिकृत लिलाबल्लभ न्यौपानेले बताए । कति कर्मचारी बिदामा बसेका छन्, को कर्मचारी कुन समय कार्यालयमा आँउने जाने गर्छन भन्ने जानकारी दिन नमिल्ने न्यौपानेले बताए ।

प्रशासन शाखा अधिकृत मेखराज जैशी बिदामा थिए तर प्रशासनका कर्मचारीले ढोकामा रहेको उनको नेमप्लेटमा कार्यालय भित्रै रहेको जनाउ दिएका थिए ।

प्रधानमन्त्रीको निजी सचिवालयलाई टेर्दैनन् प्रशासनका कर्मचारी

प्रधानमन्त्रीको निजी सचिवालयका कर्मचारीलाई प्रशासनका कर्मचारीले आवश्यक काममा अटेरी गर्ने गरेको एक कर्मचारीले बताए । प्रधानमन्त्रीको निजी सचिवालयमा काम गर्ने एक कर्मचारीले भने–यहाँका प्रशासनका कर्मचारीहरुमा ठूलो घमण्ड छ, हामी नै सबैथोक हौ भन्ने सोच्छन, सचिवालयका कर्मचारीलाई गन्दैनन् ।

साभारः राटाेपाटी

Leave a comment

Your email address will not be published.


*