24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

आठ वर्षमा स्ववियु चुनाव आयो, विद्यार्थीमा उत्साह आएन !

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, फाल्गुन १८, २०७३     10:38:06 AM  | 146 पटक पढिएको   |  

काठमाडौं: ८ वर्षपछि पहिलोचोटि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा राजधानी र बाहिरी जिल्लामा समेत कुनै उत्साह देखिएको छैन ।

प्रमुख क्याम्पसहरुमा तालाबन्दी भएका कारण चुनाव खल्लो भएको हो । राजधानीमा प्रमुख क्याम्पसहरु कीर्तिपुर, शंकरदेव, आरआर, त्रिचन्द्र, पीके, मीनभवन, नेपाल ल क्याम्पस लगायत चर्चित कलेजहरुमा कतै पनि चुनाव छैन ।

पुल्चोक, थापाथली, सानोठिमी, कोटेश्वर लगायतका क्याम्पसमा मात्रै मतदान भइरहेको छ ।

विराटनगरका तीन क्याम्पसमा तालाबन्दी

बिराटनगरबाट अनलाइनखबरकर्मी धु्रव भट्टराईले दिएको जानकारी अनुसार तीन क्याम्पसमा तालाबन्दी छ ।

बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मधेसी मोर्चा आवद्ध विद्यार्थी संगठनले तालाबन्दी गरेको छ । त्यस्तै बिराटनगरकै डिग्री क्याम्पस र कोशी नर्सिङ क्याम्पसमा पनि मधेसी मोर्चा आवद्ध विद्यार्थीले नै तालाबन्दी गरेका छन् ।

उर्लाबारी क्याम्पसमा संघीय समाजवादी फोरम आवद्ध विद्यार्थी संगठनले लगाएको ताला खुलेको छ र मतदान सुरु भएको छ । त्यसैगरी कोशी हरैंचा नगरपालिकामा अवस्थित सुकुना क्याम्पसमा पनि स्ववियु चुनाव हुने भएको छ । विप्लव माओवादी निकट विद्यार्थी संगठनले लगाएको ताला खोल्ने सहमति भएको छ र मतदान सुरु भएको छ ।

सदरमुकाम बाहिरका पथरी बहुमुखी क्याम्पस र लेटाङ क्याम्पसमा पनि मतदान सुरु भएको छ ।

बुटवलबाट अनलाइनखबरकर्मी कपिल ज्ञवालीले दिएको जानकारी अनुसार जिल्लामा चुनावी सरगर्मी बढ्नुको साटो क्याम्पसहरु सुनसान देखिएका छन् । धेरै क्याम्पसहरुमा स्थानीय बिदा दिइएको छ ।

पश्चिमाञ्चलको दोस्रो ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । लुम्बिनी वाणिज्य क्याम्पस र सिद्धार्थ गौतम बुद्ध क्याम्पस,राममणि क्यानम्पस,पक्लिहवा कृषि क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुको असन्तुष्टिका कारण चुनाव बिथोलिएको छ ।

विर्बाचनको मुखैमा मंगलबार बेलुका राममणि क्याम्पसमा एमाले अखिलले तालाबन्दी गरेपछि सो क्याम्पसमा पनि निर्वाचन बिथोलिएको छ ।

अहिले रुपन्देहीको मणिग्राममा रहेको सरस्वती संस्कृत विद्यापीठमा मात्र स्ववियु निर्वाचन भैरहेको छ । सो विद्यापीठमा ६९ जना मात्रै मतदाता रहेको चूडामणि डुम्रेले बताए ।

सो विद्यापीठमा विष्णु पौडेलको नेतृत्वमा नेवि संघ र भुवन अर्यालको नेतृत्वमा अखिलको छुट्टाछुट्टै प्यानल निर्वाचनमा होमिएका छन् ।

त्यसैगरी रुपन्देहीको फर्साटिकरमा रहेको यज्ञोदय बहुमुखी क्याम्पसमा पनि निर्वाचन भइरहेको छ ।

पीएन क्याम्पसमै भएन चुनाव

पोखरास्थित अनलाइनखबरकर्मी सन्देश श्रेष्ठका अनुसार ५ वटा क्याम्पसमा चुनाव हुँदैछ । तर, सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण (पीएन) क्याम्पस भने तालाबन्दीका कारण चुनाव रोकिएको छ ।

पोखराको वनविज्ञान अध्ययन संस्थान, विन्दवासिनी संस्कृत विद्यापीठ, पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, जनपि्रय क्याम्पस र नर्सिङ क्याम्पसमा निर्वाचन हुँदैछ ।

साभारः अनलाइन खबर

Leave a comment

Your email address will not be published.


*