20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

आठ बर्ष सम्म हाजिर विनै जागिर !

जानकारी नदिएर बेपत्ता

        आर कार्की   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     7:52:57 AM  | 289 पटक पढिएको   |  

जाजरकोट:  निजामति सेवा ऐन अनुसार विना जानकारी लगातार ९० दिन सम्म गयल हुने कर्मचारीको स्वतः जागिर जाने भन्ने कुरा उल्लेख गरिएको छ तर आश्चार्यको कुरा जाजरकोटमा कार्यरत एक जना स्वास्थ्यकर्मी ८ बर्ष सम्म गयल हुँदा पनि जागिर काममै छ । जिल्ला अस्पतालमा छैटौ तहको स्वास्थ्य सहायकको दरबन्दीका सप्तरी घर भएका डा.धनिकलाल यादव २०६५ साल देखि हाल सम्म कुनै पनि स्वास्थ्य संस्थामा हाजिर नभएपनि उनको पद जिल्ला अस्पताल जाजरकोटमा कायमै छ ।

केही बर्ष जिल्ला अस्पताल जाजरकोटमा सेवा गरेका डा. यादव २०६१ सालमा सुर्खेतको मेहेलकुना स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा काज सरुवा भएका थिए । जिल्ला अस्पताल जाजरकोटका अनुसार काज फिर्ता भएपछि पुनः भेरी अञ्चल अस्पताल नेपालगञ्ज काज सरुवा गराएर गएका थिए । क्षेत्रका अस्पताल र विभागमा केही बर्ष काजमा बसेका डा. यादवको काज फिर्ता भएपछि २०६५ सालमा जिल्ला अस्पताल जाजरकोट फर्किएका थिए ।

तर केही समय काम गरेर कार्यालयमा कुनै जानकारी नदिई बेपत्ता भएका यादव अहिले सम्म हाजिर हुन नआएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । स्वास्थ्य सहायक डा. यादवलाई हाजिर हुन आउने बारे घर ठेगानामा पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि राष्ट्रिय पत्रिकामा सार्वजनिक सुचना समेत प्रकाशित गरिएपनि कानुनी अडचनले कारवाही हुन नसकेको जिल्ला अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेले बताए । उनका अनुसार गत बर्ष मात्र डा. यादवले हुलाक मार्फत राजिनामा पठाएका थिए । तर राजिनामा गर्दा स्वयम ब्यक्ति उपस्थित भै सनाखत गर्नु पर्ने भएकाले राजिनामाको स्वीकृत सिफारिस गर्न समस्या परेको हो ।

कुनै पनि कर्मचारी विना सुचना लगातार ९० दिन सम्म सम्पर्क विहिन भए सेवाबाट बर्खास्त गरिने निजामति सेवा ऐनमा स्पष्ट ब्यवस्था गरिएको छ । तर कुनै पनि कार्यालयमा हाजिर नभएको ८ बर्ष विति सक्दा पनि कारवाही हुन सकेको छैन । उनलाई कारवाहीको लागी स्वास्थ्य सेवा विभागले लोकसेवा सँग परामर्श मागेर कारवाहीको स्पष्ट आधार भए नोकरीबाट हटाउन सक्ने राय दिई सकेपनि पहुँच र शक्तिको आडमा उनलाई कारवाही हुन नसकेको जिल्ला स्वास्थ्यका एक कर्मचारीले बताए ।

उनलाई कारवाही नभएपनि ८ बर्ष देखी अहिले सम्म तलब भने लिएका छैनन् । “उनलाई कारवाही नहुँदा दरबन्दी होल्ड भएर बसेको छ । उनको सरुवा वा कारवाही नहुँदा अर्को स्वास्थ्यकर्मीको पदस्थापना गर्न समेत गाह्रो परेको छ । हाम्रो तर्फबाट गर्नु पर्ने सवै कारवाहीको प्रक्रिया अघि बढाईसकेका छौ” जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चाँदनी जैसवालले भनिन “उनलाई कारवाही वा सरुवा गरि उक्त पदमा अर्को स्वास्थ्यकर्मी पठाउन सम्बन्धित निकायमा माग गरेका छौ ।”

वेपत्ता डा. यादवले भने कारवाही भोग्दा सेवा सुविधा नपाई भन्दै राजिनामा स्वीकृत गराउन शक्तिकेन्द्र धाईरहेको स्रोतले जनाएको छ । लामो समय उनको पद विनाकाम होल्ड हुँदा उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।

Leave a comment

Your email address will not be published.


*