18 October 2017|   बुधबार, कार्तिक १, २०७४

पूर्वराजा ज्ञानेन्द्रले वाचा पूरा गरेनन, प्रचन्डले बिबिसीलाइ प्रयोग गर्न खोजे

बिबिसीबाट राजीनामा दिएका रवीन्द्र मिश्रको अन्तर्वार्ता

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३     9:37:04 AM  | 191 पटक पढिएको   |  

काठमाडौं : बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले राजनीतिमा होमिनका लागि भन्दै बिबिसीबाट राजीनामा दिएका छन्।

स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैं अस्थिर र अविकसित देशको भविष्य बनाएरै छोड्ने र समृद्ध नेपालका सूचकहरू कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट उनले राखेका छन्। छिटै कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमा तल्लो निकायदेखि सबैको सहभागितासहितको संगठन निर्माण गर्ने उनले बताएका छन्।

राजीनामा दिइसकेपछि बिबिसी नेपाली सेवाका फणीन्द्र दाहालले उनीसँग मंगलबार दिउँसो अन्तरवार्ता लिएका थिए। फेसबुक मार्फत लाइभ गरिएको वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ। (प्रस्तुत प्रश्नहरु अन्तरवार्ताकार र लाइभ हेरिरहेका दर्शक/स्रोताबाट लिइएकालाई पनि समेटिएको छ)

बिबिसी नेपाली सेवाको अन्तिम दिन आज, कस्तो महसुस गर्नुभएको छ?
मैले १० वर्ष सम्पादक भएर काम गरेँ। बिबिसीमै २२ वर्ष काम गरेँ। मलाई यो कार्यालय मन्दिर जस्तै अनुभव भयो। बिसन्चो भएको अवस्थामा अफिस आउँदा निको फर्किएको उदाहरण पनि छन्।

मैले रुचाएको पेसा र नेपालको परिप्रेक्ष्यमा राम्रो सरसुविधा त्यागेर निलो पानीको डुंगाबाट फोहोर भनिएको पानीको पोखरीमा हामफाल्न गइरहेको छु। अलिकति मनमा भयचाहिँ छ।

पहिले बिबिसी लण्डनमा रहँदाको अनुभव कस्तो रह्यो?
म पाकिस्तानमा पत्रकारितामा स्नातकोत्तर गरिरहेको थिएँ। साथीहरु पढाइ सकेर अमेरिका जाऊ भन्थे। मलाई भने बेलायत जान मन थियो।

पछि पाकिस्तानको निर्वाचनबारे मैले बिबिसीमा रिपोर्टिङ गरेँ। लण्डन अफिसबाट जाँच लिन्छौं त्यसपछि काम गर्न आउने हो? भनियो। म साह्रै उत्साहित भएको थिएँ त्यस बेला। यसरी मेरो बिबिसीमा प्रवेश भयो।

२२ वर्ष बिबिसीमा काम गर्दाको अनुभूति?
२२ वर्ष काम गर्दा कहिले बोरिङ लागेन। कहिले दिक्क लागेन। सिर्जनात्मक रहिरहेँ। केही कमजोरी भए होला। समग्रमा भन्दा म यति खुसीका साथ यहाँबाट बिदा लिँदैछु, शब्दमा व्यक्त गर्न सक्दिनँ।

अंग्रेजी सेवामा गइसेकपछि धेरै नेपालीमा फर्कन चाहँदैनन् तर म नेपाली सेवामा फर्किएँ।

२००६ मा नेपाली सेवाको सम्पादक बनेँ। नेपालमै कार्यालय स्थापना पनि भयो। जति बेला बिबिसी लण्डनबाट बोलिरहेका छौं भनिन्थ्यो। नेपालमा राम्रा पत्रकार उत्पादन भइरहेका थिए। काठमाडौंको गल्लीको कथा लण्डनबाट मात्र किन भन्ने भन्ने लाग्यो। नेपालको पत्रकारिता नेपालबाटै गरौं भन्ने तर्क गरेँ। अनि त नेपालमा कार्यालय रह्यो। हामी कर्मचारी धेरै भयौं। स्रोता बिस्तारै बढे।

बिबिसीमा काम गर्दा नेपालमा द्वन्द्व भयो, दरबार हत्याकाण्ड भयो। लण्डनमा रहँदा कस्तो लाग्थ्यो?
पहिले केदारमान सिंह सम्वाददाता हुनुनुह्थ्यो। हातले लेखेर फ्याक्स गर्नुहुन्थ्यो। पछि सुशील शर्मा आउनुभयो। लण्डनमा बस्दा टिम सानो थियो। जे सक्थ्थौं त्यही गर्‍यौँ। तर पनि लोकप्रिय थियो। पछि बिबिसीको शक्ति बढ्दै गयो। प्रतिस्पर्धी बजारमा हाम्रो तरंग निकै रह्यो।

बेलुका आधा घन्टा र बिहान १५ मिनेट काम गर्छौं तर स्रोत ६० लाख पुगिसकेका छन्।

बिबिसीमा नेतृत्वको संयोजनबारे काठमाडौं अनुभव?
यहाँ धुलो, धुवाँ, राजनीति, भ्रष्टाचार, सदाचार छ। लण्डन बसेर भन्दा यहाँ बस्दा ती अनुभूति गजबले अनुभव गर्न पाइयो।

