20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

‘पृथ्वीनारायण शाहले बाँकी राखेको एकीकरण अभियानलाई एमालेले पुरा गर्छ’

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३     10:05:42 AM  | 191 पटक पढिएको   |  

दमकः राष्ट्रियताका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची-महाकाली अभियान सुरूवात गरेको छ। अभियानको पहिलो दिन एमालेले झापाका प्रमुख तीन ठाउँमा अभियान सभा गरेको छ। झापाको काकडभिट्टाबाट सुरू भएको अभियान सभाको पहिलो दिन काकडभिट्टा, विर्तामोड र दमकमा सभा गरेको छ।

पञ्चायती व्यवस्थाका विरुद्ध लड्दालड्दै २०२९ फागुन २१ गते राति जेल सार्ने नाममा सुखानीको जंगलमा लगी हत्या गरिएका पाँच शहीदहरु– रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुँइकेल, बीरेन राजबंशी र नारायण श्रेष्ठको सम्झनामा पार्टीले मनाउँदै आएको शहीद दिवस पारी एमालेले अभियानको सुरुवात गरेको हो ।

सुखानीमा हत्या सहिदहरुका परिवारलाई साक्षी राखेर एमाले नेताहरुले सहिदका सपना पुरा गर्ने बाचा समेत गरेका छन् ।

काँकडभिट्टाबाट कार्यक्रम सकेर बिर्तामोड जाँदा बाटोमा पर्ने धुलाबारी, धाइजन, चारआली र बुट्टाबारीमा ठूलो संख्यामा एमाले कार्यकताले स्वागत गरेका थिए। चोक–चोकमा निस्केका उनीहरुले ताली बजाउनुका साथै नारा लगाएर कार्यक्रमप्रति समर्थन जनाएका थिए।

बिर्तामोडमा कार्यक्रम सकेर दमक आइपुग्दा बाटोमा पर्ने चारपाने, दुर्गापुर, लक्ष्मीपुर, सुरूगा, माइधार, दुधे, झिलझिले, केर्खा, धरमपुर र पाडाजुगीमा स्थानीय बासिन्दाले र्‍यालीलाई स्वागत गरेका थिए।

एमाले कार्यकर्ताको स्वागत र एमाले नेता तथा कार्यकर्ताहरुको आवत जावतले झण्डै ८ किलोमिटर सडक ढाकिएको झापा प्रहरीले जनाएको छ। पुरै झापा राताम्य भएको थियो।

शनिबारको अभियान कार्यक्रममा प्रत्यक्ष रूपमा डेढ लाखको सहभागिता रहेको एमालेको दाबी छ ।

राष्ट्रियता, संविधान कार्यान्वयन र निर्वाचनका लागि अभियान सुरु भएको एमाले नेताहरुको भनाई

शनिबारको सभामा बोल्दै एमाले शीर्ष नेताले राष्ट्रियताका लागि कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन्। काकडभिट्टाको सभालाई सम्बोधन गर्दे एमाले अध्यक्ष केपी ओलीले देशको अखण्डता, राष्ट्रिय स्वाधिनता, देशको स्वतन्त्रताविरुद्ध कसैले गतिविधि गरे एमालेले मात्रै होइन जनताले पनि नसहने भन्दै जनतालाई अधिकार नदिन भौगोलिक र जातीय नाउँमा षड्यन्त्र भएको बताए।

उनले यसलाई एमालेले कुनै पनि हालतमा असफल पार्ने दाबी गर्दै उत्तेजित नभई संयमित भएर कार्यक्रममा अगाडि बढ्न कार्यकर्तालाई आग्रहसमेत गरे।

सरकारले दर्ता गराएको संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने भन्दै अध्यक्ष ओलीले आफूहरूले उक्त प्रस्ताव पारित हुन पनि नदिने दाबी गरे। ‘यो संशोधन प्रस्ताव पारित हुँदैन र पारित हुन पनि दिदैनौं,’ काकडभिट्टाको सभालाई सम्बोधन गर्दै ओलीले भने,, ‘संविधान संशोधन देशका हित विपरीत छ। संसदभित्र नैतिक र संख्यात्मक हिसाबले पनि पारित हुँदैन।’

