23 October 2017|   सोमवार, कार्तिक ६, २०७४

हरियो रुखलाई दशगजा मान्न भारतको दबाव, नेपाली पक्षद्वारा अस्वीकार

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः मङ्लबार, चैत्र १५, २०७३     6:26:08 PM  | 122 पटक पढिएको   |  

कञ्चनपुरः दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला । तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुंग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका- ८ आनन्द बजार सीमा क्षेत्रमा भारतले दाबी गरेको डुंग्रीको रुख भन्दा वरै नेपाली पक्षले पुनर्वास नगरपालिकाको सहयोगमा कल्भर्ट निर्माण गरिरहेको विषयमा विवाद भएर भारतीय सुरक्षाकर्मीबाट गोली चल्यो र गोविन्द गौतम सहिद भए ।

 

(यो पनि पढ्नुस्– दशगजाको स्थलगत रिपोर्टः मातृभूमिमै विदेशीबाट मारिए गोविन्द )

घटनापछि सिंगो देश केही दिन तरंगित बन्यो । आनन्द बजारको सीमाक्षेत्रका बारेमा अनेक अड्कलबाजी समेत गरिए । भूमि रक्षाका लागि सहिद भएको भन्दै गौतम परिवारलाई अझैपनि देश-विदेशमा छरिएर रहेका नेपालीले सहयोग गरिरहेका छन् ।

उक्त क्षेत्रमा लामो समयदेखि हराएको २०० नम्बर सीमास्तम्भको खोजी समयमै गरिएको भए घटना नै हुने थिएन भनेर आनन्द बजारवासीले बताउँदै आएका छन् ।

घटनापछि स्थलगत समाचार संकलनका लागि त्यहाँ पुग्दा रासस प्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)का कमाण्डेन्ट दिलवाग सिंहले स्थलगत रुपमै डुंग्रीको रुख देखाउँदै भने, ‘२०० नम्बर पिलर हराएकाले हामी यही रुखलाई सीमास्तभ मान्छौं ।’

स्थानीय भन्छन्- भारतीय पक्षको दाबी गलत

तर दशकौँदेखि आनन्द बजारक्षेत्रमा बस्दै आएका स्थानीयवासी भने भारतीय पक्षको उक्त दाबी गलत रहेको दलीलसहित नेपाली भू-भाग अतिक्रमणको दाउ मात्रै भएको बताउँछन् ।

‘कांग्री खोलामा निर्माण गरिएको कल्भर्ट छेउमै रहेको डुंग्रीको रुखभन्दा झन्डै तीन सय मिटर परसम्म नेपाली भू-भाग पर्छ,’ सहिद गोविन्द गौतमका बुबा खेमलाल गौतमले भने, ‘सीमास्तम्भ गायब पार्ने अनि हराएको बहाना बनाई अतिक्रमण गर्ने तरिका हो ।’

त्यसैगरी, स्थानीय छविलाल पौडेलले पनि उक्त रुख भन्दा परैसम्म नेपालको भू-भाग रहेको भन्दै भारतले अतिक्रमण गर्दै नेपालतर्फ सर्दै गरेको बताउँछन् ।

‘भारतीय त पिलर नभएकै कारण कल्भर्टभन्दा वरै -हाल सशस्त्र प्रहरीको अस्थायी वेस क्याम्प बसेको घर सम्मै दशगजा दाबी गर्छन्,’ पौडेलले भने, ‘जब कि डुंग्रीको रुख भन्दा परसम्म नेपाली पुर्जा भएको जमिन छ ।’

पुर्जावाल जग्गा नेपालीले जोत्न पाएनन्

नेपाली लालपुर्जा भए पनि भारतीय पक्षले करिब एक दशकदेखि उक्त दुई बिगाह खेत स्थानीयवासीलाई कमाउन दिएका छैनन् ।

‘जग्गाधनी स्थानीय करनबहादुर सुनारलाई भारतीय एसएसबीले जग्गा समेत भोगचलन गर्न रोक लगाएको छ, आफ्नै जग्गा भोगचलन गर्न नपाएको एक दशकभन्दा बढी भइसक्यो,’ करनका श्रीमती तुलसादेवी सुनारले भनिन्, ‘खेतमा गयो कि एसएसबी लखेट्न आइहाल्छन् ।’