भूकम्पको विपत्तिका बेला सम्पादकीय नेतृवको चुनौती?
हामीले कुनै पनि हालतमा बेलुका आधा घन्टा कार्यक्रम दिनुपर्थ्यो। तर मनको डरलाई मनकै लुकाउनुपर्थ्यो। सबैले डरलाई मनभित्रै थिच्यौं।

बिबिसी जस्ता ठूला संस्थाहरु हेल्थ र सेक्युरिटीमा बढी ध्यान दिन्छन्। तर हामीले लण्डनको अफिसमा भन्यौं- तपाईंहरुले दिएको आदेशको अवज्ञा गर्दै छौं। अनि स्टेशनमा गएर कार्यक्रम चलायौं।

तपाईंले कसैको दबाबमा कार्यक्रम चलाउनुपर्‍यो कि परेन?
म गर्वका साथ भन्न सक्छु मैले २२ वर्ष बस्दा कुनै पनि दबाब आएन। कोही मान्छेले गरिदिएन भनेर रिसाएका होलान्। तर मनमा गढ्नेगरी त्यस्तो भए जस्तो लाग्दैन।

काम गर्दा रमाइलो र नरमाइलो भएको कुनै क्षण?
निराश हुँदै नहुनुस्। तपाईं काम गर्नुस् वा नगर्नुस् १२ घन्टा उज्यालो र १२ घन्टा अँध्यारै हुन्छ।

तपाईंले लिएका अन्तरवार्ताबारे रोचक प्रसंग छन्?
रोचक अनुभव त धेरै छन्। पहिले व्यक्तिको चरित्र बुझेर अन्तरवार्ता गर्नुपर्छ। कसैलाई सुरुमै कडा प्रश्न गर्‍यो भने बिच्किन्छन्।

एक पटक पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सोध्दै गएँ। कडा सोध्न थालेपछि उहाँले ‘भयो भयो पुग्यो  पुग्यो पुग्यो’ भन्न थाल्नुभयो। र, फोन नै राखिदिनुभयो।

डा. तुलसी गिरीसँगको अन्तर्वार्ता पनि मेरो मनमा छ। त्यो ज्ञानेन्द्रको शासनकालको कुरा थियो। उनी जस्तो अन्तरवार्ता दिन जान्ने राजनीतिज्ञ अर्को भेटेको छैन। अन्तरवार्ताकारलाई नै आच्छुआच्छु पार्ने क्षमता छ उनमा।

अर्को, हेटौंडामा मानव सेवा आश्रम छ। त्यहाँ रामजी अधिकारी हुनुहुन्छ। उहाँको कामबारे पनि अन्तर्वार्ता गरेँ। त्यसबेला ४५ जना बेसहारा पालेर बस्नुभाको थियो। अन्य व्यक्ति पनि छन् यस्ता समाजसेवामा लागेका।

भाटभटेनीका व्यवसायी मीनबहादुर गुरुङसँग अन्तरवार्ता गर्दा उहाँ त सुरुमै रुन थाल्नुभयो। भावनाको प्रबल अभिव्यक्ति थियो त्यो। मलाई कहिले पनि त्यस्तो आइलागेको थिएन। उहाँ रुँदै गर्दा मैले स्रोतालाई बताउँदै गएँ ताकि स्रोतालाई जानकारी होओस्।

भूमिगत हुँदा प्रचण्डको पहिलो अन्तरवार्ता लिनुभयो नि कसरी सम्भव भयो?
माओवादीबाट हामीलाई इमेल आइरहन्थ्यो। उहाँहरु बिबिसीलाई प्रयोग गर्न चाहनुहुन्थ्यो (हाँसो)।

भूमिगतकालमा पहिलो अन्तरवार्ता चाहिँ दीनानाथ शर्माको गरियो। पछि मैले नै प्रचण्डको गर्नका लागि अनुरोध गरेँ। उताबाट समय मिलेपछि गर्न पाएँ।

पूर्वराजा ज्ञानेन्द्रको अन्तरवार्ता लिने प्रयास गर्नुभयो कि भएन?
राजा हुँदा नै दुई पटक भेटैँ। उनले अन्तरवार्ता दिन्छु भनेकै हुन्। तर वाचा पूरा गरेनन्।

राजनीतिमा लागेर पत्रकारिताले राम्रो मान्छे गुमायो नि। राजनीति र पत्रकारिता सँगै गरे हुन्न?
राजनीतिले पनि राम्रो मान्छे पाउँछ होला नि त (हाँसो)। पत्रकारिता र राजनीति सँगसँगै हुन सक्दैन। राजनीतिको झोलालाई न्युज रुपमा कहिल्यै छिराउनुहुन्न।

