18 October 2017|   बुधबार, कार्तिक १, २०७४

गोविन्द गौतमका परिवारलाई एमाले नेताले ढाँटे !

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शुक्रबार, चैत्र ४, २०७३     9:04:38 PM  | 120 पटक पढिएको   |  

कैलाली: गत साता भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानी हत्या गरेका गोविन्द गौतमका परिवारलाई भेट्न जाने भनेर एमाले नेताहरुले ढाँटेका छन् ।

मेची-महाकाली अभियानअन्तर्गत बिहीबार सदरमुकाम धनगढीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा एमाले शीर्ष नेताहरुले सीमा रक्षार्थ ज्यान गुमाएका शहिद गोविन्द गौतमको खुबै प्रशंसा गरेका थिए । उनीहरुले शुक्रबार गौतमको घर त्रिभुवनबस्ती जाने र परिवारलाई भेट्ने बताएका थिए । तर, एमालेका शीर्ष नेता त के स्थानीय नेतासमेत भेट्न आएका छैनन् ।

एमाले नेताहरुको भनाई र गराईमा अन्तर भएपछि गौतमको परिवार र स्थानियले एमाले नेताहरुले ढाँटेको गुनासो गरेका छन् ।

नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारा लामाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरु आउने जानकारी गराए पनि पछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आउने भनेका थिए । तर, नेता नेपाल पनि सुरक्षाको कारण देखाउँदै आएनन् ।

तर, सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी रोमेन्द्र सिंह देउजाले गौतमको घर जानेसम्बन्धमा प्रहरीसँग सुरक्षा समन्वय र सल्लाह नभएको बताए ।

एमाले कञ्चनपुरका अध्यक्ष तारा लामालाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै अध्यक्ष केपी ओली

एमाले अध्यक्ष केपीले ओलीले कञ्चनपुरमा आयोजित सभामा जिल्ला अध्यक्ष तारा लामालाई गौतमका परिवारका लागि पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । तर, त्यो राहत पनि पीडित परिवारले पाएका छैनन् ।

गत बिहीबार सीमा विवादपछि भएको प्रदर्शनमा भारतीय एसएसबीले गोली चलाउँदा कञ्चनपुर पुनर्वास नगरपालिकाका ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो । सरकारले उनलाई तत्काल राहत उपलब्ध गराउने भने पनि आठ दिन बितिसक्दा समेत राहतको अत्तोपत्तो छैन ।

ढाँटेका छैनौंः रिजाल

यसैबीच एमाले प्रचार बिभागका सचिव विष्णु रिजालले आफूहरुले गौतम परिवारलाई नढाँटेको बताए ।

रिजालले भने, ‘एमाले अध्यक्ष ओली वा माधव नेपाल गौतमको घरमा जाने भन्ने कुनै जानकारी गराइएको थिएन, त्यहाँ जाने भएको भए अध्यक्ष ओलीले बिहीबार जिल्ला अध्यक्ष तारा लामालाई पाँच लाखको चेक हस्तान्तरण गर्नुहुने थिएन, आफै लिएर जानुहुन्थ्यो ।’

अध्यक्ष ओली गौतम परिवारलाई भेट्न जाने कार्यक्रम नभएकैले एमालेका तर्फबाट उपलब्ध गराइएको पाँच लाखको चेक लामामार्फत् हस्तान्तरण गरिएको उनको भनाइ छ ।

अनलाइन खबरबाट

Leave a comment

Your email address will not be published.


*