20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

भारु पचासको नोट (कथा)

        दीपक घिमिरे   |   प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७३     5:28:52 PM  | 263 पटक पढिएको   |  

एकाबिहानै दारु खाने अफर आयो, जाऊ, कि नजाऊ भो । घडी हेरे बिहानको ९ बज्नै लागेको थियो । बिस्तरा यत्रतत्र थिए । अस्ती माइत हिडेकी बूढी भोलि बिहान मात्र आउँछु भन्छे । तीन दिन भयो लगातार रक्सी खान थालेको । आज पिउँदिन भनेर सोच्दै थिए, फेरि निमन्त्रणा ।

टाउको बम्म फुलेको थियो, मुख सुकेको थियो । नजिकै बोतलबाट एक लिटर पानी पिए । मोबाइलमा केशवको फोन आयो ‘ओए ! यहाँ सबै तयार भैसक्यो, छिटो आइज ।’

मैले हेल्लो भन्न नपाउँदै उसले थर्कायो । मैले बहाना गर्न खोजे, उसले भन्यो– ‘मुला साग ! आज शनिबार, मस्तले झुम्नु पर्च । भालेको ब्यबस्था पनि छ । सरासर धारपानी मन्दिरको कटेजमा आइज ।’

उसले फोन काट्यो । जाम कि नजाम, जाम कि नजाम भन्दै पाँच मिनेट घोरिए । दारु र भालेको नशाले नराम्रोसँग च्याप्दै थियो । जुरुक्क उठे, उनै पुराना कपडा लगाए अनि मुखै नधोएर निस्किए, सरासर धारापानी ।
तनाब छ मनमा । घरको तनाव, पैसाको तनाव । तनावलाई मार्ने एउटा मात्र औषधि हो, दारु । दारुसँगको मेरो मित्रता धेरै पुरानो हैन तर पनि पूरै अल्कोहलिक भइसकेको छु । समाजले किटारी भनेर चै अझै भनेको छैन ।
दारुले ह्याङ्ग भएको टाउकोमा हेलमेट लगाएर गुडिरहँदा मनमा अनेकौं सोच आए । अब बिदेसिन्छु भन्ने सोचले धेरै बेर खेलायो । धारपानी नपुग्दासम्म कहाँ जाने ? कसरी जाने ? सोच आइरह्यो । मनले पैसाबाहेक केही सोच्दिन तर त्यो अभावमा अल्कोहलिक बन्दैछु ।

बाटैमा फोन आयो, विपु सोल्टीको रहेछ । उठाए ‘हेल्लो सोल्टी ! दुई डिब्बा चुरोट ल्याउनुहोला । यता खुकुरी मात्र छ । सूर्य छैन ।’

गोजा छामे, पचासको भारु थियो । बाध्यता सबैले नबुझे पनि सोल्टीले बुझ्छन । फेरि फोन लगाए । ‘असी रुप्पे छ, त्यत्तिको ल्याइदिम ?’

सोल्टीले आइडिया दिए, बाटैमा चिनेको पसलबाट दुई डिब्बा सूर्य उधारो मागे अनि फेरि लागे धारापानी । मनमा उस्तै मिठा कल्पना, बैदेशिक रोजगार अनि पैसा फल्ने रुखका सपना ।

साथीहरु दारुमै हजारौं सक्छन् । म चै तीन महिना भयो घरभाडा दिन नसकेको । अस्ती घरबेटी आन्टी माथिल्लो तलाबाट बम्किँदै थिइन्– ‘भाडा तिर्न नसक्ने भए धर्मशालामा गएर बस्नु, मेरो कोठा आउने ३० गते छाडिदिनु ।’
मासिक दुई हजारको दरले ६ हजार बूढीको हातमा थमाइदिन पाए फेरि दुई तीन महिना ढुक्क हुन्थ्यो । तर कहाँबाट ल्याउनु ६ हजार ? गोजामा भारु पचास चै छ, अझै ।

रुसलानका बोत्तल, आधा दर्जन बियर अनि ककटेल जुसहरु टेबुलभरि छन् । भालेको अण्डा, कलेजो, सिम्टाल्नो र अरु अलिकति मासु पोलेर प्लेटमा छ । मलाई देखेर जम्मा भएका साथीहरु खुशी भए, उमाकान्तले भन्यो– ‘बरिष्ठ किटारी दाइ आइपुगे, उठेर स्वागत गरम !’ सबै हाँसे, म लजाएँ ।

उमाकान्तको निधारमा टीका थियो, अबिरको । सबैले भने– ‘उमाकान्तलाई बधाई दे ।’ मैले माओबादी पारामा कडक्क हात मिलाउँदै भने– ‘बधाई छ यार, तर के को ?’
उमाकान्तले भन्दा पैला केशवेले भन्यो– ‘कान्ते नेता भयो, केन्द्रीय सदस्य । त्यसैको पार्टी हो आज ।’
मैले गर्लम्म अंगालो हालेर भने– ‘बधाई छ यार भाइ ।’ उसले मेरो बधाई ग्रहण ग¥यो अनि सबैलाई टेबुल वरिपरि बसाल्यो अनि शुरु भयो दारु पार्टी । सबैले गिलास ठोक्काए, मुखबाट चियर्स शब्द निकालेलगत्तै पारियो रुसलान चिरिप्प । पहिलो प्यागले हिजको ह्याङ्ग उता¥यो अनि शुरु भयो मोजमस्ती अनि धुम ।