समाजसेवा र पत्रकारितालाई कसरी सँगसँगै अगाडि बढाउनुभयो?
पत्रकारिता आफैंमा समाजसेवा नै हो। त्यसैले परोपकारी पत्रकारिता भन्न थालेँ। हामीले गर्ने पत्रकारितामा परोपकारी धर्म निभाएका छौं जस्तो लाग्दैन। विभिन्न बिटको पत्रकारिता हुने तर परोपकारी पत्रकारिता किन नहुने? प्रेरणाको कुरा गरे पो सकारात्मक तरंग फैलन्छ त।

परोपकारलाई कसैले पैसासँग जोड्छन् तर मानवीय संवेदना जोड्न तरिका पनि हो यो।

तपाईंले प्रधानमन्त्री हुन राजनीति थाल्नु भा’हो?
यो देशको राजनीतिको चरित्र र विकास परिवर्तन गर्ने भनेरै राजनीति गर्छु भनेको हो। जुन इमान उत्कृष्टतालाई आत्मसाथ गर्नुपर्थ्यो यो देशका नेताले गरेनन्। त्यो भावना बोकेको देशमा दसौं लाख छन्। उहाँहरुले सहयोग गर्नुहुनेछ, आशा छ।

समाजसेवाको रुपमा जम्मा गरेको करौडौं रकम कहाँ छ? समाजसेवको नाममा इमोसनल ब्ल्याकमेलिङ गर्न पाइन्छ?
समाजसेवा रकम जम्मा गरेर नै गर्ने हो। सहयोग जुटाएर नै हो। हामीले व्यक्तिगत पनि सहयोग गरेका छौं। मेरो किताबको रोयल्टी तथा आम्दानीको निश्चित प्रतिशत म परोपकारकै लागि लगाउँछु। हामीले ४० पुस्ताकालय, बालआश्रम बाढीपीडित भूकम्पपीडितलाई सहयोग गरेका छौं। स्कुललाई सहयोग गरिरहेका छौं। कसैले हेर्न चाहनुहुन्छ भने हेल्प नेपाल नेटवर्कको रिपोर्ट हेर्न सक्नुहुन्छ।

राजनीति बुढो भएपछि मात्र गर्ने हो? टाइमपास मात्र हो?
म ५१ वर्षको भएँ। ५१ वर्षको मान्छे बूढो होइन।

नेपालका धेरै पत्रकार पार्टीमै आबद्ध छन् नि?
नेपालीको मनोविज्ञानलाई राजनीतिले अपहरण गरेको छ। जहाँसुकै राजनीतिको छिर्का देख्न सकिन्छ। सरकारी कार्यलयमा युनियनका सातसात बोर्ड देख्न सकिन्छ। त्यो संस्थाले सकारात्मक काम गर्न सक्छ र? राजनीतिलाई शुद्धीकरण गर्नुपर्छ। प्रयास गर्नुपर्छ।

राजनीतिमा लाग्ने सोच कसरी आयो?
राजनीतिको बारेमा एक्सपोजर भएको, इमान भएको, विवेक भएको मान्छे राजनीतिमा आउनुपर्छ भन्दै आएको छु। मैले सकेँ भने मेरो छोरालाई राजनीतिज्ञ बनाउँछु भनेको थिएँ पहिले नै। वकिल, डक्टर वा राम्रा पेसामा छोराछोरी लगाउने तर राजनीतिमा लगाउनै नचाहने अभिभावकको इच्छा हुँदो रहेछ।

आफूले लेख्दै आएँ तर गरिनँ। आफूले नगरी चित्तै बुझेन र अहिले यस्तो निर्णय लिएँ। आमाबुबासँग आशीर्वाद लिँदा उहाँहरुले देशै बनाउँछु भनेका छौ भने राम्रो काम गर्नु भनेर आशीर्वाद दिनुभयो।

लामो समयदेखि भित्रभित्रै उम्लेको पानी छचलक्किएर पोखिएको हो यो बेला। अहिलेको समयमा पनि गरिएन भने कहिले गर्ने भन्ने भयो। विविध परिस्थिति अनुकूल नहुँदा पनि हामी साथीहरुले निर्णय गरेका हौं।

परोपकारी समेटिएको अर्को पुस्तक कहिले आऊला?
अब त भ्याइँदैन। अब यो (पार्टी) त सबैले मिलेर बनाउनुपर्नेछ। हालसाल किताब लेख्न भ्याइँदैन।

अन्त्यमा?
मलाई भन्न त धेरै मन छ। देशमा हामीले लामो ७० वर्षसम्म जे देख्यौं भोग्यौं। यति धेरै स्रोतसाधन सम्पन्न देश अरु छैनन्। तर ती देश धेरै अघि बढिसके। उनीहरुले युवा छोराछोरीलाई विदेशमा विक्री गर्नुपर्दैन।

राजनीतिमा जानका लागि मैले बिबिसी छोडेँ। हाम्रो आत्मा चाह्यो भने पूर्ण प्रतिबद्धताका साथ हाम्रै जीवनकालमा गर्न सकिन्छ। देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने लक्ष्यका साथ मैले यो निर्णय लिएको हुँ।

(हेर्नुहोस् भिडियो)

साभारः पहिलो पोस्ट

 

Leave a comment

Your email address will not be published.


*