20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

‘हाम्रो जस्तो नियति कसैले भोग्न नपरोस’

माओवादी ‘जनयुद्ध’ दिवश

        आर कार्की   |   प्रकाशित मितिः सोमवार, फाल्गुन २, २०७३     6:56:32 AM  | 252 पटक पढिएको   |  

जाजरकोट: बुढेसकालको सहारा बन्ला भनेको छोरो माओवादी द्धन्दको क्रममा मारिएपछि भेरीमालिका नगरपालिका २ रिसाङ्गका धुलेश्वर कार्की अहिले साहारा विहिन भएका छन् । देश र जनताको मुक्तिका लागी तत्कालिन विद्रोही माओवादीले २१ बर्ष अघि थालेको ‘जनयुद्ध’ मा लागेकै कारण २४ बर्षे लक्का जवान मानबहादुर कार्की २०५७ सालमा सुरक्षाकर्मीको शिकार बने ।

छोराको हत्या गरिएको र चार बहिनी छोरीहरुको विवाह भएर सवै आ आफ्नो घरमा गएपछि बृद्ध कार्की दम्पती घरमा एक्लै साहारा विहिन छन् । छोराको पिरले तड्डिरहेका कार्की भन्छन् ‘आफ्नो छोरा जस्तै १७ हजार नेपालीले युद्धको नाममा अकालमा ज्यान गुमाउनु पर्यो । हजारौको रगतको खोलो बगाएर ब्यवस्था त परिवर्तन भयो तर नागरिकको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन ।’ माओवादीले जनयुद्धताका बाँड्ने गरेका आश्वासन र सपना खोक्रा सावित हुदै गएकोमा दुःख लागेको कार्कीले बताए । ‘नेताहरुले आफ्नो स्वार्थ पुर्तिका लागी सोझासाझा जनतालाई मर्न र मार्न लगाएको आरोप लगाए । ‘नेपाली जनतालाई सुशासन , विकास , शान्ति र स्थिरता चाहिएको छ,’ उनले भने ‘नेपाली नेपाली विच काटमार कहिल्यै नहोस । मेरो जस्तो नियति कसैले भोग्न नपरोस ।’

२०५२ साल फागुन १ गते नेपाल कम्नियुष्ट पार्टी माओवादीले शशस्त्र युद्धको घोषणा गरि जनयुद्ध थालेको २१ बर्ष पुग्यो । जनयुद्ध छोडेर शान्ति प्रक्रियामा आएकै १० बर्ष विति सक्यो तर सुन्दर सपना सजाएर द्धन्दमा होमिएका हजारौ द्धन्दपिडितको पिडा अहिले पनि कायमै छ । जाजरकोट, रुकुम, रोल्पा, कालिकोट लगायतका मध्यपश्चिम पहाडलाई आधारभुमि बनाएर माआवादीले संचालन गरेको ‘जनयुद्ध’ पछिल्लो पुस्ताका लागी एकादेशको दन्ते कथा जस्तै लाग्न थालेको छ । तर अघिल्लो पुस्ता जसले शसस्त्र द्धन्द भोगे ,ब्यहोरे ति मानिसहरु फेरी यस्ता दिन कहिल्यै नदोरिउन भनेर कामना गर्छन ।

माओवादी द्धन्दको क्रममा सुरक्षाकर्मी द्धारा बेपत्ता पारिएका भेरीमालिका नगरपालिका १ पिपेका भद्रवीर रानाकी श्रीमति बली राना अहिले पनि श्रीमान फर्केर आउँछन् कि भन्ने झिनो आशा पालेर बाँचिरहेकी छन् । ‘माओवादी आउँथे घरमा पकाएको खान खान्थे कार्यक्रममा बोलाएर लान्थे त्यही गरेको निहुँमा सुरक्षाकर्मीले श्रीमानलाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको पनि करीब १५ बर्ष विति सक्यो ’बलीले भनिन ‘जीवन साथी गुमाउनु पर्दा आँसु पिएर जिएकी छु । फेरी पनि मेरो जस्तो पिडा कसैले भोग्न नपरोस । युद्धको नाममा हामी जस्ता सोझा नागरिकलाई तड्पाउने काम कसैले नगरुन।’

