18 October 2017|   बुधबार, कार्तिक १, २०७४

एसियन कपमा छनोट हुने नेपालको सम्भावना कति?

          |   प्रकाशित मितिः सोमवार, माघ १७, २०७३     4:46:36 PM  | 226 पटक पढिएको   |  

एसियन कपमा छनोट हुने नेपालको सम्भावना कति?

काठमाडौं : सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कप छनोटको अन्तिम चरणका खेलहरु आगामी मार्च २८ बाट सुरु हुँदैछन्।

एसियाका २४ टिमले बाँकी रहेको १२ स्थानका लागि छनोटमा प्रतिस्पर्धा गर्दैछन्। साबिक विजेता अस्ट्रेलिया, आयोजक युएई लगायत १२ टिमले यसअघि नै एसियन कपमा स्थान बनाइसकेका छन्। अन्तिम चरणको छनोटमा नेपालले भने सहभागिता जनाउँदैछ र नेपाल रहेको समूह एफमा फिलिपिन्स, ताजिकिस्तान र यमन छन्।

नेपाललाई अन्तिम चरणको छनोट खेल्न केही हदसम्म भाग्यले पनि साथ दियो। एसियन कपको पहिलो चरण र २०१८ को विश्वकपको लागि सन् २०१५ को मार्चमा भएको संयुक्त छनोटमा नेपाल भारतसँग दुई लेगको खेलमा २-० ले पराजित भएको थियो। तर सोलिडारिटी कप जित्नु र छनोट भइसकेको ग्वामले नाम फिर्ता लिनुले नेपालले एकैचोटि अन्तिम चरणको छनोट खेल्ने अवसर पायो।

एसियन कपको अन्तिम चरणमा छनोट हुने नेपालको सम्भावना कति छ त?

फुटबल विश्लेषक सन्जिव मिश्र नेपालको लागि यो एउटा अवसर भएको बताउँछन्। ‘पहिलो चरणमै आउट हुँदै मौका गुमाएको नेपालको लागि यो अर्को अवसर हो,’ उनले भने, ‘सोलिडारिटी कपको च्याम्पियन बन्नु तथा ग्वामले प्रतियोगिताबाट नाम झिक्नुले नेपाललाई अन्तिम चरणको खेल्ने सौभाग्य मिलेको छ।’

नेपाल रहेको समूहका तीन वटै टिम फिफा वरीयतामा नेपालभन्दा माथि छन् र हेड टु हेडमा पनि नेपाल पछाडि छ। विश्लेषक मिश्र भने नेपालको लागि यी समूह त्यति उतकृष्ट र दमदार नभएको बताउँछन्। ‘बाँकी ती टीमसँग नेपालको हेड टु हेड राम्रो छैन, तर नेपालले पिर मान्नुपर्ने टिम यी होइनन्,’ उनले विश्लेषण गरे, ‘मोफसलमा भइरहेको गोल्डकप खेलेका कारण र पछिल्लो पटक लगातार च्याम्पियन बनेका कारण नेपालको मोरल उच्च छ र लयमा पनि छ। त्यसैले गर्दा नेपालको सम्भावना देखिन्छ।’

यदि होम म्याच नेपालमै हुने भयो भने र नेपालको राम्रो प्रदर्शन भयो भने सम्भावन उच्च हुने बताउँछन् उनी। नेपालले मार्च २८ मा फिलिपिन्ससँग अवे मैदानमा खेल्दै छनोटको सुरुवात गर्नेछ। एक समूहबाट दुई टिम छनोट हुने भएकाले पनि नेपालको सम्भावना देख्छन् मिश्र।

फिलिपिन्स, ताजिकिस्तान र यमनको लिग खासै उत्कृष्ट नरहेको मूल्यांकन गर्ने मिश्र उनीहरुको खेलाडी विदशेतिर खेल्ने भएकाले राष्ट्रिय टीम राम्रो भएको बताउँछन्। ‘त्यसैले समूह सन्तुलित छ, तर नेपालले मेहनत भने गर्नैपर्छ,’ उनले भने।

प्रतियोगिता सुरु हुनु दुई महिना मात्र बाँकी रहँदा नेपालको तयारी भने अझै सुरु भएको छैन। खेलाडीहरु गोल्डकप फुटबलमा व्यस्त छन्। विश्लेषक मिश्र यही गोल्डकपले नै नेपालका खेलाडीलाई थोरै मात्र भए पनि लयमा राखेको बताउँछन्।

‘लिग नियमित नभए पनि गोल्डकपले खेलिरहेका कारण खेलाडी लयमा छन्। यही गोल्डकपकले गर्दा तयारी सुरु गर्न ढिलाइ भएको हो,’ उनले भने, ‘मुख्य प्रशिक्षक कोजी पनि झापा गोल्डकप हेर्न गएका छन्। त्यहाँबाट पनि नयाँ खेलाडी आउन सक्छन्।’

घरेलु मैदान तीन खेल खेल्न पाउने भए पनि अहिलेसम्म नेपालको खेल्ने होम स्टेडियममको टुङ्गो लागिसकेको छैन। एन्फाले एएफसीमा एन्फा कम्प्लेक्स सातदोबाटो र एपिएफको हलचोक मैदान प्रस्ताव गरेको छ।

नेपालले मार्च २८ मा फिलिपिन्ससँग अवे म्याच खेल्दै एएफसी एसियन कप छनोटको यात्रा सुरु गर्दैछ। उक्त खेलेको लागि मैदानको टुङ्गो लागिसकेको छ। नेपाल र फिलिपिन्सबीचको खेल मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा हुनेछ।

साभारः पहिलो पोस्ट

Leave a comment

Your email address will not be published.


*