20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

भलिबल मार्फत जाजरकोटलाई चिनाउँदै कामना विष्ट

          |   प्रकाशित मितिः बुधबार, चैत्र १६, २०७३     8:15:30 PM  | 2537 पटक पढिएको   |  

काठमाडाैंः नेपाली महिला भलिबलमा थुप्रै अाशा लाग्दा खेलाडीहरु उदाइरहेका छन् । पछिल्लाे समय जाजरेकाटकी एक खेलाडीले उत्कृष्ट खेल प्रस्तुत गरेर सबैकाे मन जित्दै गएकी छन् । उनी हुन कामना बिष्ट । जाजरकाेट घर भएकी कामना अहिले नेपाली महिला भलिबलमा निकै अाशा गरिएकी खेलाडी बनेकी छन् ।

कामनाले अहिले विभागीय टाेली नेपाल पुलिस क्लबमा अावद्ध भएर खेलमा सहभागी भइरहेकी छन् । १७ वर्षीया कामनाले चार वर्षअघि जाजरकाेटकाे सदरमुकाम खलंगाको त्रिभुवन उच्च माविबाट भलिबल खेलमा पाइला टेक्दै उज्ज्वल भविष्यको सपना सँगालेकी थिइन् ।

केही हदसम्म आफूलाई प्रमाणित गर्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफ्नो उदयको संकेत दिएकी कामनाले त्यसपछिका प्रतियोगितामार्फत महिला भलिबलमा थप उचाइ लिएकी छन् ।

टोलीमा ओपन स्पाइकरको अभावलाई पूर्ति गर्दै आएकी कामना महिला भलिबलमै आफ्नो भविष्य खोज्ने योजनामा छिन् । विद्यालयका आन्तरिक प्रतियोगिता हुँदै क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउने क्रममा कामना गत वर्षदेखि पुलिस क्लबमा आबद्ध भएकी हुन् । एक वर्षको अवधिमै कामनाले शेरबहादुर खड्का स्मृति प्रतियोगिता, एनभीए कप, सातौं राष्ट्रिय खेलकुद, ढोरपाटन डबल लिगलगायतका ठूला प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेकी छन् ।

प्लस टुको अध्ययन सकेपछि कामना भलिबलका साथै उच्च शिक्षालाई पनि सँगसँगै अगाडि बढाउने योजनामा छिन् । करारमा पुलिस क्लबमा आबद्ध भएर भलिबल खेलिरहेकी उनको लक्ष्य राष्ट्रिय टोलीको सदस्य बन्नु हो । छोटो अवधिमै कामनाले जुन गति लिएकी छन्, त्यसले उनका लागि छिट्टै राष्ट्रिय टोलीको ढोका खुल्ने संकेत दिएको छ ।

साभारः ननस्टप खबर

Leave a comment

Your email address will not be published.


*