25 November 2017|   शनिबार, मंसिर ९, २०७४

अवैध काठ बरामद यसरी गरियो

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     7:03:01 AM  | 400 पटक पढिएको   |  

जाजरकोटः जिल्ला वन कार्यालय जाजरकोटले २ सय थान अवैध काठ बरामद गरेका छ । भेरीमालिका नगरपालिका–३, ठाँटीबजारमा सञ्चालित पुष्पा फर्निचर उद्योगबाट कार्यालयले मंगलबार काठ बरामद गरेको हो ।

प्रोपाइटर गोपालबहादुर नेपालीले उद्योग हाताभित्र लुकाइराखेको अवस्थामा १ सय ९८ थान सालको काठ बरामद भएको हो । वन कर्मचारीले ३/४ साईजको ३ फिटे, ४ फिटे र ६ फिटे साल काठ बरामद गरेको जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पट्टेलले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा काठ बरामद गर्न सफल भएको उनले बताए ।

प्रोपाइटर नेपालीले कानुनविपरीत सामुदायिक वन क्षेत्रबाट चोरी निकासी गरेर ल्याएको १ सय १ क्युफिट गोलियाको ७३ क्युफिट साल काठ बरामद गरेको वन अधिकृत पट्टेलले बताए । डिङ्गा सामुदायिक वन, पुरानो रिसाङ्ग सामुदायिक वन, नौलाकोट सामुदायिक वन, साउनेपानी सामुदायिक वनलगायत क्षेत्रबाट काठ तस्करी गरेको आशंकामा पुष्पा उद्योगमा छापा हानेको उनले बताए । साल काठ तस्करी गर्ने नेपाली सम्पर्कमा नआएको उनले बताए ।

पुष्पा फर्निचर उद्योग खलंगा ठाँटीबजारले लुकाइछिपाई राखेको अवैध साल काठ । तस्बिरः भीमबहादुर सिंह

सामुदायिक वनबाट काठ तस्करीमा संलग्न को को छन् भन्ने अनुसन्धान भइरहेको पट्टेलले बताए । नेपालीविरुद्ध विगोको दोब्बर जरिवनासहित १ वर्ष कैद सजाय माग, दाबीको मुद्दा जिल्ला अदालतमा दर्ता गर्न लागेको उनले बताए । वन ऐनको दफा ५० अनुसार बरामद विगो जफत, विगोको दोब्बर जरिवाना र एक वर्ष कैद सजायको व्यवस्था भएको अधिकृत पट्टेलले बताए । उद्योगबाट बरामद भएको काठको सरकारी मूल्य ८१ हजार हुने उनले बताए । जसको जरिवाना १ लाख ७२ हजार हुने कानुनी व्यवस्था भएको उनले बताए । वन फडानी, अतिक्रमण र काठ तस्करीलाई कडाइका साथ नियन्त्रण गर्न लागेको उनले बताए ।

सदरमुकाम खलंगा आसपासका सामुदायिक वन क्षेत्रमा काठ तस्करी बढेको स्थानीय भद्रबहादुर ओलीले बताए । काठ, दाउरा, घाँसलगायत वनपैदावरको लागि सामुदायिक वनका हजारौं साल रुख विनाश भएको ओलीले बताए । सामुदायिक वनका प्रतिनिधि नै काठ तस्कर तथा वन फडानीमा संलग्न रहेको उनको भनाइ छ । जिल्लामा सञ्चालित अधिकांश फर्निचर उद्योगले पनि अवैध काठ किनबेच गर्ने गरेको ओलीले बताए ।

साभारः कान्तिपुर दैनिक

Leave a comment

Your email address will not be published.


*