म रक्सीको नशासँगै बिर्सन्छु सारा पीडा । घरबेटीको कचकच सहन नसकेर माइत हिडेकी बूढीलाई सम्झन्छु । साथीभाइको प्रगतिमा रमाउन मनपर्छ तर आफ्नो दुर्गति सम्झन्छु । बिना फाइदाको राजनीतिमा हजारौं खर्चिने उमाकान्तलाई देख्छु अनि फेरि रक्सीकै नशामा गोजामा हात छिराउँछु अनि एउटा भारु पचास भेटिन्छ । नोटलाई ढोग्छु अनि फेरि जेबमै कोच्छु ।
हजारौंका रक्सी सकिए, दुईवटा भाले पोलिए अनि दारुपानीले लखतरान परेकाहरु लरबराउने खुट्टा उचाल्दै नाच्न तम्सिए । शुरु भयो अल्कोहलिक डान्स पार्टी । बिपु सोल्टी कम्मर मर्काउँदै उठे । गाना थियो– ‘पूर्ब पश्चिम रेल ।’
निक्कै रमाइलो थियो माहोल, तर म रक्सीकै नशामा पनि बेनशाजस्तै थिएँ । बिपु सोल्टीसँगै नाच्दै थिए तर मनले हाउ टु अर्न मोर मनि भन्दै थियो । पैसाको नशामा रक्सीको नशा फिक्का थियो । दुई घण्टाको अल्कोहलिक डान्स पार्टी पछाडि सबै थाकियौं अनि बन्द भयो ।

साहुजीले बिल ल्याए । ९ हजार ३ सय ६० को बिल । मैले दाँत किटे, ९ हजारको ठाउँमा ६ हजार मलाई दिएको भए मेरो बाँस सुरक्षित हुन्थ्यो । भन्न भएन, उमाकान्तले पर्सबाट ९ हजार निकालेर दिए, साहुजीले बाँकी डिस्काउन्ट गर्दियो । मैले फेरि गोजा छामे, भारु पचाँस छँदै थियो ।
बैदेशिक रोजगारी पछाडी प्रशस्त कमाउने सपना आँखाभरि थिए । थोत्रो स्कूटी आफ्नै गतिमा हिँड्दै थियो । बूढीले फोन गरी ‘कहाँ छौ ?’

मैले बजारमै भएको बहाना गरे, उसले पत्याइन अनि भनी– ‘पैसा भरी रक्सीमा सक, घरभाडा तिर्नुपर्दैन क्यारे । अब म आउँदिन । एक्लै बस ।’ उसको कचकच सहनै नसक्ने हुन्छ । गल्ती मेरा नहुँदा पनि गाली मैले खान्छु । उसले भए जति पैसा रक्सीमा सक्छस् भन्दा मुटु पिरो भयो अनि फेरि जेबमा हात पुग्यो, सम्पत्तिको नाममा यही एउटा भारु पचास छ तर ऊ हजारौं सक्छ जस्तो व्यवहार गर्छे ।
उसको फोन काटेँ, म झगडा गर्ने मुडमा छैन । साथीहरु बाइकमै नाच्दै छन् । हो–हल्ला गर्दै फर्कदै छौं । म हाँसेको मात्र छु । बराबर रक्सी पिउँदा पनि म फ्रेस छु । मलाई फ्रेस बनाउने एउटा मात्र पैसा हो । म पैसा कमाउन चाहन्छु ।
बिहान नौ बजे हिडेको म बिहानको भात, दिउँसोको खाजा अनि बेलुकाको खानाको रुपमा दारु घिचेर रुममा आइपुगे । खुट्टा लरबराएका थिए, जिब्रो लरबराएको थियो तर दिमाग तिखै थियो । मलाई देखेर माथिबाट घरबेटी आन्टी कराउन थालिन्– ‘तिम्रो ससुराली हैन दीपक ! खुरुक्क झोलि झाम्टा उठाएर कोठा खाली गर्देऊ ।‘ मैले नमस्कार पोजिसनमा हेरिरहे ।

आन्टी म बस्ने भुइँतलामा आइन् । मलाई थर्काउँदै भनिन्– ‘दारुले गर्दा स्वास्नीले छाडेर गई, तैपनि सुन्दैनौं है ।’
मलाई स्वास्नीले छाडेको हैन । उनलाई कस्ले कुरा सुनायो ? म ट्वाँ परेर आन्टीलाई हेरे । केही बोलिन । फेरि भनिन्– ‘दारु घिच्ने पैसा त हुँदो रैछ । घरभाडा चै नतिर्ने ? तिम्रो ससुराली हैन यो बुझ ।’
मैले कहिल्यै मेरो ससुराली हो भनेकै छैन, बूढी त्यत्तिकै फायर । फिलिङ झनक्क त मलाई पनि भएको थियो तर बोलिन ।
आन्टी कराउँदै भनिन्– ‘कि भाडा तिर, कि खाली गर ।’

मैले दुईटा औला देखाउँदै भने– ‘दुई दिनको समय दिनुस् आन्टी, भाडा टक्र्याउँछु ।’
बूढी झनै रिसाइन, भनिन्– ‘किडनी बेचेर ल्याउँछौ ? दुई दिनमा भन्न लाको तीन मैना भो ।’
म हाँसे मात्र, रक्सीले फनक्क घुमाउँदै थियो । रुमको ताला खोलेर घरभित्र छिरे । ऐनामा अनुहार हेरेँ, चाउरिँदै थिए, रक्सीले कालो हुँदै थिए । मृत्युलाई निम्त्याउने रक्सी दैनिक पिउँदा म कमजोर हुँदै थिए । पर्सी भाडा दिन्छु भनेर धाक लगाइहाले । अनि फेरि चिन्तित हुँदै जेबमा हात लगे, भारु पचासको नोटलाई बाहिर निकालेर ढोक्दै भने– ‘जय लक्ष्मी माता ! मलाई धनी बनाइदेऊ ।’

साभारः रातोपाटी

Leave a comment

Your email address will not be published.


*