‘कलिलो उमेरमै आनन्द बजारको उर्वरभूमिमा जन्मिएको मेरो छोरोले हाम्रै माटोका लागि प्राण आहुति दिएको छ,’ सहिद गौतमका बुबा खेमलालले भने,’ अब कसैका दाजुभाइले यसरी मर्नु नपरोस् ।’

सिमानामा भारतीय हस्तक्षेप र अतिक्रमणविरुद्ध लामो समयदेखि लड्दै आएका यहाँका स्थानीयवासीलाई सरकारले कुनै वास्ता नगरेको उनको गुनासो छ । सीमामा माटो बचाउनकै लागि लामो समयदेखि यहाँका स्थानीयवासी भारतीय पक्षको थिचोमिचो र वादविवाद सहदै आएका छन् । उनले भने, ‘भारतीयले नेपाली भूमिमा रहेको रुखलाई सिमाना मान्दासम्म कसैले पनि चासो देखाएनन् ।’

नेपालीसँग समन्वय नगरी नापजाँच

त्यसैगरी, बेलौरीका पर्सबहादुर खड्काले २०० नम्बर सीमास्तम्भ भारतीय पक्षबाटै वर्षौं पहिले गायब पारिएको दाबी गर्छन् । विक्रम संवत् ०३८/३९ भन्दा पहिल्यै २०० नम्बर सीमास्तम्भ यहाँ थिएन । उनले भने, ‘प्यारातालदेखि फटैयाँ गाउँसम्म भारतको अतिक्रमण निरन्तर छ ।’

सो क्षेत्रमा ०४६ सालमा पनि भारतीय पक्षले नेपाली भूमिमा आएर दाबी गरेको स्मरण गर्दै उनले त्यो बेला पनि स्थानीयवासीले लखेटेको बताए । ‘संयुक्त सर्वेक्षण टोली आएर भारतीय भूमिमै बसेर नापजाँच धेरै पटक गरे,’ उनले भने, ‘संयुक्त टोलीमा रहेका नेपाली प्रविधिज्ञले हामीसित समन्वय नै गरेनन् ।’

आनन्द बजारक्षेत्रका सीमावासीले भने कल्भर्ट निर्माणस्थल भन्दा वर दशगजामै भारतीय सुरक्षाकर्मी बस्दै आएका बताएका छन् । ‘त्यो हरियो डुंग्रीको रुख ढलेपछि केलाई सिमाना मान्ने ?,’ आनन्द बजारका व्यापारी नौला शाहीले भने, ‘यहाँ थिचोमिचो पहिलेदेखि नै थियो । अहिले आएर गोलीको प्रहारसमेत सहनु पर्‍यो ।’

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले लामो समयदेखि आनन्द बजार क्षेत्रको २०० नम्बर सीमास्तम्भ हराइरहेको बताए । भारतीय पक्षले सीमास्तम्भ हराएको अवस्थामा रुखलाई आधार मान्नु आधिकारिक नभएको उनको भनाइ छ ।

‘दुवै देशको संयुक्त सर्वेक्षण टोलीले नभन्दासम्म आधिकारिक मान्ने कुरो भएन,’ उनले भने । कञ्चनपुर जिल्लामा नेपाल-भारत सिमाना छुट्याउने ३९० सीमास्तम्भ धेरै नदी खोलाले बगाएका छन् भने कतिपय सीमास्तम्भ मर्मतसम्भार हुन सकेका छैनन् ।

घटनास्थलमा छोरोको सालिक हेर्ने इच्छा

त्यसैगरी, केही दिनअघि सहिद परिवारलाई सरकारी राहत रकम दिन पुनर्वास पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०० नम्बर सीमास्तम्भ करिब एकसय वर्षभन्दा पहिलेदेखि हराइरहेकाले संयुक्त टोलीको सर्वेक्षण पछि सीमा विवाद हल हुने विश्वास व्यक्त गरे ।

उता सहिद गोविन्दकी आमा हरिदेवीले सहिद भएको छोराको सालिक घटनास्थलमै बनाउनुपर्ने माग गरिरहेकी छन् । ‘पहिले आनन्द बजार क्षेत्रको सीमांकनको टुंगो सरकारले लगाइदिनुपर्‍यो,’ उनले भनिन्, ‘त्यहाँ छोराको सालिक बनेपछि म त्यै हेरेर बाँकी जीवन बिताउने छु ।

सभारः अनलाइनखबर

Leave a comment

Your email address will not be published.


*