18 October 2017|   बुधबार, कार्तिक १, २०७४

जाजरकोटको पश्चिम भेगमा खाद्यान्न अभाव

खडेरीले उत्पादनमा कमी

          |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     2:03:55 PM  | 136 पटक पढिएको   |  

जाजरकोटः जिल्लाको पश्चिम भेगका गाउँमा खाद्यान्न अभाव भएको छ । खडेरीले उत्पादन कमी र खाद्य संस्थान नेपालगन्जले अनुदानको चामल नपठाउँदा समस्या आएको हो ।

खाद्यको नेपालगन्ज कार्यालयलले दुई वर्षयता अनुदानको चामल घोगी डिपोमा पठाएको छैन । हिजोआज पश्चिम भेगका बासिन्दालाई खाद्यान्नको अभाव भएको छ । कोर्ताङ, पजारु, सुवानाउली, मजकोट, दह, गर्खाकोटलगायतका गाविसमा खाद्यान्न कमी भएको हो । विगतको लामो खडेरीका कारण मकै, धान, कोदोलगायत अन्नबालीको उत्पादन घट्दा खाद्य समस्या बढेको हो ।

स्थानीय बासिन्दा बजारको मोटो चामललाई प्रतिकिलो ६० रुपैयाँमा किनेर गुजारा चलाउन बाध्य छन् । दुर्गमका अधिकांश बासिन्दाले संस्थानको अनुदानको चामल लिन पाएका छैनन् । उनीहरू भोकमरीको चपेटामा परेका छन् । संस्थानको पजारुस्थित डिपोमा चामल नभएको धेरै भयो । चालु आर्थिक वर्षका लागि संस्थानको नेपालगन्ज कार्यालयले घोगी डिपोका लागि चामल ढुवानीको दररेटसमेत स्वीकृत गरेको छैन । व्यवसायीले नेपालगन्ज कार्यालयमा पेस गरेको ढुवानी दररेट तेस्रोपटक पनि अस्वीकृत भएको छ । गत साउन/भदौमै स्वीकृत गरिसक्नुपर्ने दररेट माघ सकिन लाग्दासमेत स्वीकृत नहुँदा ढुवानीमा ढिलाइ भएको शाखा प्रमुख धर्मबहादुर बस्नेतले बताए । यस डिपोका लागि गत आर्थिक वर्ष प्रतिक्विन्टल १ हजार २ सय ४० का दरले ढुवानी दर कायम भएको थियो । चालु आर्थिक वर्षमा १ हजार २ सय २१ दर राख्दा पनि स्वीकृत भएको छैन । जाजरकोटको पश्चिम भेगमा बर्सेनि खाद्यान्न अभाव हुने गर्छ । सिँचाइ सुविधा नहुँदा आकासेखेती भरमा पाखोबारीबाट उब्जेको अन्न एक महिना पनि पुग्दैन । खाद्य अभाव भएपछि स्थानीय बासिन्दा खाद्यान्नको जोहो गर्न थलह, सानाखोला, बालुवा बजार, मोर्कबजार, बाटुले बजार, बिराखोला, दैलेखको सुयाडालगायत बजारमा जान बाध्य भएको स्थानीय वीरबहादुर बस्नेतले बताए । गत असार र साउनको खडेरीले दुई/चार मुरी मकै र कोदो पनि नउब्जेको उनले बताए । सरकारले उपलब्ध गराउने भनेको अनुदानको चामल पनि नपाएको उनले गुनासो गरे ।

पश्चिम भेकका स्थानीयले डिपोमा चामल पुर्‍याउन माग गरेको शाखा प्रमुख बस्नेतले बताए । दसेरा डिपोमा १ हजार क्विन्टल चामल पुगे पनि सर्वसाधारणले किन्न नपाएको गुनासो गरेका छन् । डिपोमा कर्मचारी नहुँदा चामल नियमित बिक्री वितरणमा समस्या भएको शाखा प्रमुख बस्नेतले बताए ।

संस्थान खलंगास्थित गोदाममा २ हजार क्विन्टल, घाट डिपोमा २० क्विन्टल र चौखा डिपोमा २ सय क्विन्टल चामल मौज्दात रहेको उनले जानकारी दिए ।

साभारः कान्तिपुर दैनिक

Leave a comment

Your email address will not be published.


*