20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

चुनाव नगराउने षडयन्त्रमा सरकार लागेको कांग्रेसको निष्कर्ष

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, माघ १९, २०७३     9:22:15 PM  | 127 पटक पढिएको   |  

काठमाडौं: नेपाली कांग्रेसले मधेसी मोर्चालाई देखाएर सरकार नै चुनाव नगराउने षडयन्त्रमा लागेको निष्कर्ष निकालेको छ ।
कांग्रेसका शीर्ष नेताको बुधबार बेलुका संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले मधेसी मोर्चालाई देखाएर सरकारको नेतृत्व चुनाव आलटाल गर्ने षडयन्त्रमा लागेको निष्कर्ष निकालेको हो ।
कांग्रेसका एक प्रभावशाली नेताका अनुसार सरकार नै स्थानीय तहको निर्वाचन नगराउने षडयन्त्रमा लागेको छ । “स्थानीय विकास मन्त्रीको नेतृत्वमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्ने कुरा हुँदैछ,” उनले भने,“अब पुनरावलोकन हुने भनेको वर्षाअघि चुनाव नगराउनु नै हो ।”
सरकारले बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकबाट पुनरावलोकनका लागि छुट्टै संयन्त्र बनाउने तयारी गरेको छ ।  बुधबार विहान कानुन व्यवसायीहरुसँग गरेको सल्लाहबमोजिम यस्तो संयन्त्र बनाउन लागिएको स्रोतले जानकारी दियो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन कसरी गराउने भन्ने बारेमा नै छलफल भएको बताए । “निर्वाचन कसरी गराउने भन्ने कुरा भयो,” डा. कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै भने, “संशोधन प्रस्ताव संसद्मा लगिएको छ । मधेसी दलले हामी चुनावमा जान सक्दैनौं भनेका छन् । यस्तो बेलामा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भयो ।”
कांग्रेस नेता डा. रामशरण महतले बैठकमा आगामी निर्वाचन, सरकारको तयारी, कांग्रेसको आन्तरिक तयारी लगायतका विषयमा छलफल भएको बताए ।

Leave a comment

Your email address will not be published.


*