22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

बोआओ मञ्चमा भाग लिन चीन पुगेका प्रधानमन्त्री आज के गर्दैछन् ?

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शुक्रबार, चैत्र ११, २०७३     11:23:59 AM  | 110 पटक पढिएको   |  

काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन हिजो चीन पुगेका छन् । उनी राति काठमाडौंबाट चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गरेका थिए ।
मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन जान गएका प्रधानमन्त्री प्रचण्डको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।
बोआओमा रहँदा प्रधानमन्त्रीले यही चैत ११ गते अर्थात आज चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने छन् ।
१२ गते मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार राति एसियाको बोआओ मञ्चको वार्षिक सम्मेलनको उदघाटन समारोहमा सहभागी हुन चीनको हाइनान प्रान्तको बोआओ सहर प्रस्थान ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्नेछन् ।
प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध ः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।  सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड यही चैत १६ गते स्वदेश फर्कनेछन् ।

प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा उपस्थित थिए ।

सो अवसरमा प्रधानमन्त्रीका सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अपर्ण गरेको थियो । प्रधानमन्त्रीका साथमा उनकी पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास वैरागी तथा मन्त्रालयका अन्य उच्च पदाधिकारी रहेका छन् ।

साभारः राताेपाटी

Leave a comment

Your email address will not be published.


*