एमालेले संविधान मान्न बाहेक अरू केही जानेको छैन

एमाले महासचिव ईश्वर पोखरेलले एमालेको अभियानलाई अबरोध गरिए त्यसको प्रतिकार गर्ने चेतावनी दिए। देशभरका विभिन्न ठाउँका जनतालाई आफ्नो पार्टीका विचार पुर्‍याउन कसैले रोक्न नसक्ने भन्दै उनले पार्टीमाथि आइलाग्नेलाई गतिले जवाफ दिने बताए।

विर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले कुनै पनि देशलाई ठुल्दाई मान्न नसकिने बताए। कोही देश सानो र ठूलो हुनसक्ने भए पनि सार्वभौमसत्ता सबैको बराबर हुने उनको तर्क थियो। एमाले मधेश विरोधी नभएको भन्दै उनले विर्तामोड, काकडभिट्टा र दमक हिमाल पहाड नभइ तराई र मधेश भएको स्मरण गराए। एमाले मधेका पक्षमा छ भन्ने सन्देश दिन यो अभियान सुरु गरिएको उनले बताए ।

दमकमा आयोजित शनिबारको अन्तिम कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालको संविधानले अंगीकृतलाई समेत अन्य देशमा भन्दा बढी अधिकार दिएको बताए। उनले नेपालका पच्चीस सांसदको अंगीकृत नागरिकता रहेको बताए। नाकाबन्दीका बेलामा समेत नझुकेको नेपाली राष्ट्रियतालाई कसैले झुकाउन नसक्ने दाबी गरे।

यो राजनीतिक अभियान मात्रै होइनःभट्टराई

एमाले सचिव एवं प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले एमालेले गरेको मेची-महाकाली अभियान राजनीतिक मात्र नभई सामाजिक, सांस्कृतिक र भावानात्मक भएको दावी गरे। पृथ्वीनारायण शाहले गरेपछिको दोस्रो ठूलो अभियान भएको भन्दै उनले पृथ्वी नारायण शाहले बाँकी राखेको एकीकरणको कामलाई समेत अभियानले पुरा गर्ने दावी गरे।

एमालेले मोर्चाका नेताहरुलाई समेत यो अभियानमा अवरोध नगर्न भनेको भन्दै उनले अभियानका क्रममा कही कतै बन्द भए एमालेले त्यसलाई असफल पार्ने चेतावनी दिए। अभियान कसैका बिरुद्ध लक्षित नरहेको भन्दै भट्टराईले राष्ट्रिय मानव अधिकार आयोगलाई समेत आफ्नो पार्टीको अभियानको अनुगमन गर्न आग्रह गरिएको बताए।

प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत कार्यक्रमबारे जानकारी गराइएको भन्दै उनले यो बिचमा कुनै घटना भएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

झापाको काकडभिट्टाबाट सुरू भएको यो अभियान कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ।

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेको सो अभियानका लागि नेपाली, मैथिली, थारु, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री वितरण गरिएको छ।

तराईको पूर्व–पश्चिम राजमार्गकेन्द्रित अभियानमा ३३ स्थानमा आमसभा, र्‍याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । र्‍याली र सभामा ५० लाख तराईवासीबीच पुग्ने गरी १५ लाखसम्मको जनपरिचालन गर्ने एमालेले दाबी गर्दै आएको छ ।

कडा सुरक्षा व्यवस्था एमालेका शीर्ष नेतासहित कार्यकर्तालाई सरकारले कडा सुरक्षा दिएको छ। सभामा आएका गाडीका लस्करलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडीले स्कर्टिङ गरेको छ। अगाडि सुरक्षा निकायका गाडि, दोस्रो घेरामा अभियानको गाडी, त्यसपछि शीर्ष नेताको गाडी, त्यसपछि स्वयम्‌सेवकको गाडी त्यसपछि मोटरसाइकल अनि साना गाडीहरू र अन्त्यमा कार्यकर्ता बोक्ने बसहरू हिँडेका छन्। पछाडिबाट सशस्त्र प्रहरीले स्कर्टिङ गरेको छ।

Leave a comment

Your email address will not be published.


*