२०५६ साल जेठ २९ गते जिल्लाको लहँ प्रहरी चौकीमा आक्रमण गरी चार प्रहरीको हत्या गरेर चौकी कब्जा गरेपछि स्थानिय चार जना काँग्रेस कार्यकर्तालाई लाईन लगाएर माओवादीले काटेको प्रत्यक्ष देखेका लहँ ४ का रामबहादुर खत्रीलाई अहिले त्यो घटना सम्झदा पनि आँङ्गमा जिरिङ्ग काँडा उम्रिन्छ । ‘मलाई पनि लाईन लगाएका थिए म अन्तिम लाईनमा थिए अगाडीबाट काट्दै आए’,खत्रीले भने –‘काटिनु भन्दा भाग्छु जे परे पर्ला भनेर भागेर बाँच्न सफल भए । उनी भागेर सदरमुकाम आएर लुकेर बसे अहिले सम्म गाँउ फर्केर गएका छैनन् ।’ भन्छन् ‘फेरी यस्तो दिन कहिल्यै देख्न र भोग्न नपरोस ।’ सुराकीको आरोप लगाउँदै माओवादीले मार्ने धम्की दिएपछि खुकुरी दस्ता बनाएर काँग्रेसका ति युवाहरु प्रहरी चौकीकै शरणमा बस्दै आएका थिए ।

शसस्त्र द्धन्दको क्रममा सवैभन्दा बढी माओवादी कार्यकर्ता , सुरक्षाकर्मी र काँग्रेस कार्यकर्ताले जोखिम मोल्नु पर्यो । उनीहरु र उनीहरुका आश्रित परिवार सवैभन्दा बढी पिडित तथा प्रताडित हुनु पर्यो । द्धन्दको दोहोरो मारमा यस क्षेत्रका निकै सर्वसाधारण जनता परेको नागरिक अगुवा राजेन्द्र विक्रम शाह बताउँछन् । ‘एकातिर माओवादी कार्यकर्तालाई खान खुवाएको , कार्यक्रममा भाग लिएको , चन्दा दिएको , सुराकी लगायतका क्रियाकलापमा संलग्न भएको भन्दै सुरक्षाकर्मीको निसानामा सर्वसाधारण पर्थे भने त्यसो नगरे माओवादी निसानामा पर्ने त्रास ।

यही त्रासको विचमा १० बर्षे युद्धमा कयौका सिन्दुर पुछिए , कैयौं टुहुरा तथा घाईते भए ,कतिको घरबार उजाड भयो । यति हुँदा हुँदै पनि देशको आर्थिक ,सामाजिक अवस्थामा आमुल परिवर्तन गर्ने सुन्दर सपना बुनेर युद्धमा होमिएका युवायुवतीहरु अहिले निराश छन् ।’ नागरिक अगुवा शाहले भने–‘ अरुको अवस्था सुधार्ने भनेर युद्धमा होमिएकाहरु आफ्नै दुरावस्था भएपछि कामको खोजीमा खाडीमुलुक जान बाध्य भएका छन् । यस्तो निराशा आउनु सवै नेतृत्वको दोष हो ।’

जनयुद्ध थालनी गर्ने माओवादी शान्तिप्रक्रियामा प्रवेश गरे सँगै पटक पटक सत्तामा गएपनि कार्यकर्ता र जनयुद्धमा सहयोग गर्ने नागरिकहरुको चाहना अनुसार अगाडी बढ्न नसकेको स्थानियको गुनासो छ । ‘खोलो तर्यो लौरो विर्सेयो भने झै माओवादीले गरेको छ’ भेरीमालिका १ रावतगाँउकी माओवादी शहिद पत्नी दीपा विकले भनिन ‘हिजो मार्न र मर्न लगाउनेले शहिद , बेपत्ता र अन्य सर्वहारा बर्गको जीवन निर्वाहमा कुनै चासो दिएन यो दुःखको कुरा हो ।’

जाजरकोटमा ३ सय ७३ जनाले ज्यान गुमाएका थिए भने सयौ विस्थापित र घाइते भएका थिए । त्यस्तै सयौ महिला तथा बालबालिका विधवा र टुहुरा भएका छन् । दर्जनौ सरकारी संरचना ध्वस्त भएका थिए । सरकार माओवादी विच विस्तृत शान्ति सम्झौता भएको आठ बर्ष विति सक्दा पनि अहिले सम्म न त पिडितले न्याय , क्षतिपुर्ती र राहत पाउन सकेका छन् न त सरकारी संरचना पुर्ननिर्माण हुन सकेका छन् । अझै ५० प्रतिशत ध्वस्त संरचना बनाउन बाँकी भएको स्थानिय शान्ति समितीले जनाएको छ । स्थानिय शान्ति समितिमा आवेदन दिएका ६ हजार २ सय ३१ जनाले राहत पाउन नसकेको स्थानिय शान्ति समितिका सचिव ज्ञानेश्वर आचार्यले बताए ।

Leave a comment

Your email address will not be